कानेपोखरी महोत्सवको फायल तस्बीर
उर्लाबारी । मोरङमा मिनी महोत्सवको नाममा जुवाजन्य खेल सञ्चालन गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कानुनले बन्देज लगाएका खेल सञ्चालन गर्न अनुमति नदिएपनि स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा जुवाजन्य खेल सञ्चालन हुने गरेको हो ।
मोरङको उर्लाबारीमा एक महिने मिनी महोत्सव लागिरहेको छ । महोत्सवमा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले जुवाजन्य खेल सञ्चालनमा रोक्नुभयो । लक्की सेभेनलगायतका जुवाजन्य खेल यहाँ सञ्चालन हुन पाएन । केही समयअघि मोरङको कानेपोखरी र लेटाङमा भएको मिनी महोत्सवमा प्रहरीकै संरक्षणमा लक्की सेभेनलगायतका खेल सञ्चालन भएका थिए । उक्त खेल सञ्चालन गर्न सहयोगी भूमिका खेलेवापत प्रहरी प्रशासनले राम्रै रकम बुझ्ने गर्दछ । साथै दैनिक महोत्सवमा खटिने प्रहरीलाई समेत ठेकेदार पक्षले पैसा दिने गरेको जानकार स्रोत बताउँछ । स्थानीय युवाहरु तथा सामाजिक अगुवा पनि केही पैसाको लोभमा जुवाजन्य खेल सञ्चालनका लागि मतियार बन्ने गरेका छन् । राजनीति दलका नेताहरुले पनि महोत्सवमा लक्की सेभेन लगाउने विषयमा ठेकेदारलाई सहयोग गर्ने गरेका छन् ।
यसैक्रममा मोरङको पथरीशनिश्चरेमा पनि २० दिने महोत्सव सञ्चालनको तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय पथरी नजिकै रहेको प्रस्ताविक पथरी रंगशालामा पौष ३ गतेदेखि लाग्ने महोत्सवमा पनि जुवाजन्य खेल सञ्चालन हुन्छ वा हुँदैन त्यो प्रहरी प्रशासनमा भर पर्छ । सुनाखरी युवा क्लवको आयोजना र फुलबारी समाज तथा भुल्के समाजको सह आयोजनामा पुस ३ गतेबाट महोत्सव लगाउने तयारी गरिएको पत्रकारसम्मेलन मार्फत आयोजकले जानकारी गराइसकेको छ । आयोजकले महोत्सवका नाममा हुने जुवाजन्य खेल रोक्नु पर्छ ।
स्थानीय तहले पनि यस्ता खेल रोक्न चासो दिनु पर्ने सरोकारवाला बताउँछन् । जुवाजन्य खेल सञ्चालनकै लागि महोत्सवको नाममा मोरङमा महोत्सव लगाउने होडबाजी छ । प्रहरीले महोत्सव ठेकेदारसँग रकम लिएर जुवाजन्य लक्की सेभेनलगायतका खेलको संरक्षण गर्ने गरेको भन्दै बेला बेलामा स्थानीयले विरोध जनाउँदै आएका छन् । तर, यस बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले गम्भिर रुपमा लिएको छैन । मेला महोत्सवमा नाममा हुने लक्की सेभेनलगायत जुवाजन्य खेल रोक्न प्रहरीको भूमिका प्रभाबकारी बन्नु पर्ने सरोकारवालको जोड छ ।























