मोरङको उर्लाबारी–६ स्थित शुक्रबारे बजार अन्यत्र सार्ने चर्चाले स्थानीय बासिन्दा र व्यवसायीलाई सशंकित बनाएको छ । लामो समयदेखि सञ्चालन हुँदै आएको बजारलाई उर्लाबारी–४ को आइतबारे क्षेत्रमा स्थानान्तरण गर्ने प्रयास भइरहेको भन्दै विरोध सुरु भएको छ । प्रश्न बजार सार्ने वा नसार्ने मात्रै होइन, २० वर्षका लागि गरिएको सम्झौता हुँदाहुँदै बीचमै स्थानान्तरणको कुरा किन उठ्यो भन्ने हो ।
बजार सञ्चालनका लागि जग्गाधनीसँग २० वर्षको सम्झौता गरिएको छ । सम्झौतामा २१०१ साल असार मसान्तसम्म जग्गा भाडामा लिने उल्लेख छ । यस्तो दीर्घकालीन सम्झौता कायम रहँदै बजार अन्यत्र सार्ने प्रयास हुनु आफैँमा गम्भीर प्रश्न हो । सम्झौताको औचित्य के रह्यो ? त्यसको कार्यान्वयनको जिम्मेवारी कसको हो ? नगरपालिकाले जवाफ दिनुपर्छ । अर्कोतर्फ, उर्लाबारी–६ मा बसपार्क निर्माणपछि आसपासको जग्गाको मूल्य र व्यावसायिक महत्व बढेको छ । यही समयमा स्थापित बजार सार्ने चर्चा चल्नुले स्थानीयमा थप आशंका जन्माएको छ । बजार सार्दा कसलाई लाभ पुग्छ ? यसको पहल कसले गरिरहेको छ ? व्यक्तिगत वा व्यावसायिक स्वार्थ त जोडिएको छैन ? यी प्रश्नको निष्पक्ष निरूपण आवश्यक छ । आशंकालाई सत्य मान्न मिल्दैन, तर आशंका जन्मिने वातावरणलाई बेवास्ता पनि गर्न हुँदैन ।
शुक्रबारे बजार केही व्यापारीको व्यापार गर्ने ठाउँ मात्रै होइन । यो किसान, उपभोक्ता, साना व्यवसायी र स्थानीय अर्थतन्त्रसँग जोडिएको पुरानो केन्द्र हो । यहाँ वर्षौंदेखि लगानी गरेका व्यवसायीको भविष्य, किसानको बजार पहुँच र उपभोक्ताको सुविधालाई सामान्य रूपमा लिन मिल्दैन । बजार स्थानान्तरणले यी सबै पक्षमा प्रत्यक्ष असर पार्न सक्छ ।
नगरपालिकाले बजार व्यवस्थित र सुविधासम्पन्न बनाउनुपर्छ । तर, विकास र व्यवस्थापनका नाममा स्थापित बजार विस्थापित गर्ने निर्णय गर्नुअघि त्यसको आवश्यकता, औचित्य र प्रभाव स्पष्ट हुनुपर्छ। स्थानीय बासिन्दा, व्यवसायी र जग्गाधनीसँग खुला छलफल नगरी अघि बढाइने निर्णय स्वीकार्य हुन सक्दैन ।

हामी बजार विकासको विपक्षमा छैनौँ, तर अपारदर्शी निर्णय र सम्भावित स्वार्थको पक्षमा पनि छैनौँ । २० वर्षको सम्झौता गरिएको हो भने त्यसको सम्मान हुनुपर्छ । स्थानान्तरण अपरिहार्य हो भने त्यसको कानुनी आधार र सार्वजनिक हित स्पष्ट पारिनुपर्छ । अब उर्लाबारी नगरपालिकाले मौनता तोड्नुपर्छ । बजार सार्ने निर्णय कसले गर्दैछ ? किन गर्दैछ ? सम्झौताको अवस्था के छ ? र यसबाट कसलाई लाभ पुग्छ ? यी प्रश्नको जवाफ सार्वजनिक गर्नुपर्छ । दालमा कालो छ कि पूरै दाल नै कालो छ ? आशंका मेटाउने जिम्मेवारी नगरपालिकाकै हो । शुक्रबारे बजारको भविष्य कुनै व्यक्ति वा समूहको स्वार्थले होइन, कानुनी प्रक्रिया, पारदर्शिता र सार्वजनिक हितले निर्धारण गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय