उर्लाबारी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै जाँदा पूर्वी मोरङकै पूरानो उर्लाबारी बहुमुखी क्याम्पसमा नेतृत्व लिन विद्यार्थीहरुबीच होडबाजी हुने देखिएको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी भातृ सङ्गठनबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । नेकपा (माओवादी) केन्द्र भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बाट उर्लाबारी बहुमुखी क्याम्पस इकाई सभापति थानेश्वर अधिकारी (आकाश) र जिल्ला उपाध्यक्ष सरोज किराँतीको नाम चर्चामा छ । अधिकारीले उर्लाबारी बहुमुखी क्याम्पस स्ववियू सभापतिमा दाबी गर्दै गतिबिधि थालिसकेको जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी) तर्फका अर्का सभापतिकै दाबेदार दिपेन बराईली भने सचिबको उम्मेद्वार बन्ने निश्चित छ ।
त्यस्तै, नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट सभापतिमा गौतमबुद्ध तामाङ, भुवन मंग्रावती, प्रविण खतिवडा, खगेन्द्र गुरागाईलगायतको नाम चर्चामा रहेको छ । यी मध्ये तामाङ विद्यार्थी माझ लोकप्रिय रहेको बताइन्छ ।
त्यस्तै, नेपाली कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघबाट सभापतिमा विवेक कार्की, भूपेन काफ्ले र तिलक पौडेलको नाम चर्चा रहेको छ । यी तीन जनामध्येबाटै सभापतिको उम्मेद्वार बन्ने बताइन्छ । यता जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा विश्वास राईको नाम चर्चामा छ । राप्रपा, नेकपा (एकिकृत समाजवादी) लगायत पार्टी निकट विद्यार्थीहरुले पनि आन्तरिक छलफल भइरहेको जनाएका छन् ।
यस्तो छ तालिका
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
कार्यतालिका अनुसार यही फागुन १९ गते विद्यार्थी संघ, सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।

स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो । निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय