उर्लाबारी, उर्लाबारी नगरपालिकाले जनताका समस्यासंग हातेमालो गर्ने र तत्काल समाधान हुने समस्या हल गर्ने हेतुले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम संचालनमा ल्याएको छ । शुक्रबार वडा नम्बर २ का स्थानीयवासीसंग उर्लाबारी नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित नगरसभा सदस्यहरुले समस्याको पहिचान र समाधानको लागि छलफल थालेका छन् । कार्यक्रममा स्थानीयले सडकको स्तरोन्नति, ढल, खानेपानी, सिंचाइ, हात्ती नियन्त्रण र कृषिका कार्यक्रममा प्रभावकारी काम हुन नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए । नगरपालिकाबाट प्रदत्त विकास निर्माणका कामहरुका विषयमापनि स्थानीयका गुनासैगुनासा थिए । उनीहरुले सम्पन्न भएका र निर्माणाधिन योजनाहरुलाई प्रभावकारी रुपमा अनुगमन गर्न आग्रह गरेका थिए । साथै छुटेका योजनाहरुलाई बजेटमा समेट्नपनि आग्रह गरेका थिए । कार्यक्रममा जनगुनासो सुनेपछि नगरप्रमुख गंगाप्रसाद खरेलले धेरै बोलेर भन्दापनि काम गरेर देखाउने भन्दै जनगुनासो सुन्ने गरेको बताउनुभयो ।
उहाँले समस्याको अवस्था हेरी तत्काल समाधान हुने खालका समस्यालाई हल गर्ने र समय लाग्ने खालका समस्याको आगामी नीति कार्यक्रम र बजेटमा लगिने उल्लेख गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले सर्वसाधरण जनता र जनप्रतिनिधिबीचमा सम्बन्ध विकास गर्नका लागि उर्लाबारी नगरपालिकाले यो अभियान अगाडी बढाएको बताउनुभयो । सामाजिक विकृति र विसंगतिको नियन्त्रण गरी सुरक्षित र सभ्य समाजको निर्माणमा लागिपरेको जनाउदै उपप्रमुख पौडेलले भन्नुभयो – ‘स्थानीय तहको भुमिकाका सम्बन्धमा वोध गराउन समेत कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएका छौ ।’ कार्यक्रममा सभापतित्व गर्नुभएका २ नम्बर वडाका वडाध्यक्ष राजनकुमार कडेलले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा र स्वास्थ्यका सवालमा बढी जोड दिएको जानकारी दिनुभयो । सोही अवसरमा सो वडा हात्ती प्रभावित क्षेत्र समेत भएकाले नगरपालिकाले हात्ती धपाउने ५ थान साईरन वडा कार्यालयलाई उपलब्ध गराएको छ ।























