मधुमल्ला । मोरङको मिक्लाजुङमा शिक्षा, खेलकुद, खानेपानी र सामाजिक सेवामा सक्रिय नवीन लामा पछिल्लो समय राजनीतिमा समेत चर्चामा आउनुभएको छ । आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा मिक्लाजुङ गाउँपालिका अध्यक्षका सम्भावित आकांक्षीका रूपमा उहाँको नाम चर्चामा आउन थालेको हो ।
२०३८ साल पुस २४ गते मधुमल्ला बजारमा जन्मिनुभएका लामाका बुवा मोहन लामा र आमा स्वर्गीय विष्णु कुमारी घिसिङ हुनुहुन्छ । परिवारको एक्लो छोरा रहनुभएका उहाँ श्रीमती र दुई छोरीका अभिभावक हुनुहुन्छ ।
लामा नवबुद्ध पेट्रोल पम्पका सञ्चालक हुनुहुन्छ । उहाँले २०६९ सालदेखि मिक्लाजुङवासीलाई इन्धन सेवा उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यसम्बन्धी क्षेत्रमा १३ वर्ष काम गर्नुभएको छ ।लामाले मिक्लाजुङका सामुदायिक विद्यालयमा विद्यार्थीलाई झोला वितरण तथा दिवा खाजाको व्यवस्था गर्न सहयोग गर्दै आउनुभएको छ । त्यस्तै, स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न समुदायमा खानेपानी ट्यांकी वितरण तथा युवालाई खेलकुदमा प्रोत्साहन गर्न ट्रफी, फुटबल र अन्य खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।
मिक्लाजुङका चार जना उदयमान रेफ्रीलाई खेल जर्सी प्रदान गरेर सम्मान गर्नुभएका उहाँले असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायका नागरिकलाई आवश्यक सहयोग र पहलसमेत गर्दै आउनुभएको छ । शिक्षालाई समाज परिवर्तनको आधार मान्ने लामा विद्यार्थीले सहज रूपमा अध्ययन गर्न पाउनुपर्ने र युवालाई सीप, व्यवसाय तथा उद्यमशीलतासँग जोड्नुपर्ने धारणा राख्नुहुन्छ । स्थानीयस्तरमा रोजगारी र आत्मनिर्भरताका अवसर सिर्जना गर्न सके युवाको भविष्यसँगै समाजको विकासमा पनि योगदान पुग्ने उहाँको मान्यता छ ।
नेपाली कांग्रेसको तरुण दलबाट राजनीतिक यात्रा सुरु गर्नुभएका लामा हाल पार्टीको क्षेत्रीय प्रतिनिधिका रूपमा सक्रिय हुनुहुन्छ । सामाजिक सेवासँगै राजनीतिक गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएका उहाँको नाम आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ ।
पछिल्लो समय मधुमल्ला क्षेत्रमा बढ्दो लागुऔषध दुव्र्यसनप्रति लामाले चिन्ता व्यक्त गर्दै आउनुभएको छ । युवालाई खेलकुद, सीपमूलक तालिम, रोजगारी र व्यवसायमा जोड्न सके दुव्र्यसन नियन्त्रणमा सहयोग पुग्ने उहाँको धारणा छ । व्यवसाय, स्वास्थ्य क्षेत्रको अनुभव, सामाजिक सेवा र राजनीतिक संलग्नतालाई अघि बढाइरहनुभएका लामाले शिक्षा र युवाको भविष्यलाई समाज परिवर्तनको महत्वपूर्ण आधार मान्दै आउनुभएको छ । सामाजिक गतिविधिमा उहाँको सक्रियता बढ्दै जाँदा आगामी २०८४ को निर्वाचनमा मिक्लाजुङको नेतृत्वका लागि उहाँको सम्भावित भूमिकाबारे स्थानीय राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय