उर्लाबारी । आगामी स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा उर्लाबारी नगरपालिकाको मेयर पदलाई लिएर राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ । प्रमुख राजनीतिक दलका सम्भावित उम्मेदवारसँगै स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिने व्यक्तिहरूको चर्चा हुन थालेपछि यसपटकको निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ ।
सामाजिक अभियन्ता तथा पूर्व गाविस सचिव जयधर्म आचार्य र सामाजिक अभियन्ता रुद्रबहादुर तामाङले स्वतन्त्र रूपमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरिरहेको चर्चा छ । दुवै जनाले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । यद्यपि, उनीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । दलगत राजनीतिभन्दा माथि उठेर नगरको विकास र सुशासनका पक्षमा काम गर्ने व्यक्तिको खोजीमा रहेका मतदातालाई आकर्षित गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारीको तयारी भइरहेको बुझिन्छ । तर, स्वतन्त्र उम्मेदवारको चर्चा बढ्दैमा चुनाव जित्ने आधार तयार भइसकेको भने होइन ।
उर्लाबारीको वर्तमान राजनीतिक अवस्था हेर्दा प्रमुख राजनीतिक दलहरूबीच प्रतिस्पर्धा कायमै छ । नगरपालिकामा नेकपा एमालेका मेयर गंगा प्रसाद खरेल र उपमेयर मिना कुमारी खतिवडा नेतृत्वमा हुनुहुन्छ । कार्यपालिकामा समेत एमालेको बहुमत रहेको अवस्था छ । नेपाली कांग्रेसले चारवटा वडाध्यक्ष जितेको छ । यसअघि उर्लाबारीमा कांग्रेसबाट पनि नगरप्रमुख निर्वाचित भइसकेको इतिहास छ । यसले उर्लाबारीमा एमाले र कांग्रेस दुवैको बलियो संगठनात्मक आधार रहेको देखाउँछ । तर, आगामी निर्वाचनमा विगतकै मत परिणाम दोहोरिन्छ भन्ने निश्चित छैन । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले परम्परागत दलहरूको चुनावी गणितमा प्रभाव पार्ने देखिएको छ । त्यस्तै, श्रम संस्कृति पार्टीको पनि उर्लाबारी क्षेत्रमा प्रभाव र उपस्थिति बढ्दै गएको छ । नेकपा, राप्रपालगायत अन्य राजनीतिक दलहरूको समेत आ–आफ्नै मताधार छ ।

यस्तो अवस्थामा मतदाताको एउटा हिस्सा परम्परागत राजनीतिक दलको विकल्प खोजिरहेको हुन सक्छ । यही मनोविज्ञानलाई स्वतन्त्र उम्मेदवारले आफ्नो पक्षमा पार्न सके उनीहरूका लागि अवसर सिर्जना हुन सक्छ । स्वतन्त्र उम्मेदवारका रूपमा जयधर्म आचार्य र रुद्रबहादुर तामाङको चर्चा हुनु आफैँमा चासोको विषय बनेको छ । दुवै जना सामाजिक गतिविधिमा संलग्न व्यक्तिका रूपमा परिचित छन् । तर, एउटै राजनीतिक विकल्पका रूपमा अघि बढ्ने कि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भन्ने विषयले उनीहरूको सम्भावना निर्धारण गर्नेछ । यदि दुवै जना चुनावी मैदानमा उत्रिए भने परिवर्तन चाहने, दलप्रति असन्तुष्ट र स्वतन्त्र नेतृत्वको अपेक्षा गर्ने मत विभाजित हुन सक्छ । त्यसको प्रत्यक्ष फाइदा संगठित राजनीतिक दललाई पुग्न सक्छ । यसको विपरीत, आपसी समझदारी गरेर एउटै साझा उम्मेदवार अघि सार्न सके स्वतन्त्र पक्षको चुनावी शक्ति बढ्न सक्छ ।
स्वतन्त्र उम्मेदवारका लागि सबैभन्दा ठूलो चुनौती संगठन र मत व्यवस्थापन हो । दलका उम्मेदवारसँग वडा तहसम्म कार्यकर्ता, चुनावी परिचालन संयन्त्र र लामो समयदेखि स्थापित राजनीतिक सम्बन्ध हुन्छन् । स्वतन्त्र उम्मेदवारले व्यक्तिगत लोकप्रियतालाई मतदान केन्द्रसम्म पु¥याउन सक्नुपर्छ । यसपटकको निर्वाचनमा रास्वपा र श्रम संस्कृति पार्टीको उपस्थितिलाई पनि नजरअन्दाज गर्न सकिँदैन । यी दुई शक्तिले परम्परागत दलहरूको मतमा कति प्रभाव पार्छन् भन्ने कुराले स्वतन्त्र उम्मेदवारको सम्भावनालाई समेत प्रभावित पार्नेछ । रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्न क्यान्डिडेट क्लब र आन्तरिक मूल्यांकन प्रक्रियासमेत अघि बढाएको छ । यसले स्थानीय तहमा उसको चुनावी तयारीलाई गम्भीर रूपमा लिनुपर्ने देखाउँछ । अर्कोतर्फ, श्रम संस्कृति पार्टीले श्रमदानमार्फत आफ्नो राजनीतिक उपस्थिति विस्तार गरिरहेको छ । नेकपा र राप्रपाले पनि आफ्नो परम्परागत मत जोगाउने प्रयास गर्नेछन् । उर्लाबारीको मेयरमा स्वतन्त्र उम्मेदवारको सम्भावना कति छ भन्ने प्रश्नको जवाफ अहिले नै दिन हतार हुनेछ । तर, सम्भावना छैन भन्न पनि मिल्दैन । स्वतन्त्र उम्मेदवारले जित्नका लागि दलहरूप्रतिको असन्तुष्टिलाई मात्रै आधार बनाएर पुग्दैन । नगरको विकास, शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, सडक, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा स्पष्ट योजना प्रस्तुत गर्नुपर्छ । सबै जातजाति, समुदाय, वर्ग र क्षेत्रलाई समेट्ने विश्वासिलो नेतृत्वको छवि निर्माण गर्नुपर्छ । अझ महत्वपूर्ण कुरा, स्वतन्त्र उम्मेदवारहरूबीच सहकार्य हुन्छ कि प्रतिस्पर्धा, दलहरूले कस्ता उम्मेदवार अघि सार्छन् र मतदाताले नयाँ विकल्पलाई कति विश्वास गर्छन् भन्ने कुराले निर्वाचनको दिशा तय गर्नेछ ।

अहिलेको अवस्थामा उर्लाबारीमा एमाले र कांग्रेसको संगठनात्मक आधार बलियो छ । रास्वपा र श्रम संस्कृति पार्टीको उदयले नयाँ प्रतिस्पर्धा थपेको छ । यस्तो बहुपक्षीय प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो स्थान बनाउन सक्ने सम्भावना छ । तर, त्यसका लागि व्यक्तिगत परिचय र भेटघाटभन्दा माथि उठेर साझा एजेन्डा, बलियो टिम र चुनाव जित्ने स्पष्ट रणनीति आवश्यक छ । उर्लाबारीको आगामी निर्वाचनमा मुख्य प्रश्न अब कुन दलले जित्छ भन्ने मात्र रहने छैन, मतदाताले पुरानै राजनीतिक शक्तिलाई निरन्तरता दिन्छन् कि नयाँ अनुहार र स्वतन्त्र नेतृत्वलाई अवसर दिन्छन् भन्ने पनि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय