उर्लाबारी । ‘उल्टो घर’ भन्ने वित्तिकै जो कोहीलाई पत्याउनै मुस्किल पर्छ । तर, कुनै यस्ता कुराहरु पनि हुन्छन्, जुन पत्याउनै पर्ने हुन्छ । यस्तै भएको छ, मोरङको मिक्लाजुङमा । नेपालमै पहिलो पटक मिक्लाजुङ–३ मा उल्टो घर निर्माण भएको छ ।
संसारमा अनौठा दृश्यहरुमध्ये एउटा दृश्य हो, ‘उल्टो घर’ । जुन जोसुकैलाई लोभ्याउने र अनौठो छ । एक तलाको टिनको छानो भएको घरको छानो तल र भुँइतल्ला माथि फर्किएको । पूर्वी मोरङको उर्लाबारी चौकबाट १७ किलोमिटर उत्तरमा रहेको ‘उल्टो घर’ निर्माण भएपछि हेर्न जानेको संख्या अधिक छ । सो घरमा सबै उल्टै छ । भान्छा पनि माथिबाट तल फर्किएको बनाइएको छ । सोफा तथा डाइनिङ टेबल अनि धारासमेत माथिबाट तलपट्ट झुण्डिएका छन् ।
आगन्तुकका लागि खुल्ला गरिएसँगै त्यो घर हेर्नका लागि त्यहाँ धेरै मानिस पुगेका छन् । मानिसहरु घरभित्र जाँदा झनै अचम्म पर्छन् जब सबै कुरा उल्टो देख्छन् । अनि घरभित्रका सामान छोएर फुरुंग हुँदै फोटा खिचाउँछन् । मोरङको उत्तरपूर्वी भेगमा रहेको मिक्लाजुङ्ग गाउँपालिका– ३ निसेलुङमा उल्टो घर बनेको छ । उल्टो घर भित्रका हरेक सामग्रीहरु उल्टो स्थानमा रहेको छ । मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसाबले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छन् । यसैबीच, हालै सञ्चालनमा आएको निसेलुङ भ्यूटावर एण्ड फन पार्क पनि अर्को एक पर्यटकीय गन्तव्य बनेको छ । यस पार्क भित्र उल्टो घर, फाउन्टेन, भ्यूटावर, पिरतीको गाउँ, बाल उद्यानका सामग्री लगायत निर्माण गरिएको छ । यस पार्कका बारेमा बताउँदै निसेलुङ भ्यूटावर एण्ड फन पार्क प्रालिका सञ्चालक इन्द्रमणी भट्टराईले मिक्लाजुङलाई देश तथा विदेशमा पर्यटकीय रुपमा यसको प्राकृतिक सुन्दरतालाई परितित गराउन यस पार्कको सुरुवात गरेको बताउनुभयो । हालसम्म करिब १ करोड खर्च भइसकेको र निर्माण पूरा हुँदासम्म अनुमानित १ करोड ५० लाख खर्च हुने उहाँको भनँई छ । मोरङको उर्लाबारीदेखि मधुमल्ला हुँदै टाँडी पुगेपछि करिब १ किलोमीटर पूर्व लागेपछि सुन्दर निसेलुङ पुग्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय