उर्लाबारी । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबारबाट नयाँ सत्ता समिकरण बनेपछि प्रदेश १ को अंकगणित फेरिएको छ । अंकगणित फेरिएको अवस्थामा सरकारको नेतृत्वका लागि माओवादीले दाबी गरेको हो । पहिलो दल नेकपा एमालेको पनि सशक्त दाबी छ ।
९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्र तेस्रो दल हो । एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व दाबी गरेको हो । नेपाली कांग्रेससहितको गठबन्धनमा पनि नेतृत्वका लागि माओवादीले दाबी गरेको थियो ।
नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्वमा सशक्त दाबी गरेको नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले बताउनुभयो । ‘केन्द्रमा सात वटै प्रदेशका सबै पदाधिकारीहरुको बाडफाडको सन्दर्भमा छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयोे,‘ अघिल्लो चरणमा पनि माओवादी नेतृत्वमा प्रदेश १ मा सरकार नबनेका कारण यो पटक माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्छ भन्ने हाम्रो सशक्त दाबी छ ।’ पार्टीले केन्द्रमा पनि आफ्नो दाबी प्रस्तुत गरेको बताउँदै उहाँले प्रदेशमा पनि दाबी पेश गर्ने बताउनुभयो । ‘सबैभन्दा ठूलो दलको रुपमा रहेको एमालेको दाबीलाई म स्वभाविक रुपमा लिन्छु,’ आङ्बोले भन्नुभयोे,‘ मुख्य कुरा केन्द्रको निर्णय हो,केन्द्रबाट हुने निर्णयलाई सबैले स्वीकाछौं, माथिबाट बाँडफाँड भएपछि कसैले नछोड्ने भनेर हुन्न ।’
नेकपा एमालेबाट दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीको प्रमुख दाबेदार हुनुहुन्छ । आइतबार भएको एमाले संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको थियो । उहाँ आफू मुख्यमन्त्री बन्नेमा ढुक्क हुनुहुन्छ । निर्वाचनमा सहकार्य गरेको एमाले, राप्रपा र जसपाको बहुमत रहेको बताउँदै उहाँले नयाँ समिकरणले गठबन्धनमा ६० मत पुगेको बताउनुभयो ।
‘हामी एमाले राप्रपा र जसपा एक ठाउ निर्वाचन लडेर तीन दलको बहुमत सिट हासिल गरेका छौं, त्यो यहाँ एजिटिज छ, राष्ट्रिय राजनीतिमा पनि रहयो,’ उहाँले भन्नुभयो,‘केन्द्रीय सत्ताको बाडफाडमा अन्यथा नभए यहाँ (प्रदेश–१) एमाले नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’ ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ । प्रदेश १ मा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेश सांसद छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय