उर्लाबारी । प्रदेश नं.१ को नाम सबै जाति र पार्टीको पहिचान झल्कने हुनुपर्ने संघीय सांसद डिगबहादुर लिम्बूले बताउनुभयो ।
किरात राई यायोक्खा उर्लाबारीको सातौं अधिवेशन तथा २१ औं साधारणसभामा बोल्दै मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य लिम्बूले सो कुरा बताउनुभएको हो ।
प्रमुख अतिथि समेत रहनु भएका नेता लिम्बूले पहिचान दिने नाम नभए स्वीकार्य नहुने धारणा राख्नुभयो । सो अवसरमा उहाँले धार्मिक स्थानमा संरचनाहरु बनाउँदा गुरु योजना अनुसार अगाडि बढे मात्र भविष्यसम्म टिकाउ हुने बताउनुभयो । उर्लाबारी–३ को साकेला स्थानमा भएको कार्यक्रममा सांसद लिम्बूले यस्ता संस्थाहरुलाई सहयोग गर्ने बताउँदै भाषा र संस्कृतिलाई जिवन्त राख्न आग्रह पनि गर्नुभयो ।
त्यसैगरी प्रदेश सांसद विद्या चाम्लिङ र निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा (कुशल)ले उक्त संस्थालाई सहयोग गर्ने बचन दिनुभएको छ । उहाँहरुले पनि पहिचानकै आधारमा नामाकरण हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मोरङ सचिव कासिहाङ राई, आदिवासी जनजाति महासंघ उर्लाबारी अध्यक्ष सम्शेर लिम्बू , उर्लाबारी–३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, नेवाः देय् दबू उर्लाबारी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलगायतका बोल्नुभयो । सो अवसरमा किराती राजा यलम्बरको मुर्ति अनावरण समेत गरिएको छ । करिब ८ लाखको लागतमा बनेको सो मुर्ति उर्लाबारी–६ निवासी पूर्व वडाध्यक्ष स्व. क्याप्टेन लालबहादुर राईको सम्झनामा उहाँहरुका परिवारले निर्माण गरिदिएको निवर्तमान कोषाध्यक्ष नुतन राईले जानकारी दिनुभयो । उहाँले आर्थिक बर्ष २०७८ ।०७९ को आयव्यब्य प्रस्तुत गर्नुभएको थियो । नुतनका अनुसार ४ लाख २२ हजार ८ सय ८७ रुपैयाँ आम्दानी र ३ लाख ५६ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी अध्यक्ष मानबहादुर राईले ३ बर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका गर्नुभयो । उहाँले उर्लाबारी नगरका ९ वडाहरुमा राईहरुको घरधुरी ५ सय ९५ र जनसंख्या ४ हजार २ सय ८७ रहेको जानकारी दिनुभयो । उहाँले उर्लाबारी नगरभित्र राईहरुको अवस्था धेरै कृषि पेशामा आवद्ध रहेको बताउनुभयो । थोरै संख्यामा व्यापार व्यवसाय, केहि पशुपालन र केहि ज्याला मजदुरीमा निर्भर रहेको र केहि सरकारी नोकरीमा आवद्ध रहेको उहाँले जानकारी दिनुभयो । उर्लाबारीमा विशेष गरेर धेरै जनसंख्या हुनेहरु वान्तावा, चाम्लिङ, साम्पाङ, कुलुङ, थुलुङ, वालिङ, दुमी, याक्खा लगायत थर रहेको उहाँको भनाई छ । उहाँले प्रकृतिपुजक किरात, फाल्गुनन्द, ओमनन्द, क्रिश्चियन अन्य समग्र जुन धर्म मानेता पनि आफूहरु राई नै भएको बताउनुभयो ।
साकेला थान भित्र निर्माणधिन सामूदायिक भवन प्रदेश सरकारबाट २०७५ ।७६ को विनियोजित बजेट १० लाख रुपैयाँको काम ८ फिट पिल्लर र वाल लगाउने काम सम्पन्न भएको छ । त्यसैगरी केन्द्र सरकारबाट २०७७। ७८ को विनियोजित बजेट १२ लाख रुपैयाँ उर्लाबारी नगरपालिकाबाट ठेक्का टेन्डर गरि भवनको काम पुरा गरिएको छ । उर्लाबारी– ६ निवासी स्व. लक्ष्मीमाया राईको सम्झनामा श्रीमान बम बहादुर राई, छोरा बुहारीहरु र सपरिवारबाट शैक्षिक क्षेत्रमा सहयोग पुयाउने उद्देश्यले अक्षयकोषका लागि ६ लाख १ हजार ३ सय २ रुपैयाँ प्राप्त छ । त्यस्तै उर्लाबारी–३ साकेला थानमा यलम्बरहाङको मुर्ति स्थापना गर्न ८ लाखको दाता स्व. क्याप्टेन लालबहादुर राईको स्मरणमा उनका धर्म पत्नी कृष्णदेवी राई, छोरा बुहारी, नाति नातिनी, छोरीलगायत सपरिवारलाई सहयोग बापत कार्यक्रममा सम्मान गरिएको छ । त्यसैगरी अन्य दाताहरुलाई पनि सम्मान गरिएको छ । त्यस्तै संघीय सांसद लिम्बू, प्रदेश सांसद् चाम्लिङ र निवर्तमान प्रदेश सांसद् साम्बालाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय