नेपाली कांग्रेस कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने बहस सुरु भएसँगै मोरङका नेता खड्गबहादुर फागोको नाम अग्रपङ्क्तिमा आउन थालेको छ । प्रदेश सहमहामन्त्रीको जिम्मेवारीमा रहनुभएका फागोले सभापतिमा दाबी प्रस्तुत गरेपछि उहाँको राजनीतिक यात्रा, संगठनात्मक योगदान र नेतृत्व क्षमतामाथि चर्चा चुलिएको छ । उहाँको दाबी एउटा पद प्राप्त गर्ने आकांक्षा होइन, वडा तहबाट सुरु भएको लामो राजनीतिक यात्रालाई प्रदेश नेतृत्वमा स्थापित गर्ने प्रयास पनि हो ।
फागोको राजनीतिक यात्रा २०४९ सालदेखि सुरु भएको हो । २०५४ सालमा नेपाल तरुण दलको वडा नम्बर २ को सभापति बन्नुभएका उहाँले क्षेत्रीय संयोजक, जिल्ला सदस्य र जिल्ला उपसभापतिसम्मको जिम्मेवारी सम्हाल्नुभयो । कांग्रेसको १०औँ महाधिवेशनमा वडा सहसचिव बन्नुभएका फागो ११औँ महाधिवेशनबाट क्षेत्रीय सदस्य हुँदै क्षेत्रीय कार्यसम्पादन समितिको सचिव बन्नुभयो । १२ औँ र १३ औँ महाधिवेशनबाट मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा सर्वसम्मत चयन भएर दुई कार्यकाल नेतृत्व गर्नुभयो । यो राजनीतिक यात्राले फागो पार्टी संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्मको संरचना, कार्यशैली र चुनौतीलाई नजिकबाट बुझ्ने नेता भएको देखाउँछ । उहाँले पद खोज्नुभन्दा जिम्मेवारी निर्वाह गर्दै संगठनभित्र आफ्नो पहिचान निर्माण गर्नुभएको छ । प्रदेश नेतृत्वका लागि यो अनुभव आफैँमा महत्वपूर्ण आधार हो । क्षेत्रीय सभापतिका रूपमा फागोले संगठन विस्तार, कार्यकर्ता परिचालन र निर्वाचन व्यवस्थापनमा भूमिका निर्वाह गर्नुभयो । उहाँको नेतृत्वकालमा केराबारी गाउँपालिका, लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिकामा कांग्रेसका जनप्रतिनिधि निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा वर्तमान मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई विजयी गराउन क्षेत्रीय संगठन परिचालनमा पनि उहाँको भूमिका महत्वपूर्ण रह्यो । निर्वाचनका बेला मात्र होइन, संगठनलाई निरन्तर सक्रिय राख्ने नेतृत्वको आवश्यकता हुन्छ । फागोले क्षेत्रीय नेतृत्वमा बिताएका दुई कार्यकाल यसैको अनुभव हासिल गर्ने अवसर बन्यो । उहाँको अर्को महत्वपूर्ण अनुभव स्थानीय सरकार सञ्चालन हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा उर्लाबारी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि फागोले पाँच वर्ष नगरको नेतृत्व गर्नुभयो । प्रशासनिक व्यवस्थापन, विकास निर्माण, जनप्रतिनिधिबीच समन्वय र नागरिकका अपेक्षा सम्बोधन गर्दै सरकार सञ्चालनको व्यावहारिक अनुभव हासिल गर्नुभयो । पार्टी संगठन सञ्चालन र स्थानीय सरकार सञ्चालन फरक विषय भए पनि दुवैमा निर्णय क्षमता, समन्वय र जवाफदेहिताको उत्तिकै आवश्यकता पर्छ । केन्द्रीय राजनीतिमा आएको परिवर्तनसँगै फागोको सक्रियता पनि चर्चामा छ । २०८२ पुस २७ गतेदेखि सुरु भएको कांग्रेस विशेष महाधिवेशनमा गगनकुमार थापाको पक्षमा समर्थन जुटाउने प्रक्रियामा उहाँ सक्रिय रहनुभयो । थापा पार्टी सभापति निर्वाचित भएपछि प्रदेश संगठनलाई नयाँ नेतृत्व, ऊर्जा र केन्द्रसँग प्रभावकारी समन्वय आवश्यक रहेको बहस चलिरहेको छ । विशेष महाधिवेशनमा फागोले निर्वाह गरेको भूमिकालाई पनि उहाँको प्रदेश सभापतिको दाबीसँग जोडेर हेरिएको छ । राजनीतिशास्त्रमा स्नातक र ग्रामीण विकासमा स्नातकोत्तर अध्ययन गर्नुभएका फागोसँग राजनीतिक तथा शैक्षिक दुवै पृष्ठभूमि छ । २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेको अनुभवले उहाँको राजनीतिक सक्रियता संसदीय प्रतिस्पर्धासम्म विस्तार भएको छ । वडा तहको नेतृत्वदेखि तरुण दल, क्षेत्रीय सभापति, नगरप्रमुख र प्रदेश सहमहामन्त्रीसम्मको जिम्मेवारी सम्हालिसक्नुभएका फागोका लागि प्रदेश सभापतिको दाबी स्वाभाविक राजनीतिक निरन्तरता हो । उहाँको पक्षमा देखिएको चासोको आधार पनि यही अनुभव र संगठनात्मक यात्रा हो ।
कोशी कांग्रेसलाई अहिले गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउने, कार्यकर्ताको सम्मान गर्ने र जनतासँग पार्टीको सम्बन्ध बलियो बनाउने नेतृत्व चाहिएको छ । त्यसका लागि संगठन बुझेको, निर्वाचनको अनुभव भएको र सरकार सञ्चालनको व्यावहारिक ज्ञान राख्ने नेतृत्व आवश्यक छ । यी आधारमा फागो कोशी कांग्रेसको सभापति बन्न सक्ने बलियो दाबेदारका रूपमा देखिनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय