उर्लाबारी । प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषि उद्यम नगर्ने अनि कागज मिलाएर अनुदान खानेका लागि मन्त्रालयको ढोका बन्द रहेको बताउनुभयो ।
मोरङको उर्लाबारीमा आज प्रादेशिक महोत्सव समापनको अवसरमा बोल्दै उहाँले कागज मिलाएर अनुदान पाउँछु भन्ने कसैले कल्पना गरेको छ भने त्यसका लागि मन्त्रालयको ढोका बन्द रहेको बताउनुभएको हो । कृषि क्षेत्रमा योगदान पु¥याउने कृषकहरुको पहिचान गरी प्रदेश सरकारले प्रोत्साहन गर्ने मन्त्री सिटौलाले बताउनुभयो । कृषिलाई प्राथमिकता राखेर प्रदेश सरकार अघि बढ्ने उल्लेख गर्दै उहाँले यसअघिका सरकारले वितरण गरेका अनुदानका बारेमा समेत अनुगमन गर्ने बताउनुभयो । आर्थिक क्षेत्रको समस्याले उद्यम व्यवसायमा नयाँ मान्छेहरूको उत्साह नदेखिएको अवस्थामा प्रदेश सरकारले उद्यमीहरूलाई सहयोग पुग्ने वातावरणको निर्माण गर्ने मन्त्री सिटौलाले बताउनुभयो । उहाँले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई रोक्न अनुगमन थाल्ने बताउनुभएको छ । उहाँले सहकारी ठगीका उजुरीहरु प्रदेश सरकारमा आइरहेको उल्लेख गर्दै सहकारीहरुलाई ब्यवस्थित बनाउन अनुगमन थाल्ने तयारीमा रहेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व चण्डीराज ढकाल, प्रदेश सांसद विद्या चाम्लिङ, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उर्लाबारी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष प्रितम खड्गी, तेजकुमार रिजाल, महेन्द्रजंग तामाङ, कार्यक्रम संयोजक चन्द्रबहादुर भट्टराई भरत, नेकपा एकीकृत समाजवादी उर्लाबारी अध्यक्ष डिबी थापालगायतले बोल्नुभएको थियो । कार्यक्रम संघका अध्यक्ष शेरबहादुर भण्डारीको सभापतित्व एबं महासचिब हेमराज गुरुङले सञ्चालन गर्नुभएको थियो । ९ दिनसम्म चलेको महोत्सवमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र १५ करोड बराबरको कारोबार भएको संयोजक चन्द्रबहादुर भट्टराई भरतले जानकारी दिनुभयो । आज बेलुका गायक तथा संगितकार राजनराज शिवाकोटी र गायिका टिका प्रसाईको प्रस्तुति रहने आयोजक समिति सदस्य नितम चौहानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय