उर्लाबारी । मोरङको उर्लाबारीमा यही माघ २१ देखी २९ गतेसम्म संचालन हुने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ सफल पार्न उर्लाबारीका राजनीतिक दल एकमत भएका छन् ।
नेपाली कांग्रेस उर्लाबारीका कार्यवहाक सभापति राजन रायमाझी, नेकपा एमाले उर्लाबारी नगरअध्यक्ष गंगाप्रसाद बास्तोला, नेकपा माओवादी केन्द्र उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगाल, राप्रपा उर्लाबारी नगर कार्यवहाक अध्यक्ष निरुपा खड्का, जसपा उर्लाबारी नगरअध्यक्ष मातृका धिमाल र नेकपा एकीकृत समाजवादी उर्लाबारी नगरअध्यक्ष डिबी थापाले प्रादेशिक महोत्सवमा एक्यबद्धता जाहेर गर्नुभएको हो । देशमा उद्योग, ब्यवसाय संकटमा परिरहेको बेलामा ब्यापार, पर्यटन, कृषिको प्रबद्र्धन र विस्तारका लागि आयोजना गरिएको महोत्सव भब्य रुपमा सम्पन्न गराउने उर्लाबारीमा क्रियाशिल राजनीतिक दल एकजुट भएर लाग्ने एमाले उर्लाबारी अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
मुख्य आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा नेपालसहित छिमेकी देश भारत, बंगलादेश र पाकिस्तानका १७० वटा स्टल रहने छन् । ९ दिनसम्म संचालन हुने प्रदेशस्तरीय महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने र २५ करोड बढीको कारोबार हुने लक्ष्य राखिएको छ । उर्लाबारी– ४ नगरपालिका कार्यालय पुर्वपट्टि संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको सह–संयोजक प्रितम खड्गीले जानकारी दिनुभयो ।























