उर्लाबारी । नगर शिक्षा ऐन र संघीय ऐन बाँझिएको भन्दै उर्लाबारीका राजनीतिक दलहरुले विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया रोक्न माग गरेका छन् ।
उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै उर्लाबारीका राजनीतिक दलहरुले सो माग गरेका हुन् । उर्लाबारी नगर कार्यपालिकाले नगर शिक्षा ऐन २०७९ को खण्ड ५ को दफा ६३ को उपदफा २ को बुँदा ग र उपदफा ४ मा गरेको ब्यवस्था परस्परमा बाँझिएको पाइएको हुनाले चलिरहेको ब्यवस्थापन समितिको निर्माण प्रकृयालाई रोकी संघीय ऐन अनुसार नगर शिक्षा ऐन संसोधन गरी विद्यालय ब्यवस्थापन समिति गठन अघि बढाउन माग गरिएको नेपाली कांग्रेस उर्लाबारी नगर कार्यवहाक सभापति राजन रायमाझीले बताउनुभयो । नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा र नेकपा एकीकृत समाजवादीका नगरअध्यक्षहरुले नगरप्रमुख खरेललाई ध्यानाकर्षण गराएका छन् । यसअघि नेपाली कांग्रेसबाट निर्वाचित कार्यपालिका सदस्यहरुले त्यसको विरोध जनाएपनि एमालेको बहुमत भएका कारण सो नगर शिक्षा ऐन पास गरिएको थियो ।























