माघ २१ गतेदेखि मोरङको उर्लाबारीमा प्रादेशिक महोत्सव सञ्चालन भइरहेको छ ।
उर्लाबारी उद्योग बाणिज्य संघको आयोजनामा उर्लाबारी–४ मा सञ्चालन भइरहेको प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव भब्यताका साथ सफल बनाउनु सबैको दायित्व हो । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले उद्घाटन गर्नुभएको महोत्सव उत्साहजनक बनाउन सबै पक्ष एकजुट भएर लाग्नै पर्छ । पाकिस्तानको ज्याकेटदेखि उर्लाबारीको मौरीसम्मको स्टल महोत्सवमा रहेको छ । यसले उर्लाबारीकोे व्यापार, व्यवसायलाई चलायमान बनाउन सहयोगी भूमिका खेलेको छ । उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक प्रवद्र्धन गर्ने होस् वा राष्ट्रिय कलाकारको उपस्थितिमा दैनिक सांस्कृतिक कार्यक्रममा प्रस्तुत भइरहेको छ । उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गरिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्ला, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल रहेका छन् ।
यो महोत्सव उर्लाबारीको पहिचान र गरिमासँग जोडिएको छ । तर, महोत्सवलाई असफल बनाउन सामाजिक सञ्जालमा कुण्ठा पोख्ने, मदिरा सेवन गरेर अमर्यादिक हर्कत गर्ने जस्ता क्रियाकलाप पनि आफुलाई सामाजिक अगुवा ठान्नेबाटै भएको देखिन्छ । त्यसकारण कुर्तक गर्नु भन्दा सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर सफल बनाउनु आजको आवश्यकता हो । महोत्सव सञ्चालन भएको आज पाँचौ दिन हो अब चार दिन बाँकी छ । यो अवधिमा महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन तपाई हाम्रो अहम् भूमिका हुन आवश्यक छ । आज उर्लाबारी उद्योग बाणिज्य संघले करिब १४ बर्षपछि यति ठूलो महोत्सव लगाउने जमर्को गर्नु चानचुने कुरा होइन । यसलाई आगामी बर्षहरुमा निरन्तर बनाउनका लागि पनि यो महोत्सवलाई सफल बनाउनै पर्छ । उर्लाबारीसहित आसपासका पालिकाहरु वा जिल्लाबाटसमेत यहाँ महोत्सवमा आगन्तुहरु आइरहनुभएको छ । यो उर्लाबारीको पहिचान र विकासका लागि खुट्किलो बन्न सक्छ । सामाजिक सञ्जालमा महोत्सवको बारेमा कुण्ठा पोख्नुभन्दा यसलाई सफल पार्न आफ्नो ठाउँबाट भूमिका खेल्ने हो की ? कसैले राम्रो कार्यक्रम अघि बढाउँदा खुट्टा तान्ने भन्दा रचनात्मक सहयोग गरौं ।























