मिलन के राउत/उर्लाबारी
उर्लाबारीमा एकपछि अर्को गरी सुन पसले ‘फरार’ हुन थालेका छन् । धितो बन्धकीका साथै महंगो ब्याजको लोभमा रकम लगानी गरेका ग्राहकको लाखौ रुपैयाँ अपचलन गरी सम्पर्कविहिन हुने क्रम रोकिएको छैन ।

पछिल्लो पटक उर्लाबारी-७ स्थित स्कुलडाँडा चौकमा सुन पसल गर्ने एक व्यक्ति परिवारसहित सम्पर्कविहिन बनेको खुल्न आएको छ । स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिइ न्यु गजमेर सुनचाँदी पसल संचालन गर्ने रोजन गजमेर सम्पर्कविहिन भएका हुन् ।

सर्वसाधारणहरुसँग १८ प्रतिशत ब्याज दिने भन्दै गजमेरले रकम लिने गरेका थिए । ऋण लिने र दिने कारोबार गर्दै आएकोमा पसल नै बन्द गरेर एक साता अघिदेखि गजमेर सम्पर्कविहिन बनेको घर धनी केशव सुवेदीले बताए । गजमेरको उर्लाबारी-४ मा रहेको एक तले पक्कि घर सुनसान र ताला लगाइएको अवस्थामा छ ।

गजमेरले श्रीमती र बालबच्चासँगै लिएर हिँडेको अनुमान गरिएको छ । पसलका कालिगढसँग पनि उनको सम्पर्क नरहेको बताइएको छ ।

यता उनीसँग रकम कारोबार गर्नेहरु दिनहुँ सोधिखोजी गर्दै आउने क्रम बढेको छ । सुन व्यवसायी गजमेरका सम्बन्धमा कसैले जाहेरी भने नदिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय