उर्लाबारी । उर्लाबारी फुटबलबाट नाम कमाएको नगर हो । पछिल्लो समय यस क्षेत्रमा फुटबल गतिबिधि सुस्ताएपछि उर्लाबारी युवा क्लबले गोल्डकप गराउने उद्देश्यले मिनी महोत्सवको आयोजना ग¥यो ।
उर्लाबारीबाट रञ्जित धिमाल अहिले पनि राष्ट्रिय टिमबाट खेलिरहनुभएको छ भने सञ्जिब बुढाथोकी, विजय धिमाल, मिक्चेन तामाङलगायतले राष्ट्रिय फुटबल टिमबाट खेलिसक्नुभएको छ । उमेर समूहको राष्ट्रिय टिमबाट निरोज बस्नेत, भूषण लिम्बू र रुपेश तामाङले खेलिसक्नुभएको छ । धेरै उर्लाबारीका खेलाडीहरुले ए, बी र सी डिभिजन लिग खेलिसक्नुभएको छ ।
यसैलाई मध्यनगर गरेर उर्लाबारीको पहिचानका लागि पनि गोल्डकप आवश्यक रहेकाले मिनी महोत्सव आयोजना गरेको आयोजकले जनाएको छ । तर, महोत्सव असफल बनाउन एक समूह हात धोएरै लागेको आयोजकले दाबी गरेको छ । कुनै खेल सञ्चालन नगरी निर्वाध रुपमा महोत्सव सञ्चालन हुँदासमेत तनाब दिने काम गरेको क्लबका पूर्व अध्यक्ष घनश्याम भण्डारीले बताउनुभयो । उहाँले घुमाउरो पाराले उर्लाबारी नगरपालिका नगरप्रमुख गंगाप्रसाद खरेलसहितको समूह नै महोत्सव असफल बनाउन लागेको सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा नगरप्रमुख खरेललाई इकित गर्दै लेख्नु भएको छ–‘संकृण सोच र विगत समयमा मेलामा छत्तिसा खेलाएर हिँड्नेहरुले उर्लाबारी सुधार्ने र समृद्ध उर्लाबारी बनाउने रे ठेक्का लिएर हिँडेको देख्दा अचम्म लागेर आउँछ ।’
नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख खरेलसँगै भण्डारी उर्लाबारी वडा नं. ६ बाट वडाध्यक्षमा सोही पार्टीबाट उम्मेद्वार बन्नुभएको थियो । भण्डारीले उर्लाबारी फुटबल क्लब टिमको ब्यवस्थापक भएर पनि काम गर्नुभएको छ भने क्लबको पूर्व सचिब पनि हुनुहुन्छ ।

त्यस्तै, वाइसिएल नेपाल मोरङका संयोजक राजिब लिम्बूले पनि भागबन्डा नपाएको बहानामा महोत्सव असफल बनाउन केही लागि परेको दाबी गर्नुभएको छ । उहाँले पनि सामाजिक सञ्जालमा नगरप्रमुख खरेललाई नै इकित गर्दै लेख्नुभएको छ –‘चुनाव जितेर आफ्नु कार्यकर्ताहरुलाई पालन पोषण गर्नु खोज्ने जनप्रतिनिधिलाई खबरदार । राजा बन्ने प्रयास नगर्नु होला ।’

उर्लाबारीका सामाजिक ब्यक्ति राजेन्द्र कार्कीले पनि उर्लाबारी महोत्सवलाई प्रोत्साहन गर्नुको साटो गिद्धे नजर लगाउने काम भएको बताउनुभयो । महोत्सवको नाममा नगरप्रमुख खरेल पक्ष र विपक्षमा छेडछाड चलिरहेको छ ।
नगरप्रमुख खरेललाई १० लाखको अफर !
नगरप्रमुख खरेलले आफुलाई महोत्सवमा लक्की सेभेन, हाउजीलगायत जुवाजन्य खेल सञ्चालनमा सहयोगी भूमिका खेल्न १० लाखको अफर आएको सार्वजनिक कार्यक्रममै खुलाशा गर्नुभयो । उहाँले पार्टीको केन्द्रीय तहका नेताहरुबाट पनि जुवाजन्य खेल सञ्चालनका लागि फोन आएको बताउनुभयो ।
नगरप्रमुख खरेलनिकटबाटै अर्को अफर !
नगरप्रमुख खरेलनिकटहरुले सबै टिम मिलाएर हरहिसाब हुने भए लक्की सेभेन, हाउजीलगायत सञ्चालनका लागि सहजीकरण गर्ने अफर आएको आयोजकले दाबी गरेको छ । ‘उर्लाबारीको गौरबका लागि गोल्डकप गर्न खोजिएको हो’ आयोजकका एक सदस्यले भने–‘सबैलाई पैसा बाँडेर खानका लागि महोत्सव गरिएको हैन, भागबन्डा नमिलाई महोत्सब गरेको कुन्ठा पोखिएको हो ।’
‘दशैं–तिहारमा हाउजी नदिएको नगरप्रमुख खरेलले कुण्ठा पोखे’
दशैं–तिहारमा उर्लाबारी क्लबको ब्यानरमा हाउजी खेल सञ्चालन गर्न तयारी थियो । क्लबको नाम भएपनि एमालेनिकटहरु हाउजी खेलाउन अघि सरेका थिए । नगरप्रमुख खरेल हाउजी खेल सञ्चालनको पक्षमा उभिनुभयो । तर, प्रहरी प्रशासनले स्टेज बनाइसकेपछि हाउजीमा सुरक्षा दिन नसक्ने भनेपछि नगरप्रमुख खरेल रिसाउनुभयो । दशैं–तिहारमा हाउजी खेलको पक्षमा उभिनुभएका उहाँ एक्कासी अहिले हाउजी खेलसमेत सञ्चालन नदिने भन्दै प्रचारमा रहेको हाउजी खेल हटाउन लगाउनुभयो । यसबाट पनि नगरप्रमुखले कुण्ठा पोखेको प्रष्ट हुने आयोजकको भनाई छ । यता नगरप्रमुख खरेल भने ५ बर्ष जुवाजन्य लक्की सेभेन र हाउजी खेल सञ्चालन गर्न नदिने बताउँदै आउनुभएको छ ।
कसरी लक्की सेभेनका लागि नगरपालिकाबाटै पत्र तयार भयो ?
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको हस्ताक्षर रहेको सिफारिस पत्रमा लक्की सेभेन, हाउजी खेलाउने सूची छन् । तर, नगरप्रमुख खरेलको भनाई मान्ने हो भने आफुलाई थाहा नै नदिई प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई झुक्याएर आयोजकले पत्रमा हस्ताक्षर गराएको दाबी गर्नुहुन्छ । उर्लाबारीमा महोत्सव सञ्चालन गर्न कसरी नगरप्रमुखलाई जानकारी नगराई प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गर्न सक्छन् ? हेर्नुहोस् यस्तो छ पत्र ।

























