सिरियल किलरका रूपमा परिचित कुख्यात अपराधी चाल्र्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई छाड्ने आदेश दिएको हो ।
सर्वोच्च अदालतको आदेशमा निज शोभराजले ७५ प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन पनि खराब नदेखिएको भन्दै उनलाई संविधान अनुसार वृद्धको सुविधा दिनुपर्ने उल्लेख छ । आदेशमा अन्य मुद्दाबाट उनलाई थुनामा राख्नु नपर्ने भए तत्काल कारागारबाट रिहा गर्न र १५ दिनभित्र निजको देशमा डिपोर्ट गर्न पनि भनिएको छ ।
दुई विदेशी पर्यटकको हत्याको अभियोगमा शोभराजलाई २०६० असोज १ गतेदेखि थुनामा राखिएको थियो । भक्तपुर जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तोकिएको कैद सजाय अनुसार उनी २०८० असोज १ गतेसम्म जेलमा रहनुपर्ने थियो ।
सकुन्तला विश्वासले भनिन् ढिलै भए पनि शोभराजले न्याय पाए, खुशी छु
कानून व्यवसायी शकुन्तला विश्वासले विकिनी किलरका रुपमा कुख्यात चाल्र्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेशले आफूलाई खुशी बनाएको बताएकी छन् ।
विश्वासले आफूहरुले लामो समयदेखि लडिरहेको लडाइँ सफल भएको बताइन् । ‘यो आदेशका लागि हामीले लामो समयदेखि लडाइँ गरिरहेका थियौं, अहिलेसम्म सबै नेपालीलाई विना भेदभाव छाडिरहेको थियो’, उनले भनिन्, ‘तर, उहाँलाई छाडेको थिएन । अन्याय भइरहेको थियो ।’
ढिलै भए पनि अदालतले चाल्र्सको पक्षमा आदेश दिएको बताउँदै विश्वासले खुशी व्यक्त गरिन् । शोभराजले उनकी छोरी निहितासँग कारागारमै विवाह गरेकी थिइन् ।
को हुन् ‘सिरियल किलर’ चाल्र्स शोभराज ?
चाल्र्स शोभराज कुख्यात अन्तर्राष्ट्रिय अपराधी हुन् । उनीमाथि विश्वका विभिन्न देशमा हत्या र लागूऔषध तस्करीको अभियोग छ ।
हाल भियतनाममा रहेको र तत्कालीन फ्रान्सको साइगोनमा ६ अप्रिल सन् १९४४ मा शोभराज जन्मिएका हुन् । उनका पिता भारतीय मूलका र आमा भियतनामी हुन् । तर, पिताले उनलाई स्वीकारेनन् । त्यसपछि उनकी आमाले फ्रान्सका सैनिक अधिकृतसँग विवाह गरिन् । शोभराज उनीहरुसँगै हुर्किए । पछि आमा र उनका नयाँ पतिबाट बेवास्तामा परे । उनी विस्तारै अपराध कार्यमा लागे ।
शोभराज किशोरावस्थाबाट नै चोरी र लुटपाटमा संलग्न भएका थिए । सन् १९६३ मा पेरिसमा चोरीको अभियोगमा पक्राऊ परे । जेलमा उनको ठूला अपराधीसँग भेट भयो । त्यसपछि उनी पेरिसको संभ्रान्त देखि अन्डरवल्डसम्मको संगतमा परे ।
उनी विवाह तय गरेर एउटा अपराध कार्यमा पक्राउ परे । कार चोरीको अभियोगमा पक्राउ परेका उनी आठ महिना जेल बसेर छुटे । त्यसपछि विवाह गरे । पत्नी गर्भवती थिइन् । उनी भने अपराधको दुनियाँमा व्यस्त रहे । तर, विभिन्न अपराधमा खोजीको सूचीमा परेपछि नक्कली कागजपत्रसहित एशियातर्फ भागे । उनी पर्यटकहरुलाई लुट्थे । कतिपय घटनामा हत्या पनि गर्थे ।
शोभराज जुवाडे थिए । जुवा खेल्नका लागि पनि उनी ठूला अपराध गर्न थाले । उनी भारत, अफगानिस्तान, ग्रीसलगायतका देशमा चोरी र डकैतीको अभियोगमा पक्राउ परे । तर, हिरासत र जेलबाटै फरार भए । उनी अपराध गर्दा हत्या गरेका वा लुटिएकाको पासपोर्ट दुरुपयोग गर्थे ।
शोभराज ७८ वर्ष कटिसकेका छन् । उनले आफू जेष्ठ नागरिक भएकाले रिहाईको लागि सर्वोच्च अदालतमा रिहाईका लागि निवेदन दिएका हुन् ।
शोभराजले २० भन्दा बढी पर्यटकको हत्या गरेको उल्लेख छ । थाइल्यान्डमा मात्र १४ जनाको हत्या गरेका छन् । उनी भारतमा सन् १९७६ देखि १९९७ सम्म २१ वर्ष जेल परेका थिए । भारतको चर्चित तिहाड जेलमा बस्दा उनले जेल प्रशासनलाई घूस दिएर विलासी जीवन बिताएको चर्चा पनि चल्यो । उनी सन् २००३ मा नेपाल आउँदा पक्राऊ परेका थिए । नेपालमा १८ वर्ष जेलजीवन बिताइसकेका शोभराज वृद्धावस्थामा छन् ।
शोभराजका बारेमा उपन्यास लेखिएका छन् । चलचित्र, नाटक देखि वृत्तचित्रहरु बनेका छन् । भारतमा मे और चाल्स चलचित्र बनेको छ ।
नेपालमा ८ पौष २०३२ सालमा मनहरा खोलानजिकै कोन्नी जो ब्रोन्जीचको हत्या गरेको पुष्टि भएको थियो । धारिलो हतियार प्रहार गरी हत्यापछि लासलाई नचिनिने गरी जलाई फालेका थिए । काठमाडौंमा बस्दा शोभराज हेनरिकस विन्टाँजा नामले बसेका थिए । घटनामा अजय चौधरी नामका भारतीय नागरिक समेत संलग्न देखिएकाले उनको सुपुर्दगीको प्रयास भएको थियो ।
लरेन्ट आरमण्डलाई पनि शोभराजले हत्या गरेको पुष्टि भएको थियो । उनीहरुले विभिन्न देशमा हत्या गरेको बयानबारे भारतीय मिडियाले समेत लेखेको थियो । शोभराजलाई जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको तीन दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । २० साउन २०६२ मा पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरेको थियो । १४ साउन २०६७ मा सर्वोच्च अदालतले शोभराजको मुद्दामा विगतका फैसलाहरुलाई नै सदर गर्ने फैसला सुनाएको थियो ।























