राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राई आयोग विघटन गर्छु भन्दै हिँडिरहेको आरोप लगाउनुभएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका आयोजित जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सक्रियपूर्वक लागि परिरहेको अवस्थामा मन्त्री राई खुशी हुनु पर्ने बेलामा राष्ट्रिय भूमि आयोग विघटन गर्छु भन्दै हिँड्नु भएको उहाँको भनाई छ । राष्ट्रिय भूमि आयोगले १३ करोड राजश्व संकलन गर्न सफल भएको बताउँदै स्थानीय सरकारसँग सहकार्य गरेर धमाधम पुर्जा वितरण काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । वितरण गरिएको पुर्जामा कुनै झमेला नभएको उहाँले बताउनुभयो । आयोगको अर्जुनदृष्टि भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नु भएको उहाँले बताउनुभयो । अध्यक्ष निरौलाले जनताको कामका लागि रातदिन नभनीकन खटेर पुर्जा बितरण गर्ने काम भइरहेको बताउनुभयो । यस किसिमको जनमुखी काममा सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बुले सबै नेपालीलाई जग्गाको धनी बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । सरकार जुनसुकै पार्टीको भएपनि जनतालाई छिटो छरितो ढंगले जग्गाको मालिक बनाउनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै, आयोगकी जिल्ला अध्यक्ष सुशिला घिमिरेले सबैको हातमा जग्गा धनी प्रमाण पुर्जा पुर्याउन आफू प्रयत्नरत रहेको बताउनुभयो । नाप नक्शाका काम आठ वटा पालिकामा गरिएको र सबै पालिकामा कसरी काम गर्ने भनेर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा (कुशल)ले मिक्लाजुङवासीले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले भुमि सम्बन्धि कामलाई अझ प्रभावकारी बनाई सबै मिक्लाजुङबासीलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले पाँच हजार दुई सय ४१ वटा निस्सा र ५३ वटा पुर्जा तयारी भइसकेको जानकारी दिनुभयो । तर राजस्व दररेट सामाजिक न्यायको आधारमा कायम नभएको उहाँको गुनासो छ ।

त्यस्तै, जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रम राम्रो भएको र यसले समुदायमा प्रत्यक्ष फाइदा पुगेको वडा नं. ७ का वडाध्यक्ष सुशिलराज चौहानले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष बबीकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखा अधिकृत सुशिल बास्तोलाले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन रोजगार संयोजक देउमान तामाङले गर्नुभएको थियो ।

























