उर्लाबारी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मोरङको उर्लाबारी–२ निवासी चिरञ्जीवी थापाले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनात्मक तथा राजनीतिक गतिविधिमा सक्रिय थापाले विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो । उहाँले २०४६ सालमा नेपाल विद्यार्थी संघको स्कुल इकाइबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । अध्ययनका क्रममा जापान पुग्नुभएका थापा त्यहाँ रहेर नेपाली कांग्रेसको संगठन विस्तार तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहनुभएको थियो । उहाँ नेपाली जनसम्पर्क समिति जापानमा पटक–पटक कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो । २०६२÷६३ को जनआन्दोलनका क्रममा जापानस्थित नेपाली दूतावास घेराउ कार्यक्रममा सहभागी हुँदा आफू पक्राउसमेत परेको थापाले बताउनुभएको छ । उहाँले विदेशमा रहेर पनि लोकतान्त्रिक आन्दोलन तथा कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ । कांग्रेसको राजनीतिसँगै प्रवासी नेपाली समुदायसँग सम्बन्धित सामाजिक तथा संगठनात्मक गतिविधिमा पनि उहाँको संलग्नता रहँदै आउनुभएको छ । राजनीतिसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय थापा बैंकिङ, होटल, ऊर्जा, सौर्य ऊर्जा तथा कृषि क्षेत्रसँग आबद्ध रहनुभएको छ । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रा, प्रवासमा रहँदा हासिल गरेको संगठनात्मक अनुभव तथा सामाजिक र व्यवसायिक क्षेत्रको अनुभवलाई पार्टीको केन्द्रीय भूमिकामा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको थापाले बताउनुभएको छ । उहाँले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएसँगै चुनाबी अभियानमा सक्रिय हुनुभएको छ । सबैलाई साथ र सहयोगका लागि उहाँले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय