मोरङ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेद्वार दुर्गाकुमारी तामाङले मतदातालाई आफूलाई दिएको माया, विश्वास र समर्थनका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । राष्ट्रिय परिवर्तन पार्टी र उज्यालो पार्टी नेपाल का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेकी तामाङले चुनावी परिणामलाई शान्त मनले स्वीकार गरेको बताउनुभएको हो । उहाँले लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने भन्दै त्यसको पूर्ण सम्मान गर्ने उल्लेख गर्नुभयो । साथै, मोरङ–१ बाट विजयी भएका यज्ञमणि न्यौपानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । ‘राजनीति क्षेत्रमा पहिलो प्रयासमै जनताबाट पाएको माया र समर्थनका लागि म अत्यन्त आभारी छु,’ तामाङले भन्नुभयो, “हार अन्त्य होइन, सफलताको सुरुवात हो ।हामी अझ बलियो भएर जनतामाझ फर्किनेछौँ ।’ तामाङले आगामी दिनमा पनि जनताको सेवा र विकासका मुद्दामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।























