उर्लाबारी ।  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–७ मा स्कोरपिओ गाडी र सीटी सफारी एकआपसमा ठोक्किँदा सफारी चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सफारीमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ६८४५ नम्बरको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०२ ह ३०७ नम्बरको सफारी ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका सफारी चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २६ वर्षीय सञ्जु उराउको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उराउको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा आइतबार बिहानका राति २ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परी सफारीमा सवार पथरीशनिश्चरे–१० की २१ वर्षीया सानिया राई, पाल्मु तामाङ, २० वर्षीया कृति तामाङ, ओमा राई, १९ वर्षीया विष्णुमाया मगर र १८ वर्षीया रञ्जना राई घाइते भएका छन् । घाइतेमध्ये अचेत रहेकी विष्णुमायाकोे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उर्लाबारीस्थित अरनिको अस्पतालमा सम्भव नभएपछि घाइतेलाई थप उपचारका लागि बी एन्ड सी अस्पताल रेफर गरिएको छ । दुर्घटनालगत्तै प्रहरीले स्कोरपिओ र चालक झापाको दमक नगरपालिका–२ का ४० वर्षीय सन्दीप बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
स्कोरपिओ चालकले मापसे (मादक पदार्थ सेवन) गरेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परेर स्कोरपिओ र सफारीमै क्षति पुगेको छ । सफारी पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय