उर्लाबारी । मोरङको उर्लाबारीमा छठ पर्वलाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था थप कडा पारिने भएको छ । पर्वका अवसरमा हुन सक्ने सम्भावित अप्रिय तथा आपराधिक घटना रोक्न सुरक्षा निकायसँग समन्वय गरी प्रहरी परिचालन बढाइने भएको हो ।
मैथिली समाज सेवा समिति उर्लाबारीको आयोजनामा छठ पर्वको सुरक्षा व्यवस्थाबारे आयोजित छलफलमा सहभागी जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूले पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा समितिका अध्यक्ष पवन चौधरीले छठ पर्व श्रद्धा, आस्था, सद्भाव र एकताको प्रतीक भएकाले सबैले आपसी मेलमिलाप र भाइचाराका साथ मनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । सम्भावित अप्रिय घटना हुन नदिन सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गरेर अघि बढ्छौँ । श्रद्धालुहरूले ढुक्कसँग पर्व मनाउने वातावरण निर्माण गर्न समितिले पनि आवश्यक भूमिका निर्वाह गर्नेछ ।’
उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकताको सन्देश दिने बताउनुभयो । उहाँले सबै जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने यस्ता पर्व शान्तिपूर्ण वातावरणमा मनाउनुपर्नेमा जोड दिनुभयो । पर्वका क्रममा सुरक्षा र व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै, उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले छठ पर्व सबै समुदायबीचको सद्भाव र एकताको पर्व भएको उल्लेख गर्दै आपसी समझदारी र सहयोगबाट मात्रै पर्वलाई व्यवस्थित बनाउन सकिने बताउनुभयो । उहाँले पर्व मनाउने क्रममा सुरक्षा सावधानी अपनाउन र कुनै समस्या देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारीका सभापति उमेशजंग थापा, नेकपा उर्लाबारीका संयोजक गजेन्द्र दंगाल, नेपाली कांग्रेस उर्लाबारीका उपसभापति राजन रायमाझी र नेकपा एमाले उर्लाबारीका उपाध्यक्ष सुरेश शाक्यलगायतले छठ पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले धार्मिक तथा सांस्कृतिक पर्वलाई सुरक्षित बनाउन राजनीतिक दल, स्थानीय सरकार, आयोजक समिति र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरीक्षक नवीन वलीले तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार छठ पर्वका अवसरमा उर्लाबारीलगायतका स्थानमा श्रद्धालुहरू रातिको समयमा समेत छठ घाटमै बस्ने परम्परा रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ । ‘रातिको समयमा छठ घाटमा श्रद्धालुहरूको बाक्लो उपस्थिति हुने भएकाले चोरी, झैझगडा तथा अन्य आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गरेका छौँ । त्यसैले छठ घाट र आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति बढाउनुका साथै आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ,’ प्रहरी निरीक्षक वलीले भन्नुभयो । उहाँले छठ घाटमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीले नियमित निगरानी गर्ने बताउँदै श्रद्धालु तथा स्थानीयवासीलाई पनि सचेत र सतर्क रहन आग्रह गर्नुभयो । शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न उहाँको अनुरोध थियो । छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आयोजक समिति, स्थानीय सरकार, राजनीतिक दल, सुरक्षा निकाय तथा सर्वसाधारणबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निष्कर्षसहित छलफल सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय