उर्लाबारी, मोरङका २१ वटै क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मोरङ जिल्लामा गरिएको अनुगमनको क्रममा जिल्लामा सञ्चालित अधिकांश खोला र जङ्गल क्षेत्र तथा आसपासमा क्रसर उद्योगहरू मापदण्ड विपरीत रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको छ । यस क्रममा तीनवटा क्रसर उद्योगलाई थप जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
मापदण्डविपरीत सञ्चालित उर्लाबारीमा रहेको पञ्चेश्वर क्रसर उद्योगले अनुगमन टोलीलाई आवश्यक कागजपत्र र प्रमाणपत्र नदेखाएपछि २० हजार जरिवाना गरी बन्द गर्न निर्देशन दिएको छ ।
ग्रामथान गाउँपालिकामा रहेको विराट कङ्क्रिट उद्योग प्रालिलाई बन्द गरी १० हजार रुपियाँ जरिवाना गर्न निर्देशन दिएको छ । उक्त उद्योगले दर्ता नवीकरण नगरेको र खरिद बिक्री खाता अद्यावधि नगरेको मोरङका जिल्ला समन्वय अधिकारी हरिप्रसाद भट्टराईले जानकारी दिए ।
मोरङको बेलबारी सुन्दरहरैँचा, उर्लाबारी, केराबारी, ग्रामथान र मिक्लाजुङमा २१ वटा क्रसर उद्योग छन् । ती सबै उद्योगले प्रक्रिया पूरा नगरेकाले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न निर्देशन दिएको जिल्ला समन्वय अधिकारी हरिप्रसाद भट्टराईको भनाइ छ ।
मापदण्डविपरीतका क्रसर उद्योगहरूलाई तत्काल बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि सुरक्षा निकायलगायतको संयुक्त टोलीले यी उद्योगको पुस २४ देखि २७ गतेसम्म अनुगमन गरेको छ ।
अनुगमन गर्ने क्रममा टोलीले मापदण्डविपरीत र कानुनविपरीत सञ्चालित २१ क्रसरलाई कारबाही गर्ने निष्कर्ष निकालेको थियो ।























