अनुसा थापा

कुनै पनि देशका राजनीतिज्ञ, अलिक ठूला व्यक्तित्व नेपाल आउनेबित्तिकै यहाँ रमिता चल्छ । विदेशी पाहुना सवारी हुने भएपछि जनतालाई दुःख दिने काम मात्र गरिन्छ । नेपाल भ्रमणमा रहेका चिनियाँ पाहुनालाई सुरक्षा दिने भन्दै हिजो सबै सवारी आगमन रोकिएको थियो । बिहानैदेखि उग्र जाम थियो भने दिँउसो सबै सवारी साधन ठप्प । विदेशी पाहुना नेपाल आएपछि जनतालाई सास्ती दिनु चालचलनझैं भइसकेको छ । हरेक महिना विभिन्न मुलुकबाट पाहुनाहरु आँउछन्, अनि सवारी बन्द गरिरहने ? राष्ट्रपति हिँडेपनि सवारी बन्द, अरु कोही आए पनि ।

अन्य सुरक्षाका नीति नभएझैं गरी गृह मन्त्रालयले सवारी साधन ठप्प पारिन्छ । जनतालाई दुःख नदिईकन सुरक्षा व्यवस्था मिलाउन सकिन्न ? एउटा विदेशी आँउदाखेरि पुरै बाटो खाली गर्ने पनि सरकार हो ? बाटोमा एम्बुलेन्ससमेत चल्न दिइएन् । बिरामीको ज्यान दाउमा राखेर बाटो खाली गर्न लगाउने गृहमन्त्री बालकृष्ण खाँणले तत्कालै राजीनामा दिनुपर्छ । जनतालाई दुःख दिने व्यक्ति गृहमन्त्रीको पदमा बस्न मिल्छ ? नैतिकताले पनि राजीनामा दिनुपर्छ । सवारी आगमनमात्रै नभई बाटोमा पैदल हिँड्नसमेत रोक लगाइयो । विदेशी आँउदा होस् या राष्ट्रपति सवारी हुँदा सास्ती पाउने जनता नै हुन् ।

सरकारलाई जनताको अलिकति पनि मतलब छैन् भनेर यहीबाट स्पष्ट भइसकेको छ । जनताको राष्ट्रपति भएपनि जनताकै लागि केही काम गरिएन् । बरु, एम्बुलेन्स रोकेर जनता मरोस् भन्ने भावना यिनीहरुमा छ । विदेशी सहयोग गर्ने भनेर आउने तर यहाँ आएर तमासा देखाउने । यता, राष्ट्रपति विद्यादेवी भण्डारी कतै निस्किनुपर्यो भने तीन घण्टा अगाडिदेखि गाडी चल्नबाट रोक लगाइन्छ । विदेशी पाहुना र राष्ट्रपतिहरुको आनीबानी देखेर जनताको मनमा निराशा छाएको छ । यिनीहरु किन हिँडेको होलान् ? भनेर जनताको मनमा परेको छ । कसलाई कतिखेर कहाँ पुग्नुपर्ने हुन्छ तर यस्तो प्रवृत्तिले गर्दा जनता हैरान भइसकेका छन् ।

भीआइपी पाहुना भन्दै जनतालाई हैरानी दिन त पाइएन् नि । महिनैपिच्छे पाहुना आइरहन्छन् अनि जनताचाहि दुःखको भागिदार बनिरहने ? सरकारमा बस्नेहरुको आनबिानी देखेर जनताहरु वाककदिक्क भइसकेका छन् । सुरक्षाकर्मी खटाएर सवारी साधनमा बाहिर निस्किएकालाई कसले के गर्छ ? अनेकथरी नाटक देखाउने त नेपालमै मात्र होला । विदेशी नेपाल आँउदा जनता खुसी होइनन्, दुःखी भएका छन् । यता, राष्ट्रपति भण्डारीको जनताले आलोचनाबाहेक अरु केही गर्दैनन् । जनताले तिरेको करबाट तलबभत्ता खाने, अनि जनतालाई नै नगन्ने ।

यस्ता राष्ट्रपतिलाई जनताले पनि गन्दैनन् । पहिले राजा सवारी हुँदा पुरै गाडी खाली गरिन्थ्यो । तर, राजाले सडकको दाँयाबाँया जनतालाई हिड्न दिन्थ्यो । अहिले राष्ट्रपति सवारी हुँदा दुई घण्टा अघिदेखि बाटो खाली गरिन्छ । बाटोघाटोबाट जनता धपाइन्छ भने यो त राजतन्त्रभन्दा पनि उग्र भएन् र ? जनतालाई दुःख दियो भनेर राजतन्त्र हटाइयो । अब यो राष्ट्रपतितन्त्र पनि हटाउने बेला आइसकेको छ । विदेशी पाहुना र राष्ट्रपति हिँड्दा जनतालाई दुःख दिइएन् भने के बिग्रिन्छ ? झनै लोकप्रिय बन्लान् । आजसम्म राष्ट्रपति भण्डारीले मेरो कारणले कुनै जनताले दुःख त पाएका छैनन् ? भनेर सोचेकी छिन् । जनताप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेकी छिन् ?

जनताको मन जित्ने सकेमा राष्ट्रपति र विदेशी पाहुना दुवैले साथ पनि पाँउछन् । तर, यहाँ त भित्रिने पाएको छैन्, शुरुमै दुःख दिने काम हुन्छ । अघिपछि पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । गृहमन्त्री खाँणले ट्राफिक व्यवस्थापन गराउन सकेका छैनन् । ट्राफिक जामका कारणले जनताले अरु बेला पनि उत्तिकै दुःख पाइरहेका हुन्छन् । झन् विदेशी पाहुना आउने भएपछि जनताले ट्राफिक जाममै घण्टौं उभिन पर्छ । काममा हिँडेकालाई घण्टौं ट्राफिक जाममा अड्किनुपरेपछि कति तनाव हुन्छ होला ? गाडी नै रोक्नुपर्ने कारणचाहि के ? नेपालको सुरक्षा व्यवस्था त्यति फितलो छ, गाडी नै रोक्नुपर्ने ? राजाको पालादेखि चलिआएको चलन अहिलेसम्म पनि ज्युँको त्यु हो । लोकतन्त्र आइसक्यो तर जनताले सुःख पाउने दिन कहिल्यै आएन् ।

व्यवस्था परिवर्तन भयो, राजनीतिक परिवर्तन भयो, नेपालको संविधान बन्यो तर जनताको हैरानी सकिएन् । लोकतन्त्र भनेपनि गणतन्त्र भनेपनि जनतालाई आज पनि नेताहरुले गन्दैनन् । जनताको सेवक होइन् शासक बनेर सोच्छन् । जनतामाथि शासन लाद्न खोजिन्छ । राजतन्त्र हटाउन २०६२–६३ सालमा जनताले त्यत्रो आन्दोलन गरे । जनताको छोराछोरीलाई जनताले नै राष्ट्रपति बनाए । तर, राजा र राष्ट्रपतिको बानी व्यवहारमा केही भिन्नता पाइएन् । सत्ता नपाउञ्जेल मात्र रहेछ, सत्ता पाएपछि जनतालाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । बुढापाखाले भन्थे,‘बाँस अग्लो भएपछि लुङगिन्छ, लुङगिएन् भने भाँचिन्छ ।’ पदमा पुगेपछि आफ्नो जिम्मेवारीको ख्याल गरेन् आलोचना हुने, विरोध हुने र विवादित हुने त भइ नै हाल्छ ।

नेपाल भ्रमणमा जोसुकै आओस् दुःख पाउने जनता नै हुन् । विदेशी पाहुना नेपाल आउँदा त नेपाली झनै खुसी हुनुपर्ने हो । तर, उनीहरुको हर्कतले नेपालीलाई निराश पारिदिएको छ । जहिल्यै दुःख कष्टबाहेक जनताले केही पाँउदैनन् । भारतको प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आँउदाखेरि पनि बाटो खाली गरिएको थियो । नेपाल सरकारले केके न गरे भन्नका लागि बाटो खाली गराए । तर, मोदीले विभिन्न चोकमा आफू सवार गाडी रोकेर जनतासंग कुराकानी गरेका थिए । कुनै डर नै नमानी उनले नेपालीसंग हात मिलाएका थिए । जसले नेपालीको मन छोयो र मोदीको गुनगान गाउने नेपाली जनता यत्तिकै भएका थिए । जनताको लागि नेता भएको अनि जनतादेखि नै डराएर हुन्छ ?
नराम्रो काम र भ्रष्ट्राचार गरेका नेताहरु मात्रै जनतादेखि लुकेर हिँड्ने हुन् । जनताले मार्लान भन्ने डर पनि त्यस्तैलाई मात्र हुन्छ । होइन् भने नेपालीले भारतीय नेताको गुनगान गाउनुपर्ने नै थिएन् । नेपालका नेताहरु बाटोमा ओर्लिएर कहिले जनतासंग कुराकानी गर्छन् । उनीहरुको समस्या बुझ्न खोज्छन् । जनतासंग हात मिलाएको कहिल्यै देख्न पाइन्छ । नेपालका राजनीतिक दलका नेताहरु सुरक्षाकर्मीको घेराउभित्र बस्छन् ।

आफ्नो वरपर पाँच दर्जन सुरक्षाकर्मीले छेकेर हिँड्छन् । आफ्नो चारैतिरबाट सुरक्षाकर्मीले घेरेको व्यक्तिले कसरी जनताको अवस्था देख्छ ? नेताले देख्नुपर्ने जनताका समस्या त सुरक्षाकर्मीले देख्छन् । सुरक्षाकर्मीले देखेर के गर्नु, उनीहरु केही गर्न सक्दैनन् । आफ्नै कार्यकर्ताको कुरा सुन्ने अनि देशमा बेतिथि नआए के आँउछ ? नेता भनेको छ, सुरक्षाकर्मीको घेराभित्र लुकेर हिँडेको छ ।

जसले गर्दा नेता र जनताबिचको मतभेद कहिल्यै हट्न सकेन् । जनतामाथि जिम्मेवार नहुँदा नेतालाई जनताले गन्दैनन् । नेता अलिकति जिम्मेवार बनिदियो भने मुलुकको स्वरुप फेरिन्छ । तर, नेता नै सध्ये छैन् भने देश झनै ध्वस्त हुन्छ । हाम्रो देशको प्रधानमन्त्री अरु देशमा गएर पनि यही चर्तिकला देखाउने हो ? यदि यस्तो छ भने यो अत्यन्तै दुर्भाग्यको कुरा हो । अन्य देशका जनताको मनमा पनि हाम्रोजस्तै विभिन्न प्रश्न उठेको होला । एउटा व्यक्तिका लागि लाखौं जनतालाई दुःख दिइन्छ । तर, एउटा व्यक्तिले अलिकति दुःख सहिदिने हो भने लाखौं जनता खुसी हुन्छन् । आधा घण्टा ढिलो भएपनि जनताले रुचाए भने त्योभन्दा ठूलो कुरा अरु केही हुदैन् । जनताले दुःख पाएको महशुस भयो भने पद नै छोड्ने नेताहरु पनि विदेशमा छन् । आफूले गर्दा जनताले दुःख पाए भन्ने लाग्नेबित्तिकै नैतिकताका आधारमा राजीनामा दिने गरिन्छ ।

तर, नेपालमा यसको ठ्याक्कै उल्टो छ । नाममा भुपु भइसकेका छन् तर सेवासुविधा हेर्यो भने वर्तमानलाई भन्दा पनि चर्को छ । भुपु प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रधान न्यायाधीश, न्यायाधीशलगायत अन्य सडकमा निस्किए भने जनता जोगिएर हिँड्नुपर्छ । सुरक्षाकर्मीले यसरी गाडी चलाउछन् कि कसैलाई ठक्कर दियो भने पानीसमेत पिउन पाउदैनन् । नेताको अघिपछि लाग्ने सुरक्षाकर्मीले पनि जनताले तिरेकै करबाट तलब खाएका छन् । तर, जनताका लागि सुरक्षाकर्मी कतै छैनन् । गृहमन्त्री बालकृष्ण खाँणले नेताको अघिपछि चाहिनेभन्दा बढी सुरक्षाकर्मी खटाएका छन् । ५ जनाले पुग्ने ठाँउमा ५० जना खटाइएको छ ।

नेपालको सीमा भारत र चीनले मिचिरहेका छन् तर त्यहाँ सुरक्षाकर्मी छैनन् । तर, नेताको पछि भने सुरक्षाकर्मीको लर्को छ । सुरक्षाकर्मी जनताले पालेका हुन्, नेताले होइनन् । कतिपय ठूला पदका आर्मी र प्रहरीका घरमा सुरक्षाकर्मी खटाएर घरायसी काममा लगाइराखेका छन् । यो दुरुपयोग भएन र ? जनताको सुरक्षा गर्छु भनेर जागिर खाएकालाई घरायसी काममा लगाइएको छ । देशका लागि काम गर्नुपर्ने व्यक्तिका लागि खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!