विराटनगर । सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसले प्रदेश १ मा निर्वाचन गरेर प्रदेश १ संसदीय दलको नेता छान्ने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि पुस १५ गते शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको प्रदेश सह–महामन्त्री खड्ग फागोले जानकारी दिनुभयो ।
कांग्रेस संसदीय दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र हिमाल कार्की दलको नेताको आकाक्षी हुनुहुन्छ । सोमबार भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको सह–महामन्त्री फागोले बताउनुभयो । निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।
समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । संयोजक रायमाझीका अनुसार संसदीय दलको नेताले मनोनयन दर्ताका लागि २५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार विहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ । प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय