उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूले मुलुक र जनताको समृद्धिका लागि गुणस्तरीय शिक्षाको अपरिहार्य रहेकोमा बताउनुभयो ।
उर्लाबारी–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको २२ औं क्याम्पस सभा तथा ३५ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । गुणस्तरीय शिक्षाका लागि शैक्षिक तथा भौतिक पूर्वाधारसहित अध्ययन अध्यापनका लागि उपयुक्त परिवेश निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।
शिक्षाको अवसरबाट वञ्चित रहेका विद्यार्थीहरूलाई विद्यालयको पहुँचमा पु¥याउँदै उनीहरूलाई प्राविधिक ज्ञान दिएर स्वरोजगार हुन सक्ने अवस्था निर्माण गर्नु आवश्यक रहेको उहाँले औलाउनुभयो ।
त्यस्तै, प्रदेश नं. १ की प्रदेश सभा सदस्य विद्या चाम्लिङले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उर्लाबारी बहुमुखी क्याम्पसको चौतर्फी विकासमा आफुले सकेको भूमिका खेल्ने उहाँले प्रतिवद्धता जाहेर गर्नुभयो ।
त्यस्तै, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले कुनैपनि संस्थाको लागि बजेट विनियोजन गरेर मात्रै नहुने भन्दै त्यसको सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको समय ज्ञान, विज्ञान र प्रविधिको युग भएकाले समय सापक्ष दक्ष जनशक्ति उत्पादन गर्नका लागि उर्लाबारी बहुमुखी क्याम्पसले महत्वपुर्ण भुमिका खेलिरहेको उल्लेख गर्नुभयो ।
यस्तै उपमेयर मीना खतिवडा पौडेलले उच्च शिक्षामा पुर्याएको योगदान अतुलनीय रहेको जनाउँदै नगरभित्रका विद्यालाय तथा क्याम्पसको शैक्षिक तथा भौतिक सुधार गर्न आफुहरु प्रयत्नशील रहेको बताउनुभयो ।
क्याम्पस प्रमुख बेधराज भट्टराईले क्याम्पसको वर्तमान अवस्थाको जानकारी गराउनुभयो । सो अवसरमा क्याम्पसको विकासमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरियो । क्याम्पस संचालक समितिका अध्यक्ष पुष्पलाल ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो ।























