तिलक नेपाली
पूर्वी मोरङको उर्लाबारी अहिले ‘शैक्षिक हब’ को रुपमा विकसित हुँदै गएको छ । यहाँ शैक्षिक हबको रुपमा विकास हुने सम्भावना प्रशस्त देखिएको छ । यहाँका कलेजको लगातारको उत्कृष्ट नतिजाले पनि विद्यार्थी माझ परिचित गराएको हो । खासगरी प्राविधिक,साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट संकायमा पढ्न विद्यार्थीको लर्को लाग्ने गरेको छ ।
सामुदायिक तथा निजी स्रोतमा सञ्चालित विद्यालयहरुले पनि गुणस्तरीय शिक्षाको नारा दिएसँगै यसले थप हबको रुपमा विकास हुन टेवा पुगेको छ । उर्लाबारीमै निजी विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । उर्लाबारी बहुमुखी क्याम्पस पूर्वी मोरङकै पूरानो र इतिहार बोकेको क्याम्पस हो । उर्लाबारी बहुमुखी क्याम्पसमा पनि विभिन्न पहाडी जिल्लाबाट विद्यार्थी आएर पढ्ने गरेका छन् । विज्ञान, वाणिज्य, शिक्षा संकायका साथै प्राविधिक तथा व्यवसायिक शिक्षा अध्यापन गराउन यहाँ शिक्षण संस्था स्थापना भएसँगै शैक्षिक हब बन्न थालेको छ । यसका साथै मदन भण्डारी मेमोरियल, नेपाल दर्शन कलेज, मोरङ मोडल कलेज यहाँका उत्कृष्ट उच्च शिक्षा हासिल गन्तब्य मानिन्छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानमा प्रौद्योगिक महाविद्यालय निर्माणसमेत थालिएको छ । अहिलेपनि मदन प्रतिष्ठानमा पठनपाठन भइरहेको इन्जिनियरिङ अध्ययन गर्नका लागि प्रदेश नं. १, २ लगायतका स्थानबाट विद्यार्थीहरु आएका छन् । उर्लाबारीमा साक्षरता दर भने ७८.६ प्रतिशत मात्र रहेको छ । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षण २०७६ अनुसार कुल जनसंख्या ७० हजार ६ सय ५ मध्ये १५ हजार १ सय २१ जना निरक्षर छन् ।
शैक्षिक अवस्था
उर्लाबारी नगपालिकामा सामुदायिक तथा निजी विद्यालय ५६ वटा रहेका छन् जसमध्ये २२ सामुदायिक र ३४ संस्थागत विद्यालय रहेका छन् । माध्यमिक तहसम्म सञ्चालित २८ (९ सामुदायिक र १९ संस्थागत) र आधारभूत तह सञ्चालित २९ (१३ सामुदायिक र १६ संस्थागत) ले उर्लाबारीको विद्यालय तहको शिक्षामा योगदान पु¥याउँदै आएका छन् । उर्लाबारी १ मा सामुदायिक स्तरका ४ वटा विद्यालय रहेका छन् । शारदा माध्यमिक विद्यालय, नुनसरी आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय र बालज्योति आधारभूत विद्यालय रहेका छन् भने निजी स्तरमा १ मात्र झारसाँदी इङ्लिस बोर्डिङ स्कुल सञ्चालित रहेको छ । उर्लाबारी वडा नं. २ मा पनि ४ वटै सामुदायिक विद्यालय रहेका छन् भने निजी स्तरको १ वटा रहेको छ । सामुदायिक स्तरमा शान्ति आधारभूत, सरस्वती आधारभूत, सुनझोडा माध्यमिक र सुनपकुवा माध्यमिक विद्यालय रहेका छन् भने निजी स्तरमा ब्रिलियन्ट इङ्लिस बोर्डिङ स्कुल सञ्चालन भइरहेको छ ।
त्यस्तै, वडा नं. ३ मा सामुदायिक विद्यालय १ मात्र रहेको छ भने निजी स्तरमा ४ वटा रहेका छन् । सामुदायिक स्तरमा दुर्गा माध्यमिक रहेको छ भने विद्याज्योति, शुभकामना, सनसाइन र हिमालय इङ्लिस बोर्डिङ स्कुल सञ्चालित रहेका छन् ।
त्यस्तै, वडा नं. ४ मा सामुदायिक स्तरमा २ वटा र निजी स्तरमा ३ वटा सञ्चालित रहेका छन् । सामुदायिक स्तरमा भानु आधारभूत र सृजना आधारभूत विद्यालय रहेका छन् भने निजी स्तरमा नेशनल भिजन, सेन्टाफेन्स र हिमचुली रहेका छन् ।
त्यस्तै वडा नं. ५ मा कुनै सामुदायिक स्तरको विद्यालय छैन भने निजी ८ वटा निजी विद्यालय रहेका छन् । निजी स्तरमा सप्तकोशी आमाबि, उर्लाबारी लिटिल एन्जल्स, उर्लाबारी नमूना मन्टेश्वरी, शिक्षा निकेतन मन्टेश्वरी, मनकामना मन्टेश्वरी, बालबाटिका मन्टेश्वरी, सुनगाभा इङ्लिस बोर्डिङ स्कुल र पल्लवी विद्या मन्दिर सञ्चालित रहेका छन् । त्यस्तै, वडा नं. ६ मा सामुदायिक स्तरमा राधिका माध्यमिक विद्यालय सञ्चालित रहेको छ भने निजी स्तरमा मोरङ मोडल बोर्डिङ स्कुल, मोडेल पब्लिक, होली चाइल्ड र कुडोस विद्या सदन सञ्चालित छन् । त्यस्तै, वडा नं. ७ मा सामुदायिक स्तरमा राधिका माध्यमिक विद्यालय र नमूना शिक्षा सदन सञ्चालित छ भने निजी स्तरमा पार्लेन्स, भृकुटी, लालिगुराँस, दिपशिखा मन्टेश्वरी, बेथेल, पशुपति र नेपाल आर्दश रहेका छन् ।
त्यस्तै, वडा नं. ८ मा सामुदायिक विद्यालयतर्फ अरनिको माध्यमिक, लक्ष्मी माध्यमिक, शान्ति क्षेत्र आधारभूत र बहादुर बाबा आधारभूत विद्यालय रहेका छन् भने निजी स्तरमा नेबुला, प्रतिभा, न्यू भिजन, मेरिगोल्ड नेशनल एकाडेमी रहेका छन् । वडा नं. ९ मा सामुदायिक स्तरमा सार्वजनिक माध्यमिक, महाराज आधारभूत, राजघाट आधारभूत र प्रभात आधारभूत रहेका छन् भने निजी स्तरमा शिशु शिक्षा, ओभल र ज्ञानोदय रहेका छन् । त्यस्तै, उर्लाबारीभरी ११ वटा बालविकास केन्द्र सञ्चालित रहेका छन् । त्यस्तै, उर्लाबारी–३ मा मदन भण्डारी मेमोरियल एकाडेमी, उर्लाबारी–४ मा उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–६ मा मोरङ मोडल कलेज र उर्लाबारी–७ मा नेपाल दर्शन कलेज सञ्चालित रहेको छ । त्यस्तै, उर्लाबारी–५ मा बौद्धिष्ट, उर्लाबारी–६ मा संस्कृत र वडा नं. ७ मा मुसलिम धार्मिक विद्यालयसमेत रहेका छन् ।
बजेट कहाँ कति ?
उर्लाबारी नगरपालिका तथा वडा कार्यालयहरुले समेत सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार तथा भौतिक निर्माणमा बजेट ब्यवस्था गरेको छ । उर्लाबारी नगरपालिका वडा नं. १ ले शारदा माध्यमिक र नुनसरी आधारभूत विद्यालयको शैक्षिक सुधारका लागि २÷२ लाख, बाल्ज्योति आधारभूतलाई शैक्षिक सुधारका लागि १ लाख ५० हजार र लक्ष्मी आधारभूतमा कम्पाउण्ड घेराबारका लागि २ लाख विनियोजन भएको छ । त्यस्तै, सूर्योलय बाल विकास केन्द्रमा गृह निर्माणका लागि ६० हजार र लक्ष्मीझार बाल विकास केन्द्र खाजा घर ब्यवस्थापनका लागि ४० हजार विनियोजन गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. २ ले शान्ति आधारभूत र सरस्वती आधारभूत घेराबाराका लागि १÷१ लाख रुपैयाँ छुट्याइएको छ । सुनपकुवा माबि लिलिङ तथा पर्दा ब्यवस्थापन १ लाख छुट्याइएको छ । त्यस्तै, उर्लाबारी–३ मा शिक्षामा बजेट छुट्याइएको छैन । त्यस्तै, वडा नं. ४ को कार्यालयले सृजना आधारभूतको मर्मत तथा ब्यवस्थापन २ लाख, भानु आधारभूत र सृजना आधारभूतमा खाजा कार्यक्रमका लागि १ लाख छुट्टिएको छ भने भानु पुस्तकमालयको नयाँ भवन निर्माणका लागि २ लाख ५० हजार छुट्टिएको छ । वडा नं. ५ मा सामुदायिक विद्यालय नभएकाले बजेट ब्यवस्थापन भएको छैन । त्यस्तै, वडा नं. ६ को कार्यालयले संस्कृत पाठशालालाई खाद्यान्य सहयोग ६० हजार विनियोजन गरेको छ । त्यस्तै, वडा नं. ७ को कार्यालयले पनि बजेट छुट्याएको छैन । त्यस्तै वडा नं. ८ को कार्यालयले अरनिको माविमा साइडवाल निर्माणका लागि ३ लाख ५० हजार छुट्याएको छ । त्यस्तै, उर्लाबारी वडा नं. ९ को कार्यालयले सार्वजनिक मावि महिला शौचालय निर्माण २ लाख ७५ हजार, प्रभात आधारभूत भौतिक संरचना मर्मत सम्भार १ लाख र राजघाट आधारभूत चमेना गृह निर्माण १ लाख विनियोजन गरिएको छ ।
नगर स्तरको योजनामा शारदा माध्यमिक उर्लाबारी–१ मा ट्रष्ट निर्माण ५ लाख, राधिका माध्यमिक उर्लाबारी ६ घेराबारा १० लाख, लक्ष्मी माबि उर्लाबारी–८ ट्रष्ट निर्माण ५ लाख, भानु आधारभूत उर्लाबारी–४ छत ढलाई, राधिका माबि उर्लाबारी–७ ट्रष्ट निर्माण ५ लाख, सुनझोडा माबि उर्लाबारी–२ शौचालय तथा स्कुल छाना मर्मत ५ लाख, दुर्गा माबि उर्लाबारी–३ कम्पाउण्ड बाल निर्माण ५ लाख, महाराजथान स्कुल उर्लाबारी–९ अधुरो भवन निर्माण ५ लाख, राधिका माबि उर्लाबारी–७ का विज्ञान उपकरण, फर्निचर, अन्य सामग्री खरिद ५ लाख छुट्याइएको छ । त्यस्तै, बालबालिका कार्यक्रम सञ्चालनका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ ।
प्राविधिकतर्फ आकर्षण
उर्लाबारीमा मुख्य कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले विसं २०६५ देखि आर्थिक अवस्था कमजोर भएकाको शिक्षाका लागि उक्त कोषमार्फत लगानी गर्ने र कमाएर तिर्ने गरी ‘प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम’ सञ्चालन गरेको गर्दै आएको छ । उक्त प्रतिष्ठानमा सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएससीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ, प्राविधिक एसएलसी सिभिल इञ्जिनीयरिङ र भेट जेटिएका लागि उपहार ऋण कार्यक्रम सञ्चालित रहेका छन् । त्यस्तै, उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयमा कृषि तथा उर्लाबारी–३ को दुर्गा माविमा सिभिल ओभरसियर पढाई भइरहेको छ । उर्लाबारी–७ मा इष्र्टन एम्पायर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट सञ्चालन भइरहेको छ । होटल म्यानेजमेन्टको डिप्लोपमा (डिएचएम) र एडभान्स (एडीएचएम) को पढाइ हुने सो कलेजमा १५ महिने र ९ महिनो कोर्ष सञ्चालन हुने गरेको छ ।

पूर्वी मोरङकै इतिहास बोकेको उर्लाबारी बहुमुखी क्याम्पस
पूर्वीमोरङको शैक्षिक जगतका इतिहास बोकेको शैक्षिक धरोहर उर्लाबारी बहुमुखी क्याम्पस उच्च शिक्षाको हब बनेको छ । २ विगाहा क्षेत्रफलमा ३४ बर्ष अघि स्थापित सो क्याम्पस विद्यार्थीहरुको रोजाई बनिरहेको छ । व्यवस्थापन संकायमा स्नातक तथा मानविकीको ग्रामीण बिकास र शिक्षा संकायको नेपाली र जनसंख्या बिषयमा स्नाकोत्तर तह सम्मको पठन पाठन हुने यस क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीको संख्या १ हजार भन्दा बढी रहेको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले यस क्षेत्रको नाफारहित सार्वजनिक शैक्षिक संस्थाको रुपमा स्थापित उर्लाबारी बहुमुखी क्याम्पसले सर्वसाधरणको उच्च शिक्षा हासिल गर्ने ईच्छालाई पुरा गरेको बताउँदै नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्ने बताउनुभयो । उर्लाबारी नगरलाई शैक्षिक हब बनाउन समय अनुसारका नयाँ पाठयाक्रम समावेश गर्न समेत सुझाव दिनुभएको छ ।
प्रभावकारी बन्न सकेन ‘बुक कर्नर’ कार्यक्रम
सामुदायिक विद्यालयका प्रत्येक कक्षा कोठामा बुक कर्नर (किताब कुना) राख्नु पर्ने भएपनि मोरङको उर्लाबारीमा प्रभावकारी देखिएको छैन ।
बुक कर्नरका लागि सन् २००४ देखि सरकारले विद्यालयलाई अनुदान दिँदै आएको छ तर अधिकांश विद्यालयमा बुक कर्नर कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । सरकारले सामुदायिक विद्यालयमा बुक कर्नर कार्यक्रम लागु गरेको छ । कक्षा एक देखि कक्षा पाँचसम्मका प्रत्येक कक्षामा उपयुक्त सामग्री संकलन गरी बुक कर्नर स्थापना गर्नु पर्ने प्रावधान रहेको छ । विशेष गरी कक्षा एक देखि तीनसम्ममा पढाई सीप जस्ता आधारभूत सीप सिक्न र कक्षा चार देखि माथि सिक्नको लागि पढाइ भएको हुनाले सोही अनुरुप बुक कर्नर ÷ किताब कुनाका पुस्तकहरु व्यवस्थित गर्नुपर्दछ । विद्यार्थी संख्याका आधारमा सरकारले उपलब्ध गराएको रकम प्रभावकारी रुपमा बुक कर्नर खर्च हुन पनि नसकेको पाइएको छ । उर्लाबारीका अधिंकाश विद्यालयमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । बुक कर्नर बनेकै केही विद्यालयमा किताब छैनन् । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरतप्रति विद्यार्थी वार्षिक १ सय ५० रुपैयाँका दरले वितरण गरिँदै आएको छ । उर्लाबारी–६ को नमूना विद्यालय राधिका माध्यमिक विद्यालय पुग्दा बुक कर्नर राख्नु पर्ने स्थानहरुमा किताबै थिएनन् । ५ वटा कोठाको अगाडि पट्टीको भागमा तार टाँगेर किताबहरु राखेपनि प्रभावकारी बन्न नसकेको विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो । गत बर्ष आएको २३ हजार रुपैयाँको किताब खरिद गरिएको भएपनि विद्यार्थीहरुले खासै रुची नदेखाएका कारण प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ । विद्यार्थीको रुची र चाहना अनुसारका किताबहरु राख्न नसकेको कारण पनि बुक कर्नर प्रभावकारी बनाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँले अनलाइनमार्फत किताब पढ्ने क्रम बढेसँगै बुक कर्नरको महत्व कम भएको बताउनुभयो ।
यता उर्लाबारी–३ को सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक भूमि प्याकुरेलले कक्षा ४ सम्मका विद्यार्थीहरुलाई बुक कर्नर कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । गत आर्थिक वर्षमा करिब ११ हजार प्राप्त भएको र त्यसबाट पुस्तक खरिद गरेको उहाँको भनाइ छ । स–साना विद्यार्थीहरुलाई चित्रसहितका पुस्तकहरु आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुमा पुस्तक पढ्ने बानीको विकास हुने क्रम बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यथेष्ट बजेट ब्यवस्था नहुँदा प्रभावकारी बन्न भने सकेको छैन ।
त्यस्तै, उर्लाबारी–९ को प्रभात आधारभूत विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले पनि उचित बजेटको ब्यवस्थापन भएको खण्डमा बुक कर्नर कार्यक्रम थप प्रभावकारी बन्ने बताउनुभयो । गत बर्ष २ हजार ४ सय रुपैयाँ प्राप्त भएको र सोही बजेटबाट पुस्तक खरिद गरेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको बुक कर्नरप्रति चासो दिन थालेको उहाँको अनुभव छ । बुक कर्नरलाई थप प्रभावकारी बनाउन छुट्टै शिक्षक र कक्षा कोठामा ¥याकको ब्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उर्लाबारीका २२ वटै सामुदायिक विद्यालय बुक कर्नर कार्यक्रम लागु भएपनि प्रभावकारी बन्न सकेको देखिँदैन । कम बजेटका कारण विद्यार्थीहरुले खोजेका पुस्तकहरु खरिद गर्न नसकिने भएकाले यो कार्यक्रम प्रभावकारी बन्न नसकेको शिक्षकहरु बताउँछन् । बुक कर्नरको अवधारणा, लक्ष्य तथा उद्देश्य थाहा भएपनि अधिकांश शिक्षकले अझै यसको बारेमा बुझ्न नसक्दा विद्यार्थी पठन संस्कृति विकासका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्न नसकिरहेको हो । बुक कर्नर सम्बन्धित कक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीलाई व्यवस्थित गर्नका लागि सन् २००४ देखि कार्यान्वयनमा ल्याइएको थियो । विद्यार्थीको पठन सिपमा सुधार गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको जनाइएको छ । उर्लाबारीका सामुदायिक विद्यालयमा बुक कर्नर कार्यक्रम लागु भएको भएपनि अनुगमनको अभावमा प्रभावकारी बन्न सकेको छैन । प्रतिविद्यार्थी १५० रुपैयाँ दरले रकम विनियोजन गर्दै आएको उर्लाबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख प्रकाश गुरुङले जानकारी दिनुभयो । विद्यार्थीको संख्याका आधारमा विद्यालयलाई बुक कर्नरका लागि बजेट प्रदान गर्दै आएको भएपनि अनुगमन गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिमार्फत बुक कर्नरका लागि आवश्यक पुस्तक खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालनसहित शिर्षकमा ४३ लाख ५६ हजार रुपैयाँ बजेट ब्यवस्थापन गरेको उहाँले बताउनुभयो । यस वर्षको बजेट वितरण भइनसकेको उहाँले जानकारी दिनुभयो ।
(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपाल उर्लाबारीद्धारा प्रदान गरिएको लेखनवृत्ति)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय