उर्लाबारी । मोरङको उर्लाबारीमा सम्पन्न प्रथम उर्लाबारी भेट्रान फुटबल प्रतियोगिताको उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा धरानले युनाइटेड भेट्रान विराटनगरलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो ।

पहिलो हाफको २० औं मिनेटमा धरानका मिलन श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १ गोलले पछि परेको युनाइटेडका लागि दोस्रो हाफको २९ औं मिनेटमा महेन्द्र खवासले गोल गर्दै खेल बराबरी ल्याए । खेलमा युनाइटेड र धरानका खेलाडीहरुले अवसर पाएपनि गोल गर्न नसक्दा निर्धारित समय बराबरीमा टुंगिएको थियो । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिम बराबर भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको छ । सडनडेथमा धरानले युनाइटेडलाई ७ का विरुद्ध ८ गोल गर्दै उपाधि जितेको छ । उपाधिसँगै धरानले नगद ५१ हजार , ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता युनाइटेडले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

खेलको म्यानअफ द म्याच धरानका गोल किपर सुन्दर लिम्बू, बेष्ट गोलकिपर युनाइटेडका विक्रम कार्की, उत्कृष्ट डिफेन्डर धरानका विष्णु सुनुवार, उत्कृष्ट फर्ववाड धरानका डिल्लीराम श्रेष्ठ, मिडफिल्डर धरानकै डम्बर राई र सर्वोत्कृष्ट खेलाडी युनाइटेडका महेन्द्र खवास भए । सर्वाधिक गोलकर्ता उर्लाबारीका डेनी राई र दुधेका विष्णु खरेल भए । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, विशिष्ट अतिथि एन्फा केन्द्रिय सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जिब बुढाथोकी, उर्लाबारी वडा नं. ४ का वडाध्यक्ष कल्याण राई, ५ का वडाध्यक्ष रविन लामा, राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेललगायतले विजेता,उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफी तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो । आयोजक उर्लाबारी भेट्रान क्लबका अध्यक्ष दिपक पोमुको सभापतित्वमा भएको कार्यक्रम सञ्चारकर्मी घनश्याम भण्डारीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय