उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिकास्थित भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमप्रकाश कोइराला जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
अध्यक्षमा कोइरालाको मात्रै उम्मेद्वार परेकाले उहाँ सर्वसम्मत चयन हुनुभएको हो । संघको चुनावी साधारण सभा पुस २ गते हुँदैछ । संघको निर्वाचन कार्यतालिका अनुसार मंलगबार भएको मनोनयन दर्तामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र सह सचिवमा एकल उम्मेदवारी परेको छ ।
कोषाध्यक्षमा भने दुई जनाको उम्मेद्वारी परेको छ । सघको पदाधिकारी अहिलेसम्म निर्विरोध चयन हुने गरेको छ । विगतलाई हेर्दा संघको पदाधिकारी निर्विरोध भएपनि सदस्यहरुमा भने चुनाव हुने गरेको छ ।
मंगलबार भएको मनोनयनमा संघको अध्यक्ष पदमा सुनपकुवा साकोस उर्लाबारीका कोइरालाको मात्र उम्मेदवारी परेको छ । कोईराला हालका बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी बरिष्ठ उपाध्यक्षमा शनिश्चरे साकोस पथरीशनिश्चरेका एकराज निरौलाको मात्र उम्मेदवारी परेको छ । निरौला हालका सञ्चालक समितिका सचिव हुनुहुन्छ । यस्तै महिला उपाध्यक्षमा जनमैत्री साकोस विराटनगरी अध्यक्ष सीतादेवी अधिकारी लामिछानेको एकल उम्मेदवारी परेको छ । उहाँ सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो । संघको सचिवमा पनि एकल उम्मेदवारी परेको छ । सचिवमा समझदारी साकोस उर्लाबारीका जीवन बस्नेतको उम्मेदवारी परेको छ । बस्नेत संघको सञ्चालक समितको कोषाध्यक्ष हुनुहुन्छ ।
कोषाध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेको छ । जागरुक साकोस विराटनगरका सचिव उमेश गुरुङ र हाम्रो साकोस उर्लाबारीका ढक बहादुर थापा (डिबी) को उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।
संघको लेखा समिति संयोजकमा पथरीशनिश्चरेमा रहेको अष्टलक्ष्मि साकोसकी अध्यक्ष राईको एकल उम्मेदवारी परेको छ । संघकी हालकी उपाध्यक्ष वीना राईको मात्र उम्मेदवारी परेको हो । दुई जना सदस्यको लागि भने तीन जनाको उम्मेदवारी परेको छ । लेखा समिति सदस्यमा महालक्ष्मी साकोस बुढीगंगाका खेमराज गौतम, सलकपुर साकोस सुन्दरहरैचाका घनश्याम उपाध्याय ढकाल र जनप्रेमी साकोस बेलबारीका हेमबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ ।
संघको सदस्यमा उम्मेद्वारी दिनेहरुको संख्या बढी छ । संघमा ६ पदाधिकारी र ११ सदस्य गरी १७ जनाको सञ्चालक समिति हुनेछ । १ जना पदेन सदस्य हुनेछ भने तीन जनाको लेखा समिति बन्नेछ । महिला सदस्य र खुल्ला सदस्य गरी ११ जना सञ्चालक समिति सदस्य चयन हुनेछन् । ११ पदका लागि २३ जनाको उम्मेदवारी परेको छ ।























