काठमाडौं, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक धार आफूहरु रहेको दाबी गर्दै मंगलबार निर्वाचन आयोग जाने भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको हुँदा पार्टीको नाम, झण्डा र सूर्य चुनाव चिन्हको आधिकारिकता दाबी गर्दै आयोगमा जाने तयारी भएको एक नेताले बताए।

सोमबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दाबी गर्ने निर्णय गरेको छ। सोहीअनुसार त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेताहरु मंगलबार निर्वाचन आयोग जाने भएका हुन्।

‘नेकपा विभाजन भएको भन्दै भोली करिब दुईतिहाइ सदस्यहरुको निर्णयसहित आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा जाँदैछौं’, नेकपाका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले नेपालखबरसँग भने, ‘आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकले समेत यो विषयमा औपचारिक निर्णय गरिसकेको हुँदा हामी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न आयोग जाँदैछौं।’

पाण्डेले सोमबार आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कमिटीको बैठक पनि सोहि प्रयोजनका लागि भएको बताए।

प्रचण्ड–नेपाल समूहले पार्टी विवादसम्बन्धी आयोगसँग आवश्यक कामकारबाही गर्न लिलामणि पोख्रेल, राजेन्द्र पाण्डे, चण्डेश्वर श्रेष्ठ र मुक्ति प्रधानलाई जिम्मेवारी दिएको छ। यसअघि पनि उनीहरूले नै आयोगका पदाधिकारीहरूसँग छलफल गरेका थिए।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार कुनै दलमा विभाजन भएर त्यसको दाबी भएमा आयोगले सम्बन्धित पक्षहरुसँग पत्राचार गर्छ।

आवश्यक कागजातहरु माग गरी पहिले दुवैपक्षबीच सहमतिको प्रयास गर्छ। सहमति नभएमा ४४ को उपदफा ६ अनुुसार जुन पक्षसँग बहुमत सदस्य छन्, सोही पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्ने व्यवस्था छ।

यसअघि प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन नभई कारबाही गरेर केपी ओलीलाई हटाएको दाबी गरेका थिए।

यसपटक भने प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन भएको र बहुमतभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दाबी आयोगमा पेस गर्न लागेका हुन्।

पहिले प्रचण्ड–नेपाल र ओली दुवै समूहले सोही ऐनको दफा ५१ अनुसार पार्टी विवाद भएपछि आफ्नो पक्षले गरेका निर्णयलाई बैधानिकता दिन पत्राचार गरेका थिए।

तर आयोगले नेकपाको अहिलेको विधानअनुसार दुवै अध्यक्षको हस्ताक्षर बिना सो पार्टीको संरचना र विधान कुनै हेरफेर गर्न नमिल्ने बताएको थियो।

प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाई सो ठाउँमा माधवकुमार नेपाललाई चयन गरेको हुँदा सोहीअनुसार अद्यावधिक गर्न पत्राचार गरेको थियो।

अर्कोतर्फ ओली पक्षले पनि केन्द्रीय कमिटीको संख्या विस्तार ११ सय ९९ पुर्‍याएको र त्यसलाई मान्यता दिन भनी पत्राचार गरेको थियो।

तर आयोगले दुवैपक्षका निर्णयलाई मान्यता दिन अस्वीकार गरेको थियो।

पाण्डेले नेकपाको हाल कायम रहेका ४ सय ३१ केन्द्रीय सदस्यमध्ये २ सय ८० जना केन्द्रीय सदस्य सोमबारको बैठकमा उपस्थित रहेको बताए। सोही बैठकले निर्वाचन आयोगमा रितपूर्वक पार्टी आधिकारिकताको दाबी गर्ने निर्णय गरेको हो।

‘मृत्यु भएका र राजकीय जिम्मेवारी पाएका कारण एकीकरण भएको समयमा भन्दा केन्द्रीय सदस्यको संख्या दस जना घटेको छ,’ पाण्डेले भने, ‘आकस्मिक रुपमा बैठक बोलाइएका कारण केही सदस्यहरु उपस्थित हुन सक्नु भएन, त्यसैले उपस्थितिको संख्या पछि बढ्ने छ।’

एमाले र माओवादी केन्द्र एकीकरण गरेर बनेको नेकपाको केन्द्रीय कमिटीमा ४ सय ४१ सदस्य थिए। जसमध्ये चार जना रविन्द्र अधिकारी, डिआर पौडेल, कमानसिं लामा र दिनेशचन्द्र यादवको निधन भएको छ।

त्यसैगरी तीन केन्द्रीय सदस्यहरु महेन्द्र पाण्डे, बंशीधर मिश्र र डा. युवराज खतिवडा राजदूत नियुक्त भएका छन् भने विष्णु थारु र समिम मियाँ अन्सारीले संवैधानिक आयोगमा नियुक्ति पाएका छन्। अर्का एक केन्द्रीय सदस्य तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय