उर्लाबारी । विगत पाँच बर्षदेखि मोरङको उर्लाबारीमा विराटनगर आँखा अस्पतालद्धारा सञ्चालित आँखा उपचार केन्द्रले जनप्रतिनिधिहरुसँग छलफल कार्यक्रम गरेपनि न्यून सहभागिता रह्यो ।
उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेल, ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकी, ४ का वडाध्यक्ष कल्याण राई, ७ की वडाध्यक्ष उर्मिला थापा, ८ का वडाध्यक्ष कुलबहादुर कार्कीसहित केही कार्यपालिका सदस्य र वडा सदस्यको मात्रै उपस्थिति रहेको थियो । आयोजकले हरेक वडाका जनप्रतिनिधिहरुलाई सहभागी गराएर उर्लाबारी आँखा उपचार केन्द्रबाट प्रभावकारी सेवा प्रदानका लागि राय र सुझाव लिन कार्यक्रम आयोजना गरेको उर्लाबारी इन्चार्ज निरज गुरुङले जानकारी दिनुभयो । उहाँले सबैलाई पत्र काटिएको भएपनि सहभागिता न्यून भएको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिकाका अधिकृत मुरारी घिमिरे, उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष तथा प्रवक्ता भीष्मराज बुढाथोकीले उर्लाबारी आँखा उपचार केन्द्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो । सहभागीहरुले आर्थिक रुपले विपन्नहरुको निःशुल्क उपचार गर्ने ब्यवस्था मिलाइदिन आग्रह गरेका थिए । सञ्चारकर्मीलगायतको उपस्थितिमा आँखा उपचार केन्द्रले उर्लाबारी क्षेत्रमा आँखाको उपचारको साथै कोरानाको समयमा राहत वितरणलगायत कार्यक्रम सञ्चालन गरेको जानकारी गराइयो ।























