उर्लाबारी । जथाभाबी प्लटिङले नगर क्षेत्र कुरुप बनेको भन्दै उर्लाबारी नगरपालिकाले जग्गा विकास (प्लानिङ) तथा हाउजिङ निर्माण सम्बन्धि निर्देशिका जारी गरेको छ ।
जग्गामा कम्तिमा ८ धुर क्षेत्रफलमा मोहडा ३२ फिट कायम भएको हुनु पर्ने निर्देशिकामा उल्लेख छ । मुख्य सडकबाट जग्गा विकास (प्लानिङ) तथा हाउजिङ निर्माण गरिने जग्गासम्म जोड्ने बाटोको सडकको अधिकार क्षेत्रको चौडाई कम्तिमा ८ मिटर हुनु पर्ने, सडकको अधिकार क्षेत्रको चौडाई न्यूनतम ६ मिटर सडक कालोपत्रे, दुबैतर्फ वृक्षारोपण गर्नु पर्ने, घरजग्गा खरिद विक्री गर्दा नालावाहेक कम्तिमा ६ मिटर बाटो फाइल नक्सामै कित्ताकाट गरी सरकारको नाममा कायम हुनु पर्ने मापदण्ड तोकेको छ । नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्धब्यास कुनै पनि बाटोको घुम्ती मोडको न्यूनतम अर्धब्यास बाटोको चौडाईभन्दा ३.५ मिटर भन्दा बढी चौडा भएको हुनुपर्ने, घरघडेरीको मोहडा कम्तिमा ९.७५ मिटर र क्षेत्रफल १३५.४४ वर्ग मिटर हुनु पर्ने, प्लानिङ तथा हाउजिङ निर्माण क्षेत्रमा जोखिम न्यूनिकरण तथा विपद् ब्यवस्थापन वातावरण सन्तुलन तथा हरित नगरलाई समेत सम्बोधन गर्ने गरी सडक वाहेकको आयोजना बिचमा सबैले उपयोग गर्न सक्ने गरी ५ प्रतिशत क्षेत्रफल खुला क्षेत्र राखी जग्गामा वृक्षारोपन, सार्वजनिक धारा, शौचालय, सूचना पार्टी, पुस्तकालय, खेलमैदान, बाल उद्यान तथा सार्वजनिक भवनको लागि छुट्याउनु पर्ने, फोहोर ब्यवस्थापन, दिसाजन्य फोहोर ब्यवस्थापन, रिचार्ज पिटको व्यवस्थापन गर्नु पर्ने उल्लेख छ । सार्वजनिक जग्गा एवम् साविकको कुलो, पैनी, खोल्सी, खहरे आदीलाई आफ्नो कित्तामा समावेश गरी प्लानिङ गर्न नपाइने, वातावरणीय हिसावले समेत उक्त क्षेत्रलाई संरक्षण तथा सम्बद्र्धन गर्नु पर्ने, खोलानालातर्फ नै तटबन्धन गरी बाटो बनाई खोलाबाट बस्ती सुरक्षित बृक्षारोपण गरी ग्रीन बेल्ट बनाउनु पर्ने, खानेपानी, ढल, विद्युत सुविधाको लागि गुणस्तरीय सामग्रीको प्रयोग गरी पर्याप्त क्षमतासहितको पूर्वाधार विकास गर्नुपर्ने, प्लानिङ तथा हाउजिङ क्षेत्रभित्र ढल निर्माणसमेत भएको हुनु पर्ने, बाटोको दुवैतर्फ पानी बग्ने लेभल मिलाई निकास अनिवार्य हुने गरी नगरपालिकाले तोकेको मापदण्ड अनुसार नाला तयार गर्नु पर्ने, भबिष्यमा खानेपानीको पाइप, विद्युत पोल, तार, टेलिफोन लाइन विस्तार आदीको लागि असर नपर्ने गरी व्यवस्थापन मिलाउनु पर्ने मापदण्ड छ । प्रत्येक प्लटहरु सकेसम्म बाटोसँग लम्बाई ९० डिग्री हुने गरी कित्ताकाट गर्नु पर्ने, प्लानिङ्ग तथा हाउजिङ निर्माण गर्ने ब्यक्ति वा संस्था स्वयंले नै मर्मत सम्भार गर्नु पर्ने, बाटोहरुमा गुणस्तरीय विद्युतका पोल र थ्री फेज तारसमेत जडान गर्नु पर्ने, अनिवार्य खानेपानीको पाइपको व्यवस्थाको साथै खानेपानीको नेटवर्क स्केचसमेत पेश गर्नु पर्ने, हाउजिङ निर्माणकर्ताले ५० प्रतिशत जग्गा बेचविखन गरिसक्दा पनि स्वीकृत प्लानिङ नक्सा बमोजिम पूर्वाधारहरुको निर्माण सम्पन्न नगरेमा जग्गा विकास समितिको निर्णयले उक्त प्लानिङको बाँकी घरजग्गा खरिद विक्री रोक्का राख्ने, सार्वजनिक हितमा ध्यान दिनु पर्ने, भवन निर्माण मापदण्ड तथा नक्सापास कार्यविधि २०७९ बमोजिम स्वीकृति समेत लिनु पर्नेलगायत मापदण्ड तोकेको छ । प्लानिङ तथा हाउजिङ निर्माण गर्दा आठ कठ्ठा जग्गाको लागि एकमुष्ट ३ लाख, ४ विघासम्म १० लाख, ४ विघाभन्दा माथि १५ लाख धरौटी राख्नु पर्ने मापदण्डमा रहेको छ । प्लानिङ तथा हाउजिङ निर्माणको स्वीकृति लिनु पर्ने मापदण्ड भित्र रहेको छ ।























