
काठमाडौं। गत पुस ५ गते प्रतिनिधि सभाको विघटन भएसँगै नेपालको राजनीतिले नयाँ कोल्टे फेर्यो। योसँगै प्रधानमन्त्री केपी शर्मा अोलीले नेतृत्व गरिरहेका मन्त्रिपरिषदमा व्यापक हलचल पैदा भयो।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र प्रतिगामी भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू सडकमा उत्रिए। ओलीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै ओली नेतृत्वको मन्त्रिमण्डलमा रहेका सदस्यहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, घनश्याम भुसाल, योगेश भट्टराई र विना मगरले मन्त्री पदबाट राजीनामा दिँदै सडक आन्दोलनमा सहभागी भए।
योसँगै प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिपरिषद पुर्नगठन गरे। जसमा धेरै नयाँ अनुहारहरू देखिए। यतिसम्म कि ओलीलाई सहयोग गरेकै भरमा गत प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नबनेका, निर्वाचन नलडेका, चुनावमा पराजित भएकाहरू मणि थापादेखि दावा लामासम्म मन्त्री बने।
जब यी नयाँ अनुहारहरू मन्त्रिमण्डलमा आए तब उनीहरूको काम जनताप्रति उत्तरदायी रहेर आफ्ना गतिविधिहरू सञ्चालन गर्नुभन्दा पनि विभिन्न कार्यक्रममा सहभागी भएर अमर्यादित, असभ्य र विवादास्पद अभिव्यक्ति दिनु मात्रै जस्तो देखिन्छ। खानेपानी मन्त्री थापाले सपथ लिएसँगै गत माघ १७ गते कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगे। उनले सम्बोधनका क्रममा श्री ५ को सरकारको तर्फबाट अभिवादन भन्न भ्याए। उनको यो अभिव्यक्ति सुनेर कार्यक्रममा सहभागी आम नेता तथा कार्यक्रता मज्जाले हाँसे।
पछि कार्यक्रम सञ्चालकले सम्झाएपछि मन्त्री थापाले माफी माग्दै नेपाल सरकारको तर्फबाट भन्दै सम्बोधन गरे। आफू नेपाल सरकार वा श्री ५ को सरकारको मन्त्री हुँ भन्नेसम्म थाहा नपाउने मन्त्री थापाको चौतर्फी आलोचना हुन पुग्यो। र, त्यसको भोलिपल्ट आफ्नो फेसबुक स्टाटसमार्फत जिब्रो चिप्लिएको भन्दै आम रुपमा माफी मागे।
मन्त्री थापाको गम्भिर भूल सेलाउन नपाउँदै पुनः शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले यस्तै प्रकारको अभिव्यक्ति दिए। विश्व विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागी एक प्रागिक कार्यक्रममा पुगेका उनको भाषण सुन्न शिक्षक र विद्यार्थी आतुर थिए।
नेपालको शिक्षा क्षेत्रको बारेमा मन्त्री श्रेष्ठले के बोल्छन्? सबैले चासोका हेरिरहेका थिए। तर, सम्बोधनका लागि रोस्टममा पुगेका उनले शिक्षा क्षेत्रको बारेमा केही नबोल्दै आफ्नो सरकार र प्रधानमन्त्री ओलीको बचाउन गर्न आतुर देखिए। अोलीलाई हटाउन ‘कोही माइकालाल जन्मिएको छैन’ भन्दै अमर्यादित र असभ्य भाषा प्रयोग गर्दै उग्र भाषण गरिरहेका उनीतर्फ हेर्दै सहभागी शिक्षक विद्यार्थी हाँसिरहेको देखिन्थ्ये।
शिक्षा मन्त्रीको यो अभिव्यक्ति चर्चामा रहँदै गर्दा गत मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौँ राष्ट्रिय महाधिवेशनमा सहाभागी भएका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको अभिव्यक्तिले फेरि बजार ततायो। मन्त्री आलेले सम्बोधनका क्रममा भने, ‘जुन रुखबाट हामी कार्बन्डाइअक्साइड लिन्छौँ, त्यही रुखलाई हामी अक्सिजन दिन्छौँ।’
रुख विरुवाले अक्जिन फाल्छ कि कार्बन्डाइअक्साइड भन्ने सामान्या ज्ञानसमेत थाहा नपाएका मन्त्री आलेको अभिव्यक्ति सुनेर कार्यक्रममा सहभागी सबै हाँसे।
यी पछिल्लो समय सरकारमा बसेका मन्त्रीहरूको प्रतिनिधि घटना मात्रै हुन्। सरकारको जिम्मेवारी सम्हालेका मन्त्रीहरूका यस्ता अभिव्यक्तिले सरकारमाथि गम्भिर प्रश्न खडा गरेको छ। नेकपा ओली निकटका एक नेताले नाम नखुलाउने सर्तमा भने मन्त्रीका पछिल्ला अभिव्यक्तिहरूले सरकार तथा प्रधानमन्त्रीमाथि नै गम्भिर असर पुगिरहेको छ। यसले सरकार र प्रधानमन्त्रीको गरिमालाई घटाउने काम गरेकाे छ।
बेसुरका मन्त्रीहरूले दिएका यस्ता अभिव्यक्तिहरू हेर्दा मन्त्री पदले मन्त्रीलाई नै जिस्काइरहेको देखिन्छ।