विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन ।
केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । माओवादीभित्र को मन्त्री बन्ने भन्नेमा रस्साकस्सी चलिरहेको बेला पदाधिकारी बैठक सुरु भएको हो ।
पार्टीभित्र खासगरी अध्यक्ष प्रचण्डका ज्वाईसमेत रहेका केन्द्रीय जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने भन्ने चर्को विवाद छ । प्रचण्डले उनलाई मन्त्री बनाउन निर्देशन दिएपछि नेताहरु नै तनाबमा छन् । माओवादी आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका नेताहरुलाई पन्छाएर आचार्यलाई मन्त्री बनाउन नहुने मत अधिकांश पदाधिकारीको छ ।
नेतृत्वको निर्देशन रहेकोले मन्त्री बनाउनुको विकल्प नरहेको पार्टीका प्रदेश इञ्चार्ज राम कार्कीको मत रहेको नेताहरु बताउँछन् । अहिले कार्कीकै उपस्थितिमा बैठक बसिरहेको छ । बैठकमा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाई, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङसहित प्रदेश कमिटिका पदाधिकारी सहभागी छन् । पार्टीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने मन्त्रालय भागबण्डाको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलमा रहेका छन् ।
माओवादीमा मन्त्रीको आकांक्षा राख्नेमा केन्द्रीय सदस्यहरु दुर्गा चापागाईं, राजेन्द्रकुमार कार्की, गिता तिम्सिना, जीवन आचार्य, कज्र्याङ शेर्पा, पार्टीको प्रदेश कमिटि सदस्य गणेश उप्रेती, सांसद नारायण बुर्जालगायत छन् । प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेकोले माओवादीले २ देखि ३ वटा मात्र मन्त्रालय पाउने संभावना छ ।























