उर्लाबारी । विकास आफैँ हुँदैन, त्यसका लागि निरन्तर पहलकदमी, समन्वय र इच्छाशक्ति आवश्यक पर्छ । वर्षौँदेखि ओझेलमा परेको सडकले अहिले कालोपत्रेको स्वरूप पाएपछि स्थानीयवासीमा विकासप्रतिको आशा र उत्साह थपिएको छ ।
लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको आधुनिक च्याउखेती (सयपत्री)–न्यू भिजन हुँदै आम्बाडी जोड्ने सडकखण्ड अहिले कालोपत्रे भएको छ । स्थानीयको आवागमनलाई सहज बनाउने र क्षेत्रको विकासमा नयाँ आयाम थप्ने उद्देश्यसहित अघि बढाइएको सडक कालोपत्रे योजनाले वर्षौँदेखिको प्रतीक्षालाई केही हदसम्म पूरा गरेको छ । यस सडकलाई विकासको प्राथमिकतामा ल्याउन न्यू भिजन एकेडेमीका प्रिन्सिपल अजित भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । लामो समयदेखि आवश्यकताका रूपमा रहेको सडकको अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेदेखि बजेट व्यवस्थापनका लागि पहल गर्नेसम्म उहाँले निरन्तर समन्वय गर्नुभयो । भट्टराईकै समन्वय र सक्रियतामा सांसद निशा डाँगीमार्फत सडक कालोपत्रेका लागि बजेट विनियोजन गराउन पहल भएको थियो । सोही पहलको परिणामस्वरूप करिब ३ करोड रुपैयाँको लागतमा सडक कालोपत्रेको काम भएको छ । विकासका काममा जनप्रतिनिधि, स्थानीय अगुवा र सरोकारवाला व्यक्तिबीचको समन्वय कति महत्वपूर्ण हुन्छ भन्ने उदाहरणका रूपमा यस सडकलाई लिन सकिन्छ । कुनै क्षेत्रको आवश्यकता पहिचान गरेर त्यसलाई सम्बन्धित निकायसम्म पु¥याउने र योजनालाई कार्यान्वयनको चरणसम्म लैजान निरन्तर लागिरहनु पनि विकास निर्माणको महत्वपूर्ण पक्ष हो ।
भट्टराईले सडकको आवश्यकता र स्थानीयले भोग्दै आएको समस्यालाई प्राथमिकतामा राखेर बजेटका लागि समन्वय गर्नुभएको थियो । उहाँको पहलमा सांसद डाँगीले समेत चासो देखाउँदै बजेट व्यवस्थापनका लागि भूमिका निर्वाह गर्नुभयो । फलस्वरूप लामो समयदेखि सामान्य सडकका रूपमा रहेको उक्त खण्डले अहिले कालोपत्रेको स्वरूप पाएको छ । सडक कालोपत्रे भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक, व्यवसायी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी न्यू भिजन एकेडेमीमा अध्ययन गर्न आउने विद्यार्थी र विद्यालयसम्म पुग्ने अभिभावकका लागि सडकको स्तरोन्नतिले आवागमन सहज बनाउनेछ । वर्षायाममा हिलो र अन्य समयमा धुलोको समस्या झेल्नुपर्ने अवस्थासमेत कम हुने विश्वास गरिएको छ । सडक पूर्वाधारको विकासले केवल आवागमनलाई मात्र सहज बनाउँदैन, यसले शिक्षा, व्यापार, कृषि तथा स्थानीय आर्थिक गतिविधिलाई समेत गति दिन्छ । सडक राम्रो भएपछि मानिसको आवतजावत बढ्ने, उत्पादन तथा सेवाको पहुँच विस्तार हुने र बस्तीको विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि, आधुनिक च्याउखेती (सयपत्री)–न्यू भिजन हुँदै आम्बाडी जोड्ने सडकको सम्पूर्ण खण्ड भने अझै कालोपत्रे हुन बाँकी छ । केही भागमा कालोपत्रे हुन नसकेकाले आम्बाडीसम्मको सडकलाई पूर्णता दिन थप बजेट र पहल आवश्यक देखिएको छ ।
अहिले सम्पन्न भएको कामलाई अन्तिम उपलब्धि मानेर रोकिनुभन्दा बाँकी सडकखण्डलाई समेत प्राथमिकतामा राखेर योजनालाई पूर्णता दिनुपर्ने स्थानीयको अपेक्षा छ । तीन करोड रुपैयाँको लगानीमा भएको कालोपत्रेले विकासको ढोका खोले पनि सडकको सम्पूर्ण विस्तार र स्तरोन्नति हुन सके मात्रै यसको वास्तविक लाभ क्षेत्रका बासिन्दाले पाउनेछन् । विकासका लागि ठूलो भाषणभन्दा आवश्यकताको पहिचान, निरन्तरको प्रयास र परिणाममुखी समन्वय महत्वपूर्ण हुन्छ । लामो समय ओझेलमा परेको सडकलाई योजनामा पार्न अजित भट्टराईले गर्नुभएको पहल र सांसद निशा डाँगीको बजेट व्यवस्थापनमा रहेको भूमिकाले त्यसैको सन्देश दिएको छ । विकास आफैँ क्रमशः हुँदै जान्छ भन्ने गरिए पनि त्यसलाई गति दिन कोही न कोही अगाडि सर्नैपर्छ । यस सडकको कालोपत्रेले पनि एउटा कुरा प्रस्ट पारेको छ—आवश्यकताका पक्षमा निरन्तर आवाज उठाउने र सम्बन्धित निकायसँग समन्वय गर्ने हो भने वर्षौँदेखि ओझेलमा परेका विकासका योजनाले पनि मूर्तरूप पाउन सक्छन् । अब बाँकी सडकखण्डको कालोपत्रे गरी आम्बाडीसम्म सहज र पूर्ण सडक पहुँच स्थापित गर्नु अर्को आवश्यकता बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय