उर्लाबारी । मोरङको उर्लाबारीमा रहेका सामुदायिक विद्यालयको नेतृत्व लिन राजनीति दलका नेताबीच हानथाप चलिरहेको छ ।
एमाले, कांग्रेस, माओवादी, जसपालगायत पार्टीका नेता तथा कार्यकर्ताहरु विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गरिरहेका हुन् । अधिकांश विद्यालयको नेतृत्वमा एमालेका नेता तथा कार्यकर्ताहरुको हालिमुहाली देखिएको छ भने केहीमा अन्य पार्टीको पनि उपस्थिति देखिन्छ । उर्लाबारी–८ को सार्वजनिक माध्यमिक विद्यालयको अध्यक्षमा एमालेका नेता डिल्ली आपागाई बन्नुभयो । आपागाई नेकपा एमाले प्रदेश नं. १ को सदस्य हुनुहुन्छ ।
त्यस्तै, अर्का एमालेका नेता सुरेन्द्र शेर्मा प्रभात आधारभूत विद्यालयको अध्यक्ष बन्नुभएको छ । शेर्मा गत स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उर्लाबारी नगरपालिका वडा नं. ९ मा वडाध्यक्षको उम्मेद्वार बन्नुभएको थियो ।
त्यस्तै, उर्लाबारी–१ को नुनसरी आधारभूत विद्यालयको अध्यक्ष एमालेकै अग्रज नेता गंगा गजमेर बन्नुभयो भने उर्लाबारी–८ को अरनिको माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष एमाले मोरङ जिल्ला सदस्य खड्ग श्रेष्ठ बन्नुभयो । त्यस्तै, उर्लाबारी वडा नं. २ को शान्ति आधारभूत विद्यालयको अध्यक्ष जनता समाजवादी पार्टी उर्लाबारीका नगरअध्यक्ष मात्रिका धिमाल बन्नुभयो भने उर्लाबारी–४ को सिर्जना आधारभूत विद्यालयको अध्यक्ष सञ्चारकर्मी केदार चौहान बन्नुभयो । उहाँ सो विद्यालयको पूर्व अभिभावक पनि हुनुहुन्छ । लामो समयदेखि संचारकर्ममा सक्रिय चौहान एमाले समर्थक प्रेस चौतारी नेपालको केन्द्रीय लेखा सदस्य हुनुहुन्छ । अन्य विद्यालयहरुमा पनि नेताहरु विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बन्न दौडधुप गरिरहेका छन् भने केही विद्यालयमा धेरै आकांक्षी देखिएकाले समिति गठन प्रभावित बनेको छ । ४ जना अभिभावकबाट र २ जना नगरकार्यपालिकाले तोकेका ब्यक्ति ब्यवस्थापन समितिको सदस्य बन्ने नगर शिक्षा विधेयकमा छ । नगर कार्यपालिकामा एमालेको बहुमत छ । सोही कारण एमालेले अधिकांश विद्यालयमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पाएको छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र सामुदायिक विद्यालयको अध्यक्ष बनेको भन्दै विरोध उठ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय