उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले जग्गा कित्ताकाट सुरु गरेको छ ।
शुक्रबार उर्लाबारी नगरपालिकामा पत्रकार सम्मेलन गरी कित्ताकाट सुरु भएको जनाएको हो । नापी कार्यालयसँग समन्वय गरेर कित्ताकाट गर्ने कार्य सुरु भएको उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले बताउनुभयो । उहाँले उर्लाबारी नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेसँगै अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्न सक्ने जानकारी दिनुभयो । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय र नापी कार्यालय बेलबारीलाई पत्राचार गरिसकेको उहाँले बताउनुभयो । जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन् भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । उर्लाबारी नगरपालिकाले पारित गरेको कार्यविधिमा जग्गालाई व्यावसायिक, आवासीय, औधोगिक, कृषियोग्य भूमि क्षेत्रसहितका विभिन्न क्षेत्र वर्गीकरण गरिएको उल्लेख छ ।
जिल्लामै पहिलोपटक उर्लाबारी नगरपालिकाले भू–उपयोग क्षेत्र निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ । फरक क्षेत्रको फरक कर निर्धारण गरिएको र त्यसलाई आगामी आर्थिक वर्ष २०८० । ०८१ देखि लागू गरिने नगर प्रमुख गंगा खरेलले बताउनुभयो ।
निर्धारित व्यावसायिक क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि उत्तरदक्षिण एक सय मिटर, वडा नं.४ आइतबारे बजारदेखि पाँच सय मिटर, मधुमल्ला–राजघाट सडकको दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको दायाँ वायाँ ५० मिटर, मंगलबारे बजारको एक किलोमिटर, उर्लाबारी बजारको एक किलोमिटर, वडा नं.८ र ९ को दुर्गापुरी बजारको दुई सय ५० मिटर तथा आमबारी र अठियाबारी बजारको एक सय ५० मिटर सेरोफेरो रहेको नगरप्रमुख खरेलले जानकारी दिनुभयो ।
त्यसैगरी निर्धारित आवासीय क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गको व्यावसायिक पछि उत्तर दक्षिण एक सय ५० मिटर, मधुमल्ला–राजघाट सडकको व्यावसायिक पछि दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको व्यावसायिक पछि दायाँ वायाँ ५० मिटर, ‘ख’ वर्गको सडकको दायाँ वायाँ ७५ मिटर र अन्य सडकको दायाँ वायाँ २५ मिटरभित्रको भू–भाग रहेको छ । त्यस्तै निर्धारित औधोगिक क्षेत्रअन्तर्गत वक्राह र मावा नदी किनार तथा बाँकी रहेका सम्पूर्ण क्षेत्र कृषिका लागि उपयोग गरिने उहाँको भनाई छ ।























