मुलुकको समृद्धि आकाशबाट बर्सिने होइन, व्यक्ति, परिवार अनि समाज हुँदै आउने हो । व्यक्ति,परिवार हुदै समाज बन्ने जुन सामाजिक संरचना हुन्छ त्यसरी नै टोल, वडा, जिल्ला, प्रदेश हुदै राज्य बन्ने प्रशासनिक संरचना हुन्छ । समाजको उन्नति, प्रगतिमा जसरी व्यक्ति र परिवारको चौतर्फी विकास आवश्यक पर्दछ त्यसै गरी मुलुकको विकाशमा प्रशासनको तल्लो इकाईको विकाशको अवस्थाले महत्वपूर्ण भूमिका खेल्दछ । समृद्धि एकै दिनमा प्राप्ति गरिने विकाशको रुप होइन । स्पष्ट दूरदृष्टि, योजना, सुशासन, कर्तव्य र जिम्मेवारी प्रतिको इमान्दारिताले प्राप्त गरिने विषय हो विकाश । व्यक्ति र परिवार बस्ने ठाउँको विकास सबैभन्दा पहिले हुनुपर्छ । संसारका सबै मुलुकहरुमा व्यक्ति, परिवारहरु चाहे त्यो ठूलो महानगरपालिकाको होस् वा एउटा गाउँपालिका, सबैभन्दा सानो स्थानीय प्रशासनिक तह वडा (वार्ड) मा बस्दछन् । तसर्थ, सबैभन्दा पहिले सबै वडाहरुको समृद्धि आवश्यक छ । यी नै सिद्धान्तलाई अनुशरण गर्दै मोरङको उर्लाबारी नगरपालिका वडा नं. ७ अघि बढिरहेको छ ।
साविकको उर्लाबारी गाबिस वडा नं. ४ अहिले उर्लाबारी नगरपालिका वडा नं. ७ बनेको छ । बैंक तथा वित्तीय संस्थाको हबको रुपमा यो वडालाई लिन सकिन्छ । यस वडामा विकास निर्माणका कामहरु तीब्र गतिमा अघि बढेका छन् । यो वडा २.८३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । वडा नम्बर ७ मा जम्मा जनसंख्या १० हजार ७ सय १९ रहेको छ । जसमा पुरुष ५ हजार ६८ र महिला ५ हजार ६ सय ५१ रहेको छ । यस वडामा १ हजार ७ सय ३५ घरधुरी रहेका छन् । ४२ जातजातिका मानिसहरुको यहाँ बसोबास रहेको छ भने ८ वटा धर्म मान्ने धर्मालम्बीहरु रहेका छन् । यस वडामा २० प्रकारका मातृभाषाको प्रयोग हुने गरेको छ ।
यहाँ ब्राह्मण, क्षेत्री, राई, लिम्बू, धिमाल, मगर, गुरूङ, नेवार, तामाङ, सन्थाल, दमाई, कामी,सार्की, मारवाडी, मधेसी, मुस्लिम, दनुवारलगायत जातजातिको मिश्रित बसोबास रहेको छ । यस वडामा रहेका धेरै जसो मानिसले व्यापारलाई आम्दानीको मुख्य श्रोतको रुपमा मानेका छन् । कुल जनसंख्याको ६० प्रतिशत मानिसहरु व्यापार व्यवसायमा आबद्ध रहेका छन् भने २ प्रतिशतमात्रै कृषि पेशामा आबद्ध रहेका छन् । यस वडामा व्यापार, व्यवसायको अलवा नोकरी र वैदेशिक रोजगारी मुख्य आयस्रोतको रुपमा रहेको छ । वडामा सडक कालोपत्रे, ग्राभेल, पेबललगायतका काम तीब्र गतिमै अघि बढिरहेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिबिधि पनि उत्तिकै मात्रामा प्राथमिकताका साथ अघि बढिरहेका छन् । उर्लाबारी नगरपालिका वडा नं. ७ को भवन निर्माणका लागि उर्लाबारी–७ की मनमाया कार्की, महेन्द्र कार्की, सीता कार्की, इश्वरी बस्नेत कार्की परिवारले ३ कट्ठा जग्गा निःशुल्क दिनुभएको थियो । २०७७ पौष २१ गते वडा कार्यालयको नाममा उक्त जग्गा रजिष्ट्रेशन पास भएको हो । २०७८ जेष्ठ १२ गते उर्लाबारी नगरपालिकाका तत्कालिन नगरप्रमुख खड्ग फागो र उपप्रमुख लक्ष्मीदेवी भण्डारीले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको थियो भने २०८० मंसिर २७ गते उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिनादेवी पौडेलले उद्घाटन गर्नुभएको थियो । वडा कार्यालयको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन् ।
यस वडाले न्याय सम्पादन तथा सुशासनका विषयलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ । महिला सशक्तिकरण र आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रमहरुसमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक विकास, खेलकुदलगायत क्षेत्रको विकासमा पनि वडाले प्राथमिकताका साथ अघि बढाएको छ । यस वडामा दुई वटा सामुदायिक विद्यालय, ६ वटा निजी विद्यालय र एक निजी कलेज रहेको छ । सामुदायिक विद्यालयतर्फ राधिका माध्यमिक विद्यालय र नमूना विद्या सदन आश्रम रहेको छ । राधिकामा कक्षा १० सम्म पढाई हुने गरेको छ । यहाँ फरक क्षमता भएका विद्यार्थीहरुलाई छुट्टै पढाउने ब्यवस्था रहेको छ भने यस विद्यालयमा राधिका बाल केन्द्रसमेत सञ्चालित रहेको छ । नमूना विद्या सदनमा कक्षा २ सम्म पढाई हुने गरेको छ । नमूना विद्या सदनमा नमूना बाल विकास केन्द्र पनि रहेको छ । यस वडामा प्रगति बाल विकास केन्द्र सञ्चालनमा रहेको छ । यस वडामा निजी विद्यालयतर्फ पशुपति आवासिय माध्यमिक विद्यालय, नेपाल आर्दश अंग्रेजी बोर्डिङ स्कुल, पार्लेन्स इङ्लिङ्स बोर्डिङ स्कुल, लालिगुराँस इङ्लिङ्स बोर्डिङ स्कुल, भृकुटी मोडल एकाडेमी, बेथेल एकाडेमी, दिपशिखा मन्टेश्वरी, संस्कार पाठशाला र म्यारी गोल्ड एकाडेमी रहेको छ । निजीतर्फकै नेपाल दर्शन कलेज यसै वडामा पर्दछ । होटल म्यानेजमेन्ट पढाई हुने डिकम कलेज यही वडामा रहेको छ । ब्रिटिस ल्याङ्वेज एण्ड कम्प्यूटर, एम. एन. इन्स्च्यिुट लगायत आधा दर्जनको हाराहारीमा विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्ने सस्थाहरु समेत यहाँ रहेका छन् । यस वडामा ११ वटा टोल विकास संस्था रहेका छन् । त्रिबेणी टोल विकास संस्था, बरगाछी टोल विकास संस्था, शान्ति टोल विकास संस्था, नवदुर्गा शक्ति टोल विकास संस्था, पूर्वेली टोल विकास संस्था, भद्रमारी टोल विकास संस्था, स्कुलडाँडा टोल विकास संस्था, गणेश मन्दिर टोल विकास संस्था, आश्रम टोल विकास संस्था, मुनाल टोल विकास संस्था र पशुपति मार्ग टोल विकास संस्था रहेका छन् । टोल विकास संस्थामार्फत वडाले आफ्ना गतिबिधि सञ्चालन गर्ने गरेको छ । जसका कारण वडामा समस्या समाधान गर्न जनप्रतिनिधिहरुलाई सहजता भएको छ । वडाले भूमिकर, घरबहाल कर, सिफारिस शुल्क, सम्पत्ति मूल्यांकन, आम्दानी प्रमाणित, पञ्जीकरण शुल्क, सर्जवनी प्रमाणितलगायत सेवा प्रवाह गर्दै आएको छ । दैनिक कर संकलन औषत ३० हजारदेखि ४० हजार रुपैयाँ हुने गरेको छ । नगरपालिकाको वडाहरुमध्ये सबैभन्दा धेरै कर संकलन हुने पनि यही वडा पर्दछ ।
व्यावसयिक क्षेत्रको रुपमा मानिएको यस वडामा अधिकांश बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । व्यवसाय प्रवद्र्धनको लागि यस वडामा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त एक दर्जन बढी बैंकहरु र सहकारीहरुलाई आर्थिक सहजता प्रदान गर्न राष्ट्रिय सहकारी बैंकको उपस्थिति रहेको छ । यहाँ सहकारी संस्थाहरु पनि उल्लेखिय मात्रामा रहेका छन् । जसले आफ्ना शेयर सदस्यहरुलाई आर्थिक संकट र व्यावसायिक प्रवद्र्धनमा सहजता प्रदान गरेको पाइन्छ । यसरी नै वित्तीय कारोबार गर्ने अन्य लघुवित्त, इन्भेष्टमेन्ट कम्पनी, इन्स्युरेन्स कम्पनी र विभिन्न वित्तीय संस्थाहरु पनि यस वडामा क्रियाशील रहेका छन् । यस वडामा हिमाल बैंक, कामना सेवा विकास बैंक, सिद्धार्थ बैक, ग्लोबल आईएमई बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक, मितेरी डेभलपमेन्ट बैंक, कुमारी बैंक, गरिमा बैंक, मुक्तिनाथ विकास बैंक, प्रभू बैंक, नविल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र माछापुच्छे बैंक रहेको छ । त्यस्तै, सहकारीहरुमा एभरेष्ट बचत तथा ऋण सहकारी, तिलिचो बचत तथा ऋण सहकारी, नेपाल बहुउद्देश्यीय सहकारी संस्था, स्वर्ण लक्ष्मी सहकारी, वत्स बचत तथा ऋण सहकारी, स्वरोजगार भवानी बचत तथा ऋण सहकारी, कर्णाली बचत तथा ऋण सहकारी, हाम्रो नेपाल बचत तथा ऋण सहकारी, सिम्रिक बचत तथा ऋण सहकारी, पञ्चकन्या बचत तथा ऋण सहकारी, फाल्गुनन्द बचत तथा ऋण सहकारी, फक्तालुङ्ग बचत तथा ऋण सहकारी, नारी संकल्प बचत तथा ऋण सहकारी, आङ्दिम विद्युत सहकारी, नारी सिर्जना कृषि सहकारी, दियालो कृषि सहकारी, काबेली बहुउद्धेश्यीय सहकारी, कञ्चनजंगा बहुउद्देशीय सहकारी, सुन्दरफुल बचत तथा ऋण सहकारी, कान्ति बचत तथा ऋण सहकारी, बुद्ध बहुउद्देश्यीय सहकारी, पञ्चेश्वर बचत तथा ऋण सहकारी, सुप्रसिद्ध युवा तथा कृषि उद्यमी सहकारी र पवित्र बचत तथा ऋण सहकारी यस वडामा रहेका छन् । फरवाड, जीवन विकास, इन्फिनिटी, नेशनल, आशा लघुवित्त यहाँ रहेका छन् । सानीमा रिलायन्स लाईफइन्सोरेस, आईएमई लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्सलगायत इन्स्युरेन्स कम्पनी पनि यो वडामा रहेका छन् । कावेली इन्भेष्मेटलगायत यस वडामा रहेका छन् । त्यस्तै, शारीरिक व्यायमका लागि बेसिक जिम पनि यसै वडामा रहेको छ । २५ बर्षदेखि सञ्चालनमा रहेको यो जिममा उर्लाबारीसहित अन्य पालिकाबाट समेत फिटनेसका लागि यस वडामा आउने गरेका छन् । त्यस्तै, क्रियटर आट्र्स फाउन्डेसनद्वारा शारीरिक तन्दुरुस्तीका लागि जुम्बा सञ्चालन गरिएको छ । मोटोपन घटाउन मात्र नभएर थाइराइड, युरिक एसिड आदि रोग नियन्त्रणका लागि पनि जुम्बा प्रभावकारी साबित भएको छ । रमाइला सङ्गीतको धुनमा कसरत गरिने भएकाले यसको आकर्षण महिलाहरुमा बढ्दै गएको छ । मन कराँते सेन्टर र उर्लाबारी डोजोमार्फत यहाँ कराँते प्रशिक्षण हुँदै आएको छ ।
यस वडामा सञ्चार क्लब नेपाल, नेपाल मगर संघ, स्वतन्त्र निर्माण ब्यवसायी मजदुर संघ, प्याब्सन नगर समितिको कार्यालय, विहानी कला केन्द्र, सोनिका सामुदायिक भवन, फोम्वो आवजुङ लिम्बू कल्याणकारी समाजको कार्यालय, उत्तरी मोरङ होटल ब्यवसायी संघको कार्यालय, उर्लाबारी सिटी सफारी सेवा उत्थान मञ्चको कार्यालय, नमूना युवा क्लबको कार्यालय, उर्लाबारी पार्टी प्यालेस, उज्यालो बेकरी, दिप पाउरोटी उद्योग, राजघाट मौरीपाल उद्योग, जीवन उपचार बचाउ सेवा केन्द्र, मैथिली सेवा समाज समितिको कार्यालय, राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय तथा नगर कार्यालयलगायतका विभिन्न संघसंस्था र उद्योग सञ्चालनमा रहेका छन् । इलाका प्रहरी कार्यालय पनि यसै वडामा अवस्थित रहेको छ । यस प्रहरी कार्यालयमार्फत उर्लाबारी, मिक्लाजुङमा शान्ति सुरक्षाको व्यवस्था हुँदै आएको छ ।
यसै वडामा आधुनिक च्याउ उद्योग र विराज च्याउ कृषि फार्म रहेको छ । दुबैले च्याउ उत्पादन गर्दै आएका छन् । आधुनिक च्याउ खेती उर्लाबारीकै पूरानो च्याउ उद्योग हो । यस उद्योगले च्याउको अलवा विउ उत्पादन र पराल विक्री वितरण पनि गर्दै आएको छ । यसै वडामा नेपाल टेलिकमको दुरसञ्चार कार्यालयसमेत रहेको छ । यस वडामा सबैजसो धर्मावलम्बीका भक्ति केन्द्र रहेका छन् । देवीस्थान दुर्गा मन्दिर, पञ्चेश्वर शिवालय, सिद्धिविनायक गणेश मन्दिर, नव दुर्गा वेद विद्या मन्दिर, राधाकृष्ण मन्दिर, हनुमान मन्दिर र पाथीभरा पन्चकन्या देवी मन्दिर रहेको छ । वडामा हेब्रोन चर्च, न्यू लाइफ चर्च र पमेश्वर मण्डली रहेका छन । इस्लाम धर्मका अब्दुला अन्सरी र मदरसा तजवीदुल कुर्आन पनि यहाँ रहेका छन् । देवीस्थान दुर्गा मन्दिरको अतिथि गृह र परोपकार केन्द्रको ज्येष्ठ नागरिक विश्रामालय र वौद्ध मार्गीको स्वयम्भू चैत्य बुद्ध महाविहार पनि यसै वडामा रहेका छन् ।
उधमशीलताको प्रवद्र्धनका लागि नरमाया हस्तकला उद्योग र निरु ढाका उद्योग पनि यसै वडामा रहेका छन् । उर्लाबारीमा रहेका दुई वटा पेट्रोल पम्पमध्ये मालबासे पेट्रोल पम्प यहाँ रहेको छ । आँखा उपचार केन्द्र पनि यही वडामा रहेको छ भने १ दर्जन बढी क्लिनिकहरु यस वडामा रहेका छन् । यस वडामा आधा दर्जन पत्रकारहरु क्रियाशिल रहेका छन् । यस वडाबाट पूर्वी कमाण्ड मिडिया र मावा टाइम्स मिडिया सञ्चालनमा रहेको छ । नमूना बाल गृह पनि यसै वडाबाट सञ्चालन भइरहेको छ । सहाराविहिन बालबालिकालाई संरक्षण दिने नेपालकै नमूना बाल गृहको रुपमा रहेको यस गृहमा ५६ जना बालबालिका आश्रित रहेका छन् । दिपक सप्लायर्सले कृषि सामाग्री, वायोस्याण्ड फिल्टर उत्पादन गर्दै आएको छ । त्यस्तै, नृत्यकला सम्बन्धी तालिम प्रदान गर्ने अलराउण्ड डान्स सेन्टर, रोजी डान्स सेन्टर, क्रेयटर डान्स स्टुडियो लगायतका तालिम संस्था पनि रहेका छन् । वडामा धान, मकै, फापर, तोरी, आलुलगायतका अन्न उत्पादन हुने गरेको छ । धान र मकैको खेती यस वडाको प्रमुख कृषि उत्पादनको रुपमा रहेको छ । बरगाछी चौकमा बस स्टेण्ड र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक रहेको छ भने मिलडाँडा चौक (बाघ खोर) मा बाघको प्रतिमा रहेको छ । मोरङ सुनचाँदी व्यवसायी संघको केन्द्रीय कार्यालय यसै वडामा रहेको छ ।
यस वडामा कृषि तथा खेती, नोकरी, ज्यालादारी, बैदेशिक रोजगारी, ब्यापार ब्यवसाय, मूर्तिकला केन्द्र, स–मिल, घरधन्दालगायतमा यस वडाका बासिन्दाहरु आबद्ध रहेका छन् । पशुपति दालमोड उद्योग, उर्लाबारी ग्रामेन्टलगायत पनि रहेका छन् । विहानी कला केन्द्र यसै वडामा छ भने पतंजली योगपीठको हरिद्धार योग प्रशिक्षण केन्द्र पनि यहाँ रहेको छ ।
वडाले ड्राइभिङ तालिम, एडभान्स डिप्लोमा कम्युटर तालिम, नुहाउने साबुन बनाउने तालिम, मेकअप सौन्दर्य तालिम, स्वीटर बुनाई तालिम, फेब्रिकेसन अलुमिनयम तथा मेटल तालिम, मखमल जुत्ता चप्पल तालिम, उद्घोषण तथा प्रस्तावना लेखन, सेनेटरी प्याड बनाउने तालिम, क्रियाशिल संघसंस्थाका पदाधिकारी र सदस्यहरुलाई क्षमता अभिबृद्धि तालिम, लागु पदार्थ दुब्र्यसनीविरुद्धको कार्यक्रमलगायत सञ्चालन गरिरहेको छ ।
यस्तै, वडाले उन्नत जातको बाख्रा पाठा वितरण, किशानहरुलाई ५० प्रतिशत अनुदानमा तरकारीको विउ विजन वितरण, खर्वुजा खेती कार्यक्रम ७५ प्रतिशत अनुदान, खुल्ला ब्यायाम शाखा सामाग्री खरिद, खेलकुद कार्यक्रम तथा सामाग्री खरिद, टोल विकास संस्था ब्यवस्थापन, सुत्केरी पोषण, जेष्ठ नागरिक अवलोकन भ्रमण,भलिबल खेलकुद, बृत्तचित्र निर्माण, जेष्ठ नागरिक सम्मान, मिलिजुली अपाङ्ग समूहलाई खाचा खर्च र टेवा पूँजी, घारसहित गोलामौरी वितरण ५० प्रतिशत अनुदान, बृद्ध चौतारी जेष्ठ नागरिक दिवा खाजालगायत कार्यक्रम सञ्चालन भइरहेको छ ।
वडाले युवा तथा खेलकुदको विकासमा पनि योगदान गरिरहेको छ । यस वडामा फुटबल, कराँते, भलिबल, ब्याटमिन्टनलगायत खेलहरु सञ्चालन हुँदै आएका छन् ।
वडाले कृषि तथा रोजगारीका क्षेत्रमा समेत काम गर्दै आएको छ । विभिन्न तालिमहरुमार्फत स्वरोजगार बनाउने र कृषकहरुलाई प्रोत्साहन गर्न अनुदान उपलब्ध गराउँदै आएको छ । कृषि क्षेत्र २ प्रतिशतमात्रै भएपनि वडाले कृषि क्षेत्रमा उर्जा थप्न अनुदानलगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
वडाले दलित तथा महिलाहरुको क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको छ । दलित समुदायको क्षमता विकाससँगै सिपमूलक काममा प्रोत्साहन गर्नुको साथै स्वास्थ्य बिमा, धारा जडानलगायत कार्यक्रमहरु वडाले सञ्चालन गरिरहेको छ । वडाले महिला, दलित तथा लक्षित वर्गलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ ।
यस वडाले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सम्बन्धी आधारभूत सेवा प्रवाह गर्दै आएको छ । स्वास्थ्य केन्द्रबाट सामान्य उपचार, औषधि वितरण, गर्भवती तथा बच्चाको जाँच, साधारण प्रसूति, नवजात शिशु सेवा, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श लगायत सेवा निशुल्क उपलब्ध गराउँदै आएको छ ।
मोरङको लाइफ लाइन मानिने उर्लाबारी–रंगेली–विराटनगर सडक खण्डको पूर्वी प्रस्थान विन्दु वडा नम्बर ७ मै पर्छ । यद्यपि यस सडकको करिब डेढ किलोमिटर लम्बाईले मात्र यहाँको भूगोल छुन्छ । सोही सडक खण्डको उर्लाबारी चौकबाट बरगाछीसम्म एकतर्फी सडक पार्किङको ब्यवस्थापन गरिएको छ । जसले गर्दा यात्रु तथा सर्वसाधारणलाई सहज भएको छ । पूर्वाधार विकास कार्यक्रममा सडक कालोपत्रे, ग्राभेल, पेभिङ्ग ब्लक, डे«न निर्माण, कल्भर्टलगायतका काम पनि वडाले अघि बढाएको छ । वडाका आवश्यक स्थानमा मर्मत सम्भारका कार्य , वडाका विभिन्न स्थानमा स्लाब निर्माण, कुलो पैनि निकास तथा ढल सरसफाई, मावा करिडोर योजना अन्तरगत विभिन्न कार्यमा वडाले योगदान गर्दै आएको छ । सवल, सक्षम, समृद्ध र नमूना वडा बनाउने जमर्कोमा वडाका जनप्रतिनिधिहरु क्रियाशिल रहनु भएको छ । वडामा भएका स्रोत र साधनको पहिचान गरी यसको कुशल प्रयोग गरी वडाको कर प्रणालीलाई चुस्त बनाई आर्थिक पक्ष सवल बनाउने काममा पनि जनप्रतिनिधिहरुले भूमिका खेलिरहनुभएको छ । वडामा रहेको सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्न शैक्षिक गुणस्तर वृद्धि र स्तरोन्नति गर्न समयसापेक्ष स्रोत साधनको व्यवस्थापन गर्ने काममा यस वडाका जनप्रतिनिधि लागि परेका छन् । खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलगायतका काममा जनप्रतिनिधिहरुको अर्जुनदृष्टी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय