२० वर्षका लागि भाडामा लिइएको जग्गामा सञ्चालन भइरहेको बजार बीचमै सार्ने तयारीप्रति प्रश्न, कसको स्वार्थमा बजार स्थानान्तरण गर्न खोजिँदैछ भन्दै स्थानीयको आपत्ति
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–६ स्थित शुक्रबारे बजार अन्यत्र सार्ने चलखेल सुरु भएको भन्दै स्थानीय बासिन्दा तथा व्यवसायीहरूले विरोध जनाएका छन् । लामो समयदेखि सञ्चालन हुँदै आएको शुक्रबारे बजारलाई उर्लाबारी–४ स्थित आइतबारे क्षेत्रमा स्थानान्तरण गर्ने प्रयास भइरहेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
स्थानीय तथा व्यवसायीहरूका अनुसार शुक्रबारे बजार सञ्चालनका लागि जग्गाधनीसँग २० वर्षको सम्झौता गरिएको छ । सम्झौताको अवधि बाँकी छँदै बजार अन्यत्र सार्ने विषय उठ्नुले बजार क्षेत्रका व्यवसायी, स्थानीय बासिन्दा र सरोकारवालामा आशंका पैदा गरेको छ । उनीहरूले बजार स्थानान्तरणको विषयमा कसले, किन र कुन स्वार्थका लागि चलखेल गरिरहेको छ भन्ने प्रश्न उठाएका छन् । शुक्रबारे बजार सञ्चालनका लागि जग्गाधनी विनोद क्षेत्री काफ्ले, प्रतापसिंह काफ्ले, मोहनसिंह क्षेत्री र जंगबहादुर कार्कीले कुल १ बिघा ५ कट्ठा साढे ५ धुर जग्गा उपलब्ध गराउने सहमति गरेका थिए । उक्त जग्गा २१०१ साल असार मसान्तसम्मका लागि भाडामा दिने सम्झौता भएको उल्लेख छ ।
सम्झौताअनुसार जग्गाको वार्षिक भाडा प्रतिकट्ठा ३ हजार ७५० रुपैयाँ कायम गरिएको छ । साथै, प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने व्यवस्था पनि सम्झौतामा राखिएको छ । उक्त सम्झौतामा पहिलो पक्षका तर्फबाट उर्लाबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसीले हस्ताक्षर गर्नुभएको छ । दोस्रो पक्ष अर्थात् जग्गाधनीका तर्फबाट विनोद क्षेत्री काफ्ले, अजित काफ्ले, चन्दन क्षेत्री र जंगबहादुर कार्कीको हस्ताक्षर रहेको छ । रोहबरमा नगरप्रमुख गंगाप्रसाद खरेल र वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल रहनुभएको छ । दीर्घकालीन सम्झौताअनुसार सञ्चालन भइरहेको बजारलाई बीचमै अन्यत्र सार्ने विषयले सम्झौताको औचित्य र नगरपालिकाको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
स्थानीय उषा अधिकारीले शुक्रबारे बजार सार्ने विषयमा भइरहेको गतिविधिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले बजार स्थानान्तरणको प्रयास कसको स्वार्थमा भइरहेको हो भन्ने प्रश्न गर्दै यसले व्यवसायीहरूलाई त्रसित बनाएको बताउनुभयो । ‘शुक्रबारे बजार सार्ने चलखेल कसको स्वार्थमा भइरहेको छ ? यसले यहाँ व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका व्यापारीहरूलाई त्रसित बनाएको छ,’ अधिकारीले भन्नुभयो, ‘कसैको व्यक्तिगत स्वार्थ पूरा गर्न बजार सार्ने काम हुनुहुँदैन । यस्तो प्रयास भए त्यसका विरुद्धमा सशक्त कदम चाल्न हामी तयार छौँ ।’ उहाँका अनुसार बजार भनेको केवल किनबेच गर्ने ठाउँ मात्र होइन, वर्षौंदेखि स्थानीयको आर्थिक तथा सामाजिक जीवनसँग जोडिएको साझा सम्पत्ति पनि हो । बजारको स्थान परिवर्तन गर्दा त्यससँग आश्रित साना व्यवसायी, उपभोक्ता, कृषक तथा स्थानीय बासिन्दामा पर्ने प्रभावलाई बेवास्ता गर्न नहुने उहाँको भनाइ छ । त्यस्तै, व्यापारी सन्तोष पोद्दारले पनि शुक्रबारे बजार अन्यत्र सार्ने प्रयास उचित नभएको बताउनुभयो । उहाँले बजारको पहिचान र स्थापित संरचनालाई जोगाउँदै साविककै स्थानबाट सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘शुक्रबारे बजार सार्ने काम ठीक होइन । बजार अहिले सञ्चालन भइरहेको साविककै स्थानमा रहनुपर्छ,’ पोद्दारले भन्नुभयो, ‘यस्ता चलखेल बन्द गर्नुपर्छ । बजार सार्ने प्रयास हामीलाई मान्य हुँदैन ।’ स्थानीय तथा व्यवसायीहरूको बुझाइमा पछिल्लो समय उर्लाबारी–६ मा बसपार्क निर्माण भएपछि आसपासको जग्गाको मूल्य उल्लेख्य रूपमा बढेको छ । बसपार्क निर्माणसँगै उक्त क्षेत्रको व्यावसायिक तथा आर्थिक महत्व बढेको अवस्थामा बजारलाई अर्को स्थानमा सार्ने प्रयास हुनु संयोग मात्र नभएको उनीहरूको आशंका छ । व्यवसायीहरूले बजार स्थानान्तरणको प्रयासलाई जग्गाको बढ्दो मूल्य र सम्भावित आर्थिक स्वार्थसँग जोडेर हेरेका छन् । उनीहरूको बुझाइमा बजारको चहलपहल र आर्थिक गतिविधि रहेको स्थान खाली गराएर अन्यत्र बजार सार्दा कसैलाई लाभ पुग्न सक्ने भएकाले यस विषयमा गम्भीर छानबिन हुनुपर्छ । यसअघि उर्लाबारी–६ मा बसपार्क निर्माणका क्रममा समेत विभिन्न चलखेल भएको विषय सार्वजनिक भएको व्यवसायीहरूको दाबी छ । त्यतिबेला उठेका प्रश्नहरूको पर्याप्त निरूपण नभएको भन्दै उनीहरूले अहिले बजार स्थानान्तरणको विषयमा पनि त्यस्तै अवस्था दोहोरिन सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूको आरोप छ, सार्वजनिक सरोकारका विषयमा प्रश्न उठे पनि सम्बन्धित निकायले स्पष्ट जवाफ नदिँदा अनियमितताको आशंका झन् बढ्ने गरेको छ ।
शुक्रबारे बजार उर्लाबारी–६ को पुरानो र स्थापित व्यापारिक केन्द्रमध्ये एक हो । यस बजारमा स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजदेखि दैनिक उपभोग्य सामग्रीसम्मको कारोबार हुँदै आएको छ । बजारले उर्लाबारी–६ मात्र नभई आसपासका क्षेत्रका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । बजारमा नियमित रूपमा व्यापार गर्ने साना व्यवसायी, ठेला तथा खुद्रा व्यापारी र कृषि उपज बिक्री गर्ने किसानको जीविकोपार्जनसमेत यससँग जोडिएको छ । बजारको स्थान परिवर्तन सामान्य प्रशासनिक निर्णय मात्र नभई यसले स्थानीय अर्थतन्त्र, व्यवसायीको लगानी, उपभोक्ताको पहुँच र बजारको ऐतिहासिक पहिचानमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो । वर्षौंदेखि एउटै स्थानमा व्यापार गर्दै आएका व्यवसायीले नयाँ ठाउँमा पुगेर पुनः ग्राहक स्थापित गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, बजारमा आउने उपभोक्ता र किसानको नियमित कारोबारमा समेत असर पर्न सक्छ । त्यसैले बजार स्थानान्तरणको विषयमा कुनै निर्णय गर्नुअघि स्थानीय बासिन्दा, व्यवसायी, जग्गाधनी र अन्य सरोकारवालासँग खुला छलफल गर्नुपर्ने माग उठेको छ । दीर्घकालीन सम्झौताको अवस्था, सम्झौताका सर्त, बजार स्थानान्तरणको आवश्यकता र त्यसबाट हुने लाभ–हानिको सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने उनीहरूको माग छ । सार्वजनिक सम्पत्तिसरह महत्व राख्ने बजारको भविष्य केही व्यक्ति वा समूहको स्वार्थमा निर्धारण हुन नहुने स्थानीयको अडान छ । अब मुख्य प्रश्न उर्लाबारी नगरपालिकाको भूमिकामाथि केन्द्रित भएको छ । २० वर्षका लागि सम्झौता गरिएको जग्गामा सञ्चालित बजारलाई बीचमै सार्नुपर्ने आवश्यकता किन प¥यो ? त्यसको निर्णय कसले गर्दैछ ? बजार स्थानान्तरणबाट कसलाई लाभ पुग्छ ? र सम्झौतामा उल्लेख भएका सर्तहरूको अवस्था के छ ? यी प्रश्नको जवाफ नगरपालिकाले सार्वजनिक गर्नुपर्ने देखिन्छ । बजारको भविष्य निर्धारण गर्दा व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हित, कानुनी प्रक्रिया र स्थानीयको आवाजलाई प्राथमिकता दिनुपर्ने माग अहिले बलियो बन्दै गएको छ ।























