उर्लाबारी । विकासका योजनामा जनप्रतिनिधि र कर्मचारीले कमिसन लिने गरेको सार्वजनिक कार्यक्रममा बोल्दै हिँड्ने उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल सञ्चारमाध्यमले अतिरन्जित गरेको भन्दै पञ्छिनु भएको छ ।
सोमबार राति नगरप्रमुखको सचिवालय उर्लाबारीमार्फत खरेलले आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो । ‘उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले जनप्रतिनिधि र कर्मचारी कमिसनखोरी भएको आरोप लगाए भनेर त्यसलाई सनसनिखेज र अतिरञ्जना गर्ने काम एकाथरीबाट भइरहेको छ’ सचिवालयमा भनिएको छ ।
‘तीन साताअघि एउटा कार्यक्रममा नगर प्रमुखज्युले प्रसंगवस प्रवृतिका कुरा उठान गर्नुभएको हो । कसैलाई नामै तोकेर लाञ्छित गरेको अवस्था होइन । फेरि नगर मातहतका कर्मचारी वा जनप्रतिनिधि कसैलेपनि उल्लेखित विषयमा कुनै धारणा व्यक्त नगरेको हुँदा यस कुरालाई अतिरन्जित नबनाउनु हुन सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।’ सचिवालयमा पोष्ट गरिएको छ ।























