उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित निर्माणाधिन उर्लाबारी बसपार्कको नाममा रहेको जग्गामा ‘गिद्धेनजर’ परेको छ ।
मावा खोलाधार क्षेत्रमा रहेको उक्त बसपार्क क्षेत्रको जग्गाको मूल्य बढेपछि जग्गादाताहरुले नै ‘गिद्धेनजर’ परेको पाइएको हो । बसपार्कका लागि दाताहरुले निःशुल्क १ विगाहा १३ कट्ठा जग्गा उर्लाबारी नगरपालिकाको नाममा पास गरिदिएका छन् । २०७१ सालदेखि बसपार्क निर्माण कार्य सुरु भएको थियो । सहरी बिकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन डिभिजन विभागले सुरु गरेको निर्माणाधिन उक्त बसपार्क अझै पूरा भइसकेको छैन ।
आ.व.२०७६ ।०७७ मा छुट्याईएको ५० लाख बजेटबाट कम्पाउण्ड घेराबारा, यात्रु प्रतिक्षालय बनाईएको थियो । आ.व. २०७४ । ०७५ मा २ करोड ६५ लाख रुपैया“ले जमीन पुराइ, ढुङ्गाको घेरावारा, शौचालय निर्माण, पूर्वपश्चिम राजमार्गदेखि निर्माणाधीन वस पार्कसम्म जाने ४ सय मिटर सडक कालोपत्रे गर्ने काम भएका थिए । त्यो भन्दा अघि ४० लाख बजेट खर्च भइसकेको थियो ।
राज्यको करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिरहेको बसपार्क क्षेत्रभित्र पर्ने जग्गाको संरक्षणका लागि गरिएको पक्कीवाल स्वम् जग्गादाताले भत्काइदिएका छन् । गत स्थानीय तहको निर्वाचन ताका नै जग्गादाता बालकृष्ण कार्कीले बसपार्कको वाल भत्काइदिनुभएको छ ।
उहाँले आफ्नो जग्गावालले छेकेको कारण दबाब दिने उद्देश्यले भत्काइदिएको स्वीकार गर्नुभयो । वाल निर्माणकै क्रममा आफुहरुले जानकारी गराएको उहाँले दाबी गर्नुभयो ।
स्थानीयको प्रश्नः ‘प्लटिङ गर्न वसपार्कको वाल भत्काउन पाइन्छ ?’
उर्लाबारी बसपार्कको पक्कीवाल भत्काएर प्लटिङ गर्न खोजेको भन्दै स्थानीय किशोकुमार श्रेष्ठले राज्यको सम्पत्तिमाथी ब्यक्तिले धावा बोलिरहँदा स्थानीय सरकार मुकदर्शक बन्नु लाजमर्दो भएको बताउनुहुन्छ । तत्काल बसपार्कको वाल भत्काउनेलाई क्षतिपूर्ति भराएर पुर्ननिर्माण गर्न उहाँले नगरपालिकासँग माग गर्नुभएको छ ।

राज्यको सम्पत्ति दोहन गर्न कसैलाई छुट नभएको भन्दै उहाँले स्थानीय सरकार लाचार बन्न नहुने बताउनुभयो ।
त्यस्तै, स्थानीय बलराम बोहोराले पनि बसपार्कको वाल भत्काउने कार्य खेदजनक भएको बताउनुभयो । उहाँले उर्लाबारी नगरपालिकालाई दिइसकेको जग्गामा निर्माण भएको पक्कीवाल भत्काउने कार्य निन्दनीय रहेको बताउनुभयो ।

पक्कीवाल भत्काउँदासमेत स्थानीय सरकारले कुनै चासो नदिनु लाजमर्दो भएको उहाँको भनाई छ । कसैको जग्गा बेच्नका लागि बसपार्कको वाल भत्काउन नहुने उहाँको तर्क छ ।
बसपार्कमा टहरा
निर्माणाधिन उर्लाबारी बसपार्कमा अहिले धमाधम टहरा निर्माण हुन थालेको छ । उर्लाबारी नगरपालिकाले बसपार्क क्षेत्रमा शुक्रबारे हटिया लगाउँदै आएको छ । सोही हटियाका लागि ब्यापारीहरुले धमाधम टहरा बनाइरहेका छन् ।

बसपार्क निर्माणलाई पूर्णता दिने भन्दा पनि शुक्रबारे हटिया सोही क्षेत्रमा नगरपालिकाले स्थान्तरण गर्न खोजिरहेको छ । त्यसैकारण पनि उर्लाबारी नगरपालिकाले मावा खोलाबाट बालुवा निकालेर ब्यक्तिको जग्गा पुर्ने कार्यमा सहयोग गरेको पाइएको छ । दमक नगरपालिका र उर्लाबारी नगरपालिकाले संयुक्त ठेक्का लगाउँदै आएको मावा खोलामा दमक नगरपालिकाले कर संकलन गरी बाँडबाँड गर्ने गरेको छ । अबैध तरिकाले ट्याक्टर पसेपछि दमक नगरपालिकाले रोकेको छ । डेढ बर्षसम्म बजारका लागि जग्गा दिने सर्तमा ब्यक्तिको जग्गा पुर्न नगरपालिकाले सहजीकरण गरेको भएपनि दमक नगरपालिकाले रोकेको उर्लाबारी वडा नं. ६ का सदस्य बमबहादुर श्रेष्ठले बताउनुभयो ।
आफ्नै छोडेर भाडाको जग्गामा बजार सार्न किन खोजिँदैछ ?
उर्लाबारी–५ र ६ मा शुक्रबारे बजार लाग्दै आएको थियो । उर्लाबारी–मधुमल्ला सडक कालोपत्रे हुन थालेपछि केही हप्ताका लागि बजार सारिएको थियो । बजार सारिएपछि सोही ठाउँमा जग्गा दिन दाता तयार भए । तर, नगरपालिकाले पनि सोही क्षेत्रमा बजार सार्न खोजेको सुईको जग्गाधनीले पाएपछि अहिले निःशुल्क जग्गा दिन कोही तयार भएका छैनन् ।

उर्लाबारी–५ र ६ मा रहेको बजारको जग्गा अतिक्रमण भइरहेको छ । बजारको जग्गा नगरपालिकाले यकिन गरेको छैन । आफ्नो मातहतमा रहेको जग्गा छोडेर लिजमा जग्गा खोज्न नगरपालिका किन अग्रसर बनिरहेको छ भन्ने प्रश्न खडा भएको छ । ‘अहिले बजार ठिकठाक चलिरहेकै छ, बर्खामा पानीमाथी बजार लगाउने हो’ –स्थानीय प्रश्न गदर्छन् ।























