उर्लाबारी । कांग्रेसले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर लोकतान्त्रिक प्रणालीमा प्रतिपक्ष विहीन संसद बनाएको प्रदेश १ का मन्त्री भक्ति सिटौलाले बताउनुभयो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उर्लाबारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले सो कुरा बताउनुभएको हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वीरताको कारण आज नेपालीहरुको अस्तित्व रहेको उहाँको भनाई छ । टुक्रा टुक्रा राज्यमा विभाजित देशलाई एकीकरण गरेर पृथ्वीनारायण शाह राजा भएको इतिहास साक्षी रहेको र राजाहरुका पनि राजा भएकाले पृथ्वीनारायणलाई वडामहाराजधिराज मानिएको उहाँले बताउनुभयो । मन्त्री सिटौलाले गिरिजाप्रसाद कोइरालाले २०६३ सालमा पृथ्वी जयन्ती तथा एकता दिवस नमनाउने निर्णय क्याबिनेटबाट गराएको बताउनुभयो । उहाँले भन्नुभयो,२०६३ सालमा मेरो आदरणीय नेता, जसको पाईला टेकेर सबैभन्दा बढी हिँडे, गिरिजाप्रसाद कोइराला, जसले क्याबिनेटबाट निर्णय गराएर पृथ्वी जयन्ती तथा एकता दिवस नमनाउने निर्णय गर्नुभयो । ईतिहासले उहाँलाई कति मूल्यांकन गर्छ तर उहाँको त्यो कदम गल्ती थियो । नेपालीहरुलाई एक ठाउमा जोड्ने पृथ्वीनारायणलाई अपमान गर्नु मेरो नेताको गल्ति थियो ।
मन्त्री सिटौलाले कांग्रेसभित्र विपीको चिन्तन हराएपछि कांग्रेस छोडेर राप्रपा प्रवेश गरेको बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले पृथ्वीनारायण शाहको इतिहास भुल्ल नहुने बताउनुभयो । ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको छ । जसमा १५ जना महिला र ५३ जना पुरुषले रक्तदान गरेका छन् । राप्रपा नगर अध्यक्ष देवी प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाको प्राविधिक सहयोगमा रहेको प्रदेश सदस्य पुर्ण वाइवाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय