उर्लाबारी । मोरङमा ११ औं पटकसम्म हात्तिपाइलेको औषधि खुवाउनु पर्ने भएको छ । पटक पटक खुवाएर पनि संक्रमण न्यूनीकरण नभएपछि फेरि औषधि खुवाउनु परेको हो ।
मोरङमा फागुन ११ गतेदेखि हात्तिपाइलेको औषधि खुवाउने अभियान सुरु हुने भएको छ । उर्लाबारीसहित १७ वटा पालिकाहरुमा हात्तिपाइलेको औषधि खुवाउने कार्यक्रमका बारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेका छन् । बुधबार उर्लाबारी नगरपालिकाले नगरस्तरीय छलफल कार्यक्रम गरेको छ । पटक पटक औषधि खुवाएर पनि हात्तीपाइले निवारण नभएको कारण ११ औं पटक हात्तिपाइलेको औषधि खुवाउने कार्यक्रम गर्नु परेको उर्लाबारी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेश खड्काले जानकारी दिनुभयो ।
हरेक वर्ष कोही न कोही छुट्ने र उनीहरूबाट फेरी अन्य व्यक्तिमा सर्ने कारणले मोरङमा निरन्तर हात्तिपाइलेका रोगी भेटिएका छन् । जनस्वास्थ्य निरीक्षक खड्काले भन्नुभयो–‘यस अघिको औषधि स्वास्थ्यकर्मीको उपस्थितिमा नखाएको र कतिले घरमा लगेर फालेको समेत भेटियो ।’
रोग पत्ता लगाएर हरेक व्यक्तिलाई ६ पटक औषधि खुवाउने योजना बनेको थियो । तर, कतिपयले बिचैमा छुटाएकाले नियमित ११ पटक खानेलाई पनि संक्रमणको जोखिम भएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तोयानाथ घिमिरेले जानकारी दिनुभयो । विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार ५ वर्षसम्म लगातार औषधि खुवाएपछि हात्तीपाइले निवारण हुन्छ । ‘पाँचपटक औषधि खाएको मानिसमा कीटाणु भएपछि फैलावट हुँदैन, अर्कालाई सार्न पनि सक्दैन’ उहाँले भन्नुभयो, ‘११ पटकसम्म जिल्लाभर औषधि खुवाएर पनि संक्रमण बढिरहनु जनस्वास्थ्यकै समस्या भयो ।’ औषधि छुटाएपछि सुसुप्त रहेको कीटाणु बढ्ने र त्यस्तो मानिसलाई क्युलेस जातको पोथी लामखुट्टेले टोक्दा अरुमा सजिलै सर्ने उहाँको भनाई छ ।
हात्तिपाइलेको औषधि सबैलाई सेवन गर्न उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले आग्रह गर्नुभयो । उहाँले हात्तिपाइले निवारण गर्ने अभियानलाई सफल पार्न सबै नगरबासीहरुलाई औषधि सेवन गर्न अपिल गर्नुभएको छ ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनादेवी पौडेल खतिवडाले हात्तिपाइले निवारण गर्ने अभियान सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले सामुहिक प्रयासबाट मात्र हात्तिपाइले निवारण अभियान सफल बन्ने भएकाले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालन भएर जनताको घरघरमा औषधि खुवाउनु पर्नेमा जोड दिनुभयो । उर्लाबारी नगरपालिकाका प्रत्येक वडाका ५ स्थानमा ब्यापक छलफल कार्यक्रम गर्ने योजना रहेको उर्लाबारी नगरपालिकाका स.अ.हे.व. अधिकृत रेनुकाप्रसाद काफ्लेले बताउनुभयो ।























