
उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले देश विकास र समृद्धिका लागि युवाहरु अब राजनीतिमा आउनु पर्नेमा जोड दिनुभयो ।
यु युथ्स अफ उर्लाबारीको आज सम्पन्न संस्थाको दोस्रो चुनावी साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले हर क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देश विकासका लागि युवा अघि बढ्नु पर्ने बताउँदै रहर संस्था खोल्ने भन्दा पनि दिर्घकालिन रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष प्रेमराज शर्माको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रोशन घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २०७५ सालमा स्थापना भएको संस्थाले लागुऔषधविरुद्ध सचेतना, महिला हिंसा विरुद्धको कार्यक्रम, अग्नि पीडितलाई सहयोग, रोगबाट पीडित व्यक्तिहरुको सहयोगार्थ महाशिवरात्री साँझ, खुला वाचन प्रतियोगिता, कोरोना महामारीमा उर्लाबारी नगरपालिकाको राहत कोषमा सहयोगलगायतका विविध कार्य गरेको अध्यक्ष शर्माले बताउनुभयो । कोषाध्यक्ष घिमिरेले १३ लाख २० हजार रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।