उर्लाबारी । प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
शनिबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा मोरङको उर्लाबारी–३ स्थित सालबारीमा गुरु गोरक्षनाथ मन्दिरमा आयोजित कार्यक्रम बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री सिटौलाले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गर्नुभएको छ ।
मन्त्री सिटौलाले महाशिवरात्री पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सनातन संस्कृतिको उद्भव एवं विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताउनुभयो । धार्मिक सद्भाव र एकता आवश्यक रहेको बताउँदै धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने उहाँको भनाई छ । कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीलगायतले बोल्नुभएको थियो । सो अवसरमा बिराटनगरस्थित भैरव गणको नेपाली सेनाको टुकडीले सलामी अर्पणसमेत गरेको थियो ।























