उर्लाबारी । मोरङको उर्लाबारी–५ का ३६ बर्षीय नविन विश्वकर्मा भिजिट भिषामा दुबई जानुभयो । रोजगारीको शिलशिलामा उहाँको मृत्यु भयो ।
अवैधानिक तरिकाले दुबईमा काम गरिरहनुभएका विश्वकर्माको मृत्युपछि शब कसरी ल्याउने भन्ने पिरलो परिवारमा थियो ।

अवैधानिक कामदार भएका कारण उहाँको शव अलपत्र पर्ने स्थिति बन्यो । त्यहीक्रममा उर्लाबारी–६ का युवा बलराम बोहोराले शव अलपत्र परेको खबर थाहा पाएपछि शव ल्याउने प्रक्रिया मिलाउन पहल गर्नुभयो । बोहोराले आफ्ना भाई मुकुन्द्र बोहोरा जो दुबईमा रहेर इसानको अध्यक्ष र एनआरएन युएईको सचिबसँग समन्वय गरी विश्वकर्माको शव ल्याउन सफल बन्नुभयो ।
बोहोराले यसअघि रतुवामाई–८ का चित्रबहादुर नेपालीको पनि शव नेपाल ल्याउन पहल गर्नुभएको थियो । अवैधानिक तरिकाले काम गर्दै आउनु भएका नेपालीको मृत्यु भएपनि अलपत्र परेको शब बोहोराको पहलमा नेपाल ल्याइएको थियो । दुबईमा कोही समस्या पर्दा होस् वा अवैधानिक तरिकाले काम गर्ने क्रममा मृत्यु भएका शव ल्याउन बोहोराले केही समयदेखि पहल गरिरहनुभएको छ । दुबईमा समस्या परे आफुले सकेसम्म पहल गर्दै आएको र आगामी दिनमा पनि निरन्तर रुपमा लागि पर्ने उहाँको भनाई छ । बोहोरा उर्लाबारी क्षेत्रका विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक काम गर्दै आउनुभएको छ ।























