उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेशको नेतृत्वका लागि सहमहामन्त्री खड्ग फागोले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । पार्टीलाई थप सुदृढ, संगठित र गतिशील बनाउने संकल्पसहित फागो प्रदेशका विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट, छलफल र अन्तरक्रियामा जुट्नुभएको छ ।
प्रदेश सभापतिका आकांक्षीका रूपमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएका फागोले संगठनको वर्तमान अवस्था, कार्यकर्ताको मनोभावना र पार्टीको भावी रणनीतिलाई केन्द्रमा राखेर छलफल अघि बढाउनुभएको छ । उहाँले आफ्नो अभियानलाई व्यक्तिगत पद प्राप्तिको आकांक्षाभन्दा पार्टीको संगठनात्मक रूपान्तरण र नेतृत्वलाई थप जिम्मेवार बनाउने प्रयासका रूपमा प्रस्तुत गर्नुभएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा कांग्रेस नेता तथा कार्यकर्तासँगको सम्बन्ध विस्तार गर्दै फागोले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहनुभएको छ । पार्टीभित्र लामो समयदेखि क्रियाशील नेता, युवा पुस्ता तथा विभिन्न तहका कार्यकर्तासँग संवाद गर्दै उहाँले प्रदेश कांग्रेसलाई नयाँ गति दिने योजनासमेत अघि सार्नुभएको छ । फागोको राजनीतिक यात्रा र संगठनात्मक पृष्ठभूमि हेर्दा उहाँको उम्मेदवारी आकस्मिक देखिँदैन । २०४९ सालदेखि राजनीतिक यात्रामा सक्रिय रहनुभएका उहाँले २०५४ सालमा तरुण दलको वडा नं. २ को अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । पार्टी संगठनका विभिन्न तहमा रहेर काम गर्दै आउनुभएका फागो अहिले नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको सहमहामन्त्री हुनुहुन्छ । मोरङको उर्लाबारी–५ निवासी फागो स्थानीय राजनीति र पार्टी संगठनमा परिचित नाम हुनुहुन्छ । स्थानीय तहमा पार्टीको संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका उहाँले प्रदेश नेतृत्वमा पुगेर आफ्नो अनुभवलाई फराकिलो संगठन निर्माणमा उपयोग गर्ने लक्ष्य राख्नुभएको छ । उहाँ उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुनुहुन्छ ।
फागोले अघि सारेको नेतृत्वको प्रमुख आधार संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टीभित्र अवसरको न्यायोचित वितरण देखिन्छ । निर्वाचनका बेला मात्रै सक्रिय हुने संगठनात्मक संरचनालाई परिवर्तन गरी निरन्तर जनतासँग जोडिएको राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई विकास गर्नुपर्ने उहाँको अभियानको मूल सन्देश छ । पार्टीका तल्लो तहमा रहेर वर्षौँदेखि योगदान पु¥याएका कार्यकर्तालाई नेतृत्वसँग प्रत्यक्ष जोड्ने, उनीहरूको योगदानको उचित मूल्यांकन गर्ने र जिम्मेवारी तथा अवसर प्रदान गर्दा निष्पक्षता कायम गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ । नेतृत्वले कार्यकर्ताको भावना बुझ्नुपर्ने र संगठनमा सबैको योगदानको सम्मान हुनुपर्ने उहाँको धारणा छ । त्यस्तै, युवा पुस्ताको नेतृत्व विकासलाई पनि फागोले आफ्नो अभियानको महत्वपूर्ण एजेन्डा बनाउनुभएको छ। कांग्रेसमा नयाँ पुस्तालाई आकर्षित गर्ने, उनीहरूलाई संगठनमा जिम्मेवारी दिने र पार्टीको निर्णय प्रक्रियामा सहभागी गराउने विषय उहाँका प्राथमिकतामा छन् । युवाको सहभागिता भाषण र नारामा मात्रै सीमित नराखी व्यवहारमै नेतृत्व विकासको अवसर सिर्जना गर्नुपर्ने उहाँको सोच देखिन्छ । पार्टीलाई जनतासँग थप नजिक बनाउने, स्थानीय समस्या र जनजीविकाका सवालमा कांग्रेसलाई अग्रपंक्तिमा उभ्याउने तथा जनताले अनुभूति गर्ने गरी संगठनलाई क्रियाशील बनाउने विषयलाई समेत उहाँले जोड दिनुभएको छ । प्रदेश सभापतिको निर्वाचनमा जिल्लागत संगठन, प्रदेश प्रतिनिधि र कार्यकर्ताको विश्वास निर्णायक हुने भएकाले फागोले आफ्नो अभियानलाई तल्लो तहसम्म पु¥याउनुभएको छ । प्रदेशका विभिन्न जिल्लामा भइरहेको भेटघाट र संवादले उहाँको पक्षमा माहोल निर्माण हुँदै गएको देखिन्छ । उर्लाबारी नगरपालिकाको पूर्वनगरप्रमुख र कांग्रेस कोशी प्रदेशका वर्तमान सहमहामन्त्रीसमेत रहनुभएका फागोको अनुभव, संगठनभित्रको सक्रियता र कार्यकर्तासँगको सम्बन्धलाई उहाँको बलियो पक्षका रूपमा हेरिएको छ । यसपटक कोशी प्रदेश कांग्रेसको नेतृत्व फागोले लिनुपर्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ । प्रदेशका विभिन्न जिल्लामा भइरहेको भेटघाट, कार्यकर्ताको साथ र समर्थन जुटाउने अभियानले खड्ग फागोको पक्षमा माहोल बन्दै गएको देखिन्छ । पछिल्लो राजनीतिक गतिविधि र चुनावी समीकरणलाई हेर्दा कांग्रेस कोशी प्रदेशको सभापति दौडमा फागोको पल्लाभारी देखिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय