मोरङ,नेपाली काँग्रेसको प्रदेश १ संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरूमा उद्धव थापा, अमृत अर्याल र केदार कार्की रहेका छन् । नेपाली काँग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा निर्वाचन कार्यक्रम राखिएको छ । दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् ।

कार्कीको रामकुमार खत्री प्रस्तावक र शम्शेर राई समर्थक रहेका छन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनिताकुमारी चौधरी समर्थक रहेका छन् । यस्तै थापाको प्रस्तावकमा भूपेन्द्र राई र समर्थकमा भीम पराजुली रहेका छन् ।
काँग्रेसले आज दिउँसो १२ः ३० बजेदेखि १ः ३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान गरेको थियो ।

आजै दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै हुनेछ । अपरान्ह ४ :०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै भोलि बिहान ९ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

उम्मेदवारी दिने थापा र अर्याल संस्थापन पक्षका हुन् । संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैको उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाटै दुईजना दाबेदार अघि सरेपछि संस्थापन पक्ष तनावमा छ । नेता सिटौला निकट रहेका प्रदेश १ का पार्टी सभापति थापा र केन्द्रीय सदस्यसमेत अमृत अर्याल देउवा निकट हुन् ।

यसअघि कोइराला निवासमा सहमति गराउने प्रयास स्वरुप भएको छलफलमा कुनै सहमति हुन सकेन । कांग्रेस नेता डा.शेखर कोइरालाले उनीहरूलाई सहमत गराउन पहल गरेका थिए । ९३ सदस्सीय प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन् । कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ ।

youtube.com/watch?v=TovS0sTB5Q8&t=605s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय