उर्लाबारी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका कोशी प्रदेशकी पूर्वराज्यमन्त्री तथा सांसद शोभा चेम्जोङ पालुङ्वाले उम्मेद्वारी दिनुभएको छ ।
आदिवासी जनजाति महिला कोटाबाट उहाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । उम्मेद्वारीसँगै उहाँले महाधिवेशन प्रतिनिधिहरुसँगको भेटघाटमा सक्रिय रहनुभएको छ । पालुङ्वाले आफ्नो उम्मेदवारीबारे प्रतिनिधिहरूसँग छलफल गर्दै समर्थनका लागि आग्रह गरिरहनुभएको छ । मोरङ क्षेत्र नं. १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बन्नुभएकी पालुङ्वा अहिले काठमाडौंमा जारी महाधिवेशनको चुनावी गतिविधिमा सक्रिय देखिनुभएको छ । उर्लाबारी–५ निवासी पालुङ्वा नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । उहाँले कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारीमा समेत निर्वाह गरिसक्नुभएकी छ । प्रदेश सरकार र प्रदेशसभामा गरेको काम तथा अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको पालुङ्वाको भनाइ छ । पार्टीको केन्द्रीय निर्णय प्रक्रियामा महिला तथा आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउने विषयलाई पालुङ्वाले आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सार्नुभएको छ । उहाँले प्रदेशका विकास, पूर्वाधार र जनजीविकासँग जोडिएका विषयलाई पार्टीको केन्द्रीय तहमा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ । पालुङ्वाले महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आफूले प्रदेश तहमा निर्वाह गरेको भूमिका, संगठनमा गरेको योगदान र आगामी योजनाबारे छलफल गरिरहनुभएको छ ।























