
काठमाडौं, प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपा न जुट्न सक्ने न फुट्न सक्ने अवस्थामा छ। त्यसैले नेकपाका विभन्न खेमाका दोस्रो तहका नेताहरु एकताको सम्भावनाको खोजीमा जुटेका छन्।
पार्टी विभाजनअघि पनि एकता कायम राख्न सक्रिय रहेका ती नेताहरुले फेरि एकताको प्रयास थालेको बताएका छन्। त्यसैगरी सांसदहरुले पनि छलफलमा सक्रिय छन्।
दल विभाजनमा निर्वाचन आयोगले प्रक्रियागत जटिलता देखाएपछि आफूहरुले एकताको प्रयास थालेको उनीहरुको भनाइ छ।
अर्कोतिर, पार्टी विभाजनका क्रममा कतै नखुली एकता अभियान सुरु गरेका वामदेव गौतमले पनि संसद् पुनस्र्थापना भएपछि फेरि एकताको वातावरण बनेको भन्दै सक्रियता बढाएका छन्। बिहीबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर त्यसबारे छलफल गरेका गौतमले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सोही विषयमा छलफल गरेका छन्।
गौतमले नेकपाका तीनै समूहका दोस्रो तहका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको राष्ट्रिय एकता अभियानका सहसंयोजक हरि पराजुलीले बताए।
गौतमले घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, वर्षमान पुन, योगेश भट्टराई, जनार्दन शर्मासहितका नेताहरुसँग छलफल गर्ने पराजुलीले बताए। ‘गौतमले विभिन्न विकल्पहरुको बारेमा नेताहरुसँग छलफल गरिरहनु भएको छ,’ पराजुलीले भने।
पछिल्लो समय एकताको सम्भावना खोज्न दुवै तर्फका नेताहरु छलफलमा रहेको एक सांसदले बताए। ‘अहिले दुवैतर्फको दोस्रो तहका नेताहरु एकताको सम्भावना कति छ भनेर छलफल जुटेका छन्। त्यसैगरी पार्टी विवादको समयमा कतै पनि नलाग्ने भनेर रहेका ६४ सांसदको समूहका नेताहरुबीच पनि सिंहदरबारमा निरन्तर रुपमा छलफल भइरहेको छ,’ ती सांसदले भने।
यो समूहमा सांसद कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठलगायत छन्।
‘अहिले कांग्रेससँग दुवै समूहले छलफल गरिरहेका छन्। तर कांग्रेससँग गठबन्धन हुन सकेको छैन। त्यसैले नेकपाभित्रै किन विकल्प नखोज्ने भन्ने धारणाका साथ छलफल सुरु भएको हो। सिंहदरबारमा विभिन्न चरणमा छलफल भइरहेको छ,’ उनले भने।
असारमा पनि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको बेला भुसालको नेतृत्वमा स्थायी कमिटीका ११ सदस्यले समस्या समाधानको विषयमा छलफल गरेका थिए।
‘अहिले ती ११ जनामध्ये केही बाहिरिएका छन् भने केही थपिएका पनि छन्,’ समूहका एक नेताले भने, ‘यो आन्तरिक छलफल हो। सहमति भए बाहिर आउँछ।’
ओलीको विकल्पमा अन्य नेताहरुको नाममा पनि छलफल भएको स्रोतले बतायो।
प्रचण्डले ओलीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारिसकेका छन्।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनीतिक रुपमा दुई चिरामा विभाजित बनेको छ। तर, विभाजनले कानुनी औपचारिता प्राप्त गर्न नसकेको कारण नयाँ बन्ने सरकारको विषयमा समेत अन्यौल उत्पन्न भएको छ।
प्रचण्ड र नेपाल नेतृत्वमा रहेको नेकपाले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार दल विभाजित भएको भन्दै आफू समूहले आधिकारिकता पाउनु पर्ने दाबी गरेका छन्।
माघ २० गते नै प्रचण्ड–नेपाल समूहले २ सय ७३ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाएपनि त्यस विषयमा आयोगले कुनै प्रक्रिया अघि बढाएको छैन। जसले गर्दा नेकपाको संकट झनै जटिल बन्न पुगेको छ।